विराटनगर । प्रदेश एकको पर्यटकीय नगर धरान यतिबेला लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको चपेटामा परेको छ । गर्मी बढेपछि जतासुकै डेंगुका बिरामी भेटिन थालेका छन् । अस्पतालहरु बिरामीले भरिभराउ छन् । जताततै रोगको संक्रमण फैलिएको छ ।

प्रदेश १ का विभिन्न ठाउँबाट सबैभन्दा धेरै बिरामी पुग्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या दिन प्रतिदिन बढ्दो छ । प्रतिष्ठानका अनुसार एक हजार जनाको रगत परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण भेटिएको छ । विजयपुर अस्पतालमा उपचार गर्न पुगेका ५० भन्दा बढी बिरामीमा समेत संक्रमण फेला परेको जनाइएको छ ।
धरानमा यसअघि निकै सानो दरमा डेंगुका बिरामी फेला परेका थिए । अघिल्लो वर्ष जम्मा ११ जना संक्रमित भेटिएका थिए । ‘‘तर, यो वर्ष गर्मीयामको सुरुवातदेखि नै बिरामी बढिरहेका छन्,’’ प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले भने,‘‘हामीकहाँ डेंगुका विज्ञ चिकित्सक उपलब्ध भएकोले उपचारमा समस्या छैन् ।’’
रौनियारले डेंगुरोगी र प्रतिष्ठानमा उपचारको अवस्थाबारे जानकारी लिन आएको संघीय सांसद जयकुमार राईसहितको टोलीलाई प्रतिष्ठानले उपचारमा कुनै कमजोरी नगर्ने विश्वास दिलाएका छन् ।
धरान उपमहानगरपालिका वडा नम्बर १५ र १८ लाई डेंगु संकटग्रत घोषणा गरिएको छ । वडा नम्बर ९ र १० पनि अधिक बिरामी फेला परेका छन् । संक्रमण अन्यत्र पनि फैलदो अवस्थामा पुगेको छ । रोग परीक्षण गर्ने किटकोसमेत अभाव हुन थालेको छ । प्रमुख विपक्षी कांग्रेसका सांसद शिवनारायण सिंह गन्गाईले प्रदेशसभाको बैठकमै डेंगु परीक्षण गर्ने किटको मूल्य एकसयबाट बढाएर पाँच सय पुर्याइएको भन्ने गुनासो आएकोले यसलार्य रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
धरानका १९ वडामा जोखिम
डेंगु नियन्त्रण अभियानमा धरान उपमहानगरले आफ्नो संरचनलाई चुस्त रुपमा परिचालन गरेको जनाएको छ । स्थानीय सरकारले आफ्नो तहबाट जम्मा दुईवटा सेक्टर वातावरण सरसफाई, लार्भा नष्ट गर्ने र औषधि छर्कने कामलाई गति दिएको जनाइएको छ । उपमहानगरको स्वास्थ्य टोली १९ वटा वडामा खटिएको स्वास्थ्य महाशाखाका प्रमुख तथा रेपिड रेस्पोन्स टिमका सहसंयोजक रामबाबु यादवले जानकारी दिएका छन् ।
उनले भने,‘‘लामखुट्टे नियन्त्रण, लर्भा मार्ने र औषधि छर्ने काममा जनताबाट समेत ठूलो साथ र सहयोग मिलेको छ । सफा पानीमा डेंगु फैलाउने लामखुट्टे बस्ने र अन्डा दिने भएकोले पानी स्टोर नगर्नेतर्फ सचेत हुन भनिरहेका छौं । औषधि छर्ने क्रमलाई पनि बढाइएको छ ।’’ यादवले स्वास्थ्यकर्मीहरुको टोली वडा वडासम्म पुगेर दिनरात खटिएका जानकारी दिएका छन् । अधिकरुपमा संक्रमण फैलिएका वडाहरुमा स्वास्थ्यकर्मी तथा प्राविधकको टोली बढी केन्द्रीत भएको उनले बताए ।
‘‘वयस्क लामखुट्टे मार्ने र लार्भालाई हुर्कनै नदिने रणनीतिअनुसार काम गरिरहेका र्छौ,’’ यादवले भने,‘‘स्वास्थ्यकर्मीहरु र प्राविधिकहरुको टोली समूहमा विभाजित भई लार्भा नष्ट गर्ने र औषधि छर्कने काम गरिरहेका छन् । वडा नम्बर २० बाहेक सबैतिर हामी पुगेका छौं ।’’
धरानमा रोगको संक्रमण फैलिएपछि मोरङका सुन्दरहरैंचा, बेलबारी, पथरी र उर्लाबारी नगरपालिकाले सरसफाइ तथा लामखुट्टे मार्ने अभिायन सुरु गरेका छन् ।
रोगको संक्रमण नफैलियोस भनेर सचेतना अपनाउन सुरु गरिएको सुन्दरहरैंचाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । भने,‘‘सरसफाइमा ध्यान दिन र सचेत रहन नगरवासीलाई पनि आह्वान गरेका छौं ।’’ बेलबारी नगरपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको जनाएको छ । रोग लाग्नुभन्दा रोगै लाग्न नदिनु उत्तम उपाय भएकाले नगरवासीलाई जागरुक बनाउन स्वास्थयकर्मीको टोली परिचालन गरिएको हो ।
द्रुत गति टोली (आरआर टिम) गठन गरेर भाउन्ने, लक्ष्मीमार्ग, बेलबारी, लालभित्ती र थापा चोकमा रहेका बाइक ग्यारेज, होटल र पसलमा टोलीले आफैँ सरसफाइ गर्दै चेतनामूलक कार्यक्रमसमेत गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताएका छन् ।
यस्तै, उर्लाबारी नगरपालिकाले पनि नगरक्षेत्रमा औषधी छिटेको छ । सुन्दरहरैंचा नगरपालिकाले पनि बजार क्षेत्रमा सरसफाइ गरेको छ ।
प्रदेश सरकारबाट निःशुल्क उपचार
प्रदेश १ सरकारले डेंगुरोगीको निःशुल्क उपचारको प्रबन्ध गरेको छ । मुख्यमन्त्री शेरधन राईले यसबारले प्रदेशसभालाई यसबारे मुख्यमन्त्री शेरधन राईले जानकारी गराएका छन् । धरानका डेंगु पीडितको निःशुल्क उपचार गर्ने प्रबन्ध गर्न सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै भने, ‘‘बिरामीको तत्काल उपचारका लागि ५० लाख र प्रकोप नियन्त्रणका लागि छुट्टै ३० लाख रुपैयाँ बजेट छुट्याई सकेका छौं ।’’
राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुईवटा भेन्टिलेटरसमेत हस्तान्तरण गरिने बताएका छन् ।
प्रदेश सरकार धरानमा फैलिएको डेंगुरोगको प्रकोपबारे जानकार र गम्भीर दुबै रहेको बताउँदै राईले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिए । धरानका विभिन्न वडामा डेंगुरोगको प्रकोप फैलिएपछि पूर्वाञ्चल क्याम्पसको पठन पाठन बन्द गरिएको छ । मानिसहरु रोगका कारण त्रसित बनेपछि उपमहानगरले समेत सचेतना र प्रकोप नियन्त्रणका लागि काम सुरु गरेको छ ।
-बाह्रखरी

