काठमाडौं । अमेरिकाको रक्षा मन्त्रालयले यही जुन १ तारेखका दिन ६४ पेज लामो इण्डो प्यासिफिक स्ट्रयाटेजी रिपोर्ट सार्वजनिक गरेको छ । विभिन्न पेजमा नेपाल सम्बन्धी पनि चर्चा गरिएको सो रिपोर्टमा नयाँ कुरा भन्दा पनि अमेरिकाले पहिलादेखि नै भन्दै आएका कुरालाई नै विस्तृत रुपमा चर्चा गरिएको छ ।

जुन १ तारेखमा सार्वजनिक गरिएको रिपोर्ट बनाउन जम्मा १ लाख २८ हजार अमेरिकी डलर ( नेपाली रुपैयाँ १ करोड ४१ लाख ७३ हजार ४४०) खर्च भएको रिपोर्टमै उल्लेख गरिएको छ । सो रिपोर्टमा भएका कुराकै बारेमा अमेरिकी तल्लो सदन प्रतिनिधिसभाको आर्मड सर्भिस सम्बन्धी समितिमा गएको मार्च २७ तारेखका दिन छलफल भएको थियो ।
ad ad ad
अमेरिकाको राष्ट्रिय सुरक्षा चुनौती र इण्डो प्यासिफिक क्षेत्रमा अमेरिकी सैनिक गतिविधिबारेमा केन्द्रित सो छलफलमा अमेरिकी रक्षा मन्त्रालयमा इण्डो प्यासिफिक मामिला सम्बन्धी सहायकमन्त्री रन्डाल जी स्रीभरले लामो मन्तव्य दिएका थिए । त्यतिबेलै सार्वजनिक गरेको ८ पृष्ठ लामो वक्तव्यमा अमेरिकाका लागि सो क्षेत्रमा मुख्य चुनौतीका रुपमा चीन र उत्तर कोरिया भएको औंल्याइएको थियो । अहिले सोही रिपोर्टलाई विस्तृत रुपमा सार्वजनिक गरिएको हो ।
उनले बैठकमा बोल्दै इण्डो प्यासिफिक क्षेत्र गएको ७० वर्षयता शान्त रहेको र आफ्नै उत्थान तथा अमेरिकी अर्थतन्त्रको विकासमा यो क्षेत्र सहयोगी रहेको जनाइएको थियो । तर, स्वतन्त्र र खुला इण्डो प्यासिफिक दृष्टिकोणलाई सबैले स्वीकार नगरेको र त्यसमा खासगरी चीन त्यो पक्षमा नरहेको उनले जनाएका थिए ।
आक्रामक रुपमा अघि बढीरहेको चीनसँग यो क्षेत्रमा घर्षणको अवस्था रहेको र उसले आफ्नो पक्षमा यो क्षेत्रलाई पार्न खोज्दा नै प्रतिस्पर्धाको अवस्था उत्पन्न भएको अमेरिकी सहायक मन्त्रीले त्यतिबेला जनाएका थिए । यदि होशियारीपूर्वक व्यवस्थापन गरिएन भने शक्ति संघर्षले गर्दा शान्ति र बैभवताको उद्देश्यलाई चुनौती दिन सक्ने समेत उनले बताएका थिए ।
चीनले आफ्नो शैलीलाई अधिनायकवादी राज्य संयन्त्रको मोडलमा अगाडि बढाइरहेको उल्लेख अमेरिकी सहायक मन्त्रीले त्यतिबेला गरेका थिए ।
यसका लागि चीनले ‘वान बेल्ट, वन रोड इनिसिएटिभ’ को प्रयोग गरेको र त्यसले मुलुकहरुको सार्वभौमसत्तामाथि नै अप्ठेरो परेको तथा उनीहरुलाई चीनको स्वार्थ अनुरुप प्रयोग गर्न खोजिएको अमेरिकी सहायक मन्त्रीले संसदीय समितिमा जनाएका थिए ।
जापान आफ्नो साँचो मित्र रहेको र सो क्षेत्रका अन्य मुलुकसँग बलियो गठबन्धन बनाउने लक्ष्य रहेको जनाउँदै अष्ट्रेलिया, जापान, कोरिया, फिलिपिन्स, थाइल्याण्ड महत्वपूर्ण रहेको र सो क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको बताएका थिए । सिंगापुर, ताइवान, न्यूजिल्याण्डलगायतका देशमा साझेदारी बढाउन कदम चालिएको र भारतसँग आफ्नो मुख्य प्रतिरक्षा साझेदारी चलिरहेको समेत उनले बताएका थिए । अहिलेको रिपोर्टमा पनि सोही कुराको व्याख्या गरिएको छ ।
नेपालबारे के भनेका थिए त्यतिबेला ?
यस्तै दक्षिण एशियामा श्रीलंका, नेपाल, बंगलादेश र माल्दिभ्ससँग ‘इमर्जिङ्ग पार्टनरसिप’को पहल भएको सहायक मन्त्रीले बताएका थिए । दक्षिण पूर्वी एशियाका राष्ट्रहरुसँग सुरक्षा सम्बन्धी कदमलाई अघि बढाउन निरन्तर रुपमा कदम चाल्ने काम भइरहेको जनाउँदै त्यसमा भियतनाम, इण्डोनेसिया र मलेशियासमेत रहेको जनाएका थिए । यो क्षेत्रमा हाम्रो दृष्टिकोण भनेको मुलुक ठूलो होस् वा सानो सबै आफ्नो सार्बभौमसत्ताप्रति विश्वस्त रहन सकून भन्ने रहेको समेत उनले त्यतिबेला भनेका थिए । अहिलेको रिपोर्टमा पनि सोही कुरालाई उल्लेख गरिएको छ ।
सो अवसरमा बोल्दै सो संसदीय समितिका सभापति आडम स्मिथले चीनको चुनौती सामना गर्नका लागि इण्डो प्यासिफिक क्षेत्रमा अमेरिकाको बलियो उपस्थितिमा जोड दिएका थिए ।
डिसेम्बर २०१८ मा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा गएका बेलामा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले नेपाललाई अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा आउन आग्रह गरेका थिए ।
अहिले के भनिएको छ ?
अहिले पनि नेपाललाई ‘इमर्जिङ्ग पार्टनरसिप’ तर्फकै मुलुकका रुपमा चर्चा गरिएको छ । पछिल्लो रिपोर्टमा अमेरिकाले यो क्षेत्रमा निरन्तर रुपमा लगानी गर्ने, कुरा मिल्ने देशहरुसँग मिलेर आपसी क्षमता अभिवृद्धि गर्ने, असुरक्षा हटाउन लगानी गर्नेसमेत रणनीतिमा राखिएको छ । यो क्षेत्र शान्त, बैभवयुक्त र आगामी दशकहरुमा सुरक्षित पार्ने नै आफ्नो उद्देश्य रहेको अमेरिकी रक्षा मन्त्रालयको सो रिपोर्टमा उल्लेख छ ।
यो क्षेत्रमा दक्षिण कोरिया, जापान र अमेरिकाको त्रिपक्षीय साझेदारी महत्वपूर्ण हुने चर्चा गर्दै बेलायत, फ्रान्स र क्यानडाले यो क्षेत्रलाई स्वतन्त्र र खुला राख्न महत्वपूर्ण भूमिका खेल्न सक्ने आकलन गरिएको छ । साना राष्ट्रको सार्वभौमसत्ताको सुरक्षा हुनुपर्ने समेत रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टको ३६ पेजमा नेपाल भन्ने उपशीर्षकमा युएस प्यासिफिक नेड ल्याण्ड फोर्सले छलफल गरेको र केही वरिष्ठ अधिकारीहरुको भ्रमण भएको चर्चा समेत गरिएको छ । सोही रणनीति अन्तर्गत नै अमेरिकी रक्षा उपसहायक मन्त्रीले केहीअघि नेपाल भ्रमण गरेको चर्चासमेत त्यसमा छ ।
रिपोर्टको ३८ पेजमा सन् १९९३ देखि अमेरिकाले शुरु गरेको स्टेट पार्टनरसीप प्रोग्राममा यसपालिबाट नेपाल र श्रीलंका पनि परेको जनाइएको छ । सन् २०१९ सम्ममा अमेरिकाको सो कार्यक्रममा ८६ वटा देशमा ७९ वटा साझेदारी भएको समेत उल्लेख गरिएको छ । जसमा १२ वटा राष्ट्र इण्डो प्यासिफिक क्षेत्रका रहेको समेत जनाइएको छ । सो रिपोर्टमा यो रणनीति अन्तर्गत मलेशिया, इण्डोनेसिया, भियतनाम, क्याम्बोडिया, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भारत, मंगोलिया, न्यूजिल्याण्ड, ताइवान, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स, अष्ट्रेलियालगायतका देशको पनि महत्वपूर्ण भूमिका हुने चर्चा गरिएको छ ।
रिपोर्टमा अमेरिकाले अब गर्ने रक्षा तथा अन्य कतिपय सहयोग सम्बन्धी कार्यक्रमलाई यही रणनीति अन्तर्गत दिने संकेत गरिएको छ । रिपोर्टमा चीनले बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत कतिपय देशलाई प्रभावित पारिरहेको बेलामा सो प्रभावलाई न्यूनीकरण गर्नका लागि अमेरिकी नेतृत्वमा अन्य राष्ट्रहरुको समूहले यो क्षेत्रका देशहरुलाई प्रभावित पार्ने गरी प्रतिस्पर्धा गर्ने संकेत दिन खोजिएको छ ।
नेपाललाई अप्ठ्यारो हो र ?
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘‘क्षेत्र र रणनीति भनेको फरक कुरा हो । हामीलाई इण्डो प्यासिफिक क्षेत्रको राष्ट्र भन्दैमा आपत्ति जनाउनुपर्ने अवस्था हुँदैन । हामी एक अर्को पक्ष विरुद्धको रणनीतिमा लागेका छैनौं र लाग्दैनौं ।’’
-बाह्रखरी

