गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी इजराइलको नवौं अधिवेशन सम्पन्न भएको छ।
अधिबेशनले अध्यक्षमा गणेश गिरी र आईसिसि सदस्यमा अलि महम्मद मियालाई निर्विरोध चयन गरेको छ।
३१ जुलाई २०२५ का दिन सम्पन्न भ नवौं अधिवेशन आगामी २०२५-२०२७ कार्यकालका लागि गणेश गिरीको नेतृत्वमा बीस सदसीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
यस पटकको निर्वाचन प्रक्रियामा अध्यक्ष र कोषाध्यक्ष पदमा एकभन्दा बढी उम्मेदवारहरूको मनोनयन दर्ता भए पनि, अन्तिम समयमा भएको सहमतिका आधारमा सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्।

निर्वाचन समिति २०२५ ले गत जुलाई २५, २०२५ (शुक्रवार) मा निर्वाचन सूचना जारी गर्दै अध्यक्ष र कोषाध्यक्ष पदमा एकभन्दा बढी उम्मेदवारी परेको जानकारी गराएको थियो, जसले गर्दा मतदानको तयारी अघि बढेको थियो। तर, जुलाई ३०, २०२५ को साँझ, सबै उम्मेदवारहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य, निर्विरोध निर्वाचित पदाधिकारीहरू, २०२३-२०२५ का कार्यसमिति प्रतिनिधिहरू एवंम निर्वाचन समिति प्रतिनिधिहरूको रोहबरमा एक महत्त्वपूर्ण छलफल सम्पन्न भयो। यस छलफलपश्चात्, संस्थागत स्थायित्व, आपसी समझदारी र समुदायको बृहत्तर हितलाई प्राथमिकतामा राख्दै सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुंग्याउने निर्णय गरियो।
निर्वाचन समितिकी संयोजक विमला (नितु) खतिवडाका अनुसार, यो निर्णय एनआरएनएको सहमति, समन्वय र एकताको जीवन्त प्रतिबिम्ब हो र संस्थाको दीर्घकालीन सुदृढीकरणमा बल पुग्ने विश्वास राखेकी छिन्।
निर्वाचन समितिले यस प्रक्रियामा सहयोग पुर्याउने सम्पूर्ण उम्मेदवार, प्रतिनिधि, स्वयंसेवक र इजरायलवासी नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहमतिको संस्कृति कायम रहोस् भन्ने शुभकामना दिएको छ।
नव-निर्वाचित कार्यसमितिका पदाधिकारीहरू यस प्रकार छन्:
* आईसिसि (ICC) सदस्य: अलि महम्मद मियाँ
* अध्यक्ष: गणेश गिरी
* वरिष्ठ उपाध्यक्ष: भृकुटी वानियाँ
* प्रथम उपाध्यक्ष: तेज ब. गुरुङ
* उपाध्यक्षहरू: दिलीप सुन्दास र मञ्जु भुजेल
* महिला उपाध्यक्ष: निर्मला बुढाथोकी
* महासचिव: चित्रबहादुर कार्की
* सचिव: केशव राज खनाल
* सहसचिव: अशोक कुमार थोकर
* कोषाध्यक्ष: धर्मेन्द्र सिङ पुन
* महिला संयोजक: पवित्रा गौतम
* सदस्यहरू: राजन दुवाडी, नकुल लामिछाने, खुमराज सापकोटा, सुमित्रा दवाडी, सबु बास्तोला, सबिन पन्त, गणेश तमाङ, र दोलख गुरुङ रहेका छन् ।

यस ऐतिहासिक सर्वसम्मत नेतृत्व चयनपश्चात्, इजरायलस्थित नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै उनीहरूलाई इमान्दारीपूर्वक संगठनात्मक भूमिका निभाउन अनुरोध गरेका छन् ।
एनआरएनएका आइसीसी सदस्य तथा पूर्व पदाधिकारीहरूले पनि नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। यस सर्वसम्मत नेतृत्व चयनले नेपाली समुदायको हितका लागि साझा र एकताबद्ध प्रयास गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ।

नवनिर्वाचित अध्यक्ष गिरिले पनि सबैसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गैर आवासीय नेपाली संघ (NRNA NCC इजरायलले २०२५ -२०२७ कार्यकालको लागि नवौं अधिबेशन सौहार्दपूर्ण वातावरणमा सुसम्पन्न गर्न अमूल्य सहयोग गर्नुहुने सल्लाहकार एव संरक्षक, आईसिसि सदस्य, केन्द्रीय समिति, यूरोप क्षेत्रीय समिति , नेपाली दुतावास, निर्वाचन मन्डल, निवर्तमान कार्यसमिति , पन्जीकृत सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद आभार प्रकट गरेको छ।
श्रीकृष्ण भण्डारीको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले एनआरएन इजरायललाई इजरायल सरकारको कानून अनुसार दर्ता गराएर इजरायली वैधानिकता समेत लिन सफल भएको छ । इजरायलमा इजरायली वैधानिक लिएको पहिलो नेपाली संस्था हो एनआरएन । यसका लागि इजरायलवासी नेपालीहरुले भण्डारीको समितिलाई सदैव सम्झीराख्ने छन् ।

