“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता”
जहाँ जहाँ नारीहरूको सम्मान हुन्छ, आमा, छोरी, दिदी बहिनी आदि महिलाका भगवान् स्वरूपहरूको सम्मान हुने ठाउँमा मात्र भगवानको वास हुन्छ ।
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्ण पक्षको औँसी : यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औँसी ।
आज (बुधबार) आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठामीठा खानेकुरा खान दिइ पर्व मनाइन्छ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।
सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भइ आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए।
आज काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ।
आजको दिन किन लाग्दछ थानकोटको माता तीर्थमा मेला ?
माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्छन् । जनश्रुति अनुसार, पहिले माता तीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए ।
गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेक मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धा स्वरूप माता तीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

