मोक्ष सन्न्यासयोगको सार– अर्जुनले त्याग र सन्न्यासको सम्बन्धमा जान्ने इच्छा गर्छन् । उत्तरमा भगवान् श्रीकृष्णले भन्नु हुन्छ– केही मानिसहरुले काम्य कर्मको त्याग र अन्य केहीले सबै कर्मको फल त्याग भनेको त्याग हो भन्दछन् । तर मेरो आफ्नो निश्चित मत के छ भने त्याग तीन प्रकारका (सात्विक, राजस, तामस) छन् । जुनसुकै कारणले पनि यज्ञ, दान र तप कदापि त्याग्न हुंदैन । किनभने यी शुद्धिकारी उपचार हुन् तर आसक्ति र फल कामनाले रहित भएर सम्पन्न गर्नु पर्छ । भ्रमवश वा कष्टप्रद छन् भन्दैमा निर्धारित कर्मको त्याग गर्नु उचित होइन । शरीरस्थ प्राणीले पूर्णरुपमा कर्म त्याग्न गर्न पनि सक्दैन । प्रत्येक कर्मका पांच कारण छन् आत्मालाई अकर्ता हो । यो बुझेर अकलुषित मनले जसले कर्म गर्छ त्यो कर्मले बांधिदैन ।
सात्त्विक ज्ञानले आफुलाई एक विराटको अंश देख्छ । राजस ज्ञानले सबै प्राणीमा भिन्नता देख्छ । जुन ज्ञानले बिना कारण असत्यलाई यही ठीक हो भनेर ढिपी गर्छ, त्यो तामस हो । शास्त्रविधि अनुसार, फलको चाहना नगरिकन, रागद्वेष मुक्त भएर गरिएको कर्म सात्त्विक हुन्छ । भोग वा प्रदर्शनको इच्छाले गरिएको कर्म राजस हुन्छ । जुन कर्म आफ्नो उचित सामथ्र्य विचार नगरिकन केवल मोह र हिंसावश सुरु गरिन्छ, त्यो तामस हुन्छ । यस्तो कर्म अन्तमा हानिकारक हुन्छ । विचारपूर्वक गरिएका कर्म सात्त्विक कर्म हुन् । आफ्नो क्षमता र परिणाम विचार नगरिकन गरिने कर्म राजसिक हुन्छ । बिना विचार केवल अज्ञानता र मोहवश गरिएको कर्म तामस हुन्छ ।
कार्य सिद्ध हुंदा वा सिद्ध हुन नसक्दा निर्विकार रहने, र हर्ष शोक जस्ता कुराले अप्रभावित यस्तो निरहंंकारी, धैर्यवान, र उत्साही कर्तालाई सात्त्विक भनिन्छ । कर्मको फल प्रति उत्सुक, लोभी, दुख दिने, अशुद्धाचारी, हर्ष र शोकले छिटो प्रभावित हुने कर्ता राजस हुन्छ । अटेरी, अरुले गरेको काम पनि बिगार्ने, अल्छी, हरेक कुरामा खोट देख्ने, र दीर्घसूत्री कर्ता तामस हुन्छ ।
बुद्धि र धृति पनि तीन प्रकारका हुन्छन् । जुन बुद्धिले गुणदोषलाई राम्ररी विश्लेषण गर्दछ, त्यो बुद्धि सात्त्विकी हो । जुन बुद्धिले उचित र अनुचितलाई राम्ररी ठम्याउंदैन, त्यो राजसी हो । जुन बुद्धिले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बुझ्दछ, त्यो बुद्धि तामसी हुन्छ । जुन धृतिले मन, प्राण र इन्द्रियका अनियन्त्रित क्रियाहरु स्थिर हुन जान्छ, त्यो सात्त्विकी हुन्छ । जुन धृतिले आसक्तिपूर्वक काम गर्छ, त्यो धृति राजसी हुन्छ । जुन धृतिले नकारात्मक भाव– आलस्य, निद्रा, भय, घमण्ड, व्यसन र कुबुद्धिलाई छोड्दैन, त्यो तामसी हुन्छ ।
स्वभावानुसार काम गर्ने चार वर्ण हुन्छन् । ब्राह्मणहरु तप, आत्म संयम र आध्यात्मिक ज्ञान प्राप्तिमा, क्षत्रियहरु वर्णका मानिस युद्धमा वीर र शान्तिकालमा कुशल शासक हुन्छन् । वैश्य वर्ण कृषि वा वाणिज्यमा लागेका हुन्छन् । जबकि शूद्र वर्णका मानिसले सेवा गर्छन् । निष्ठापूर्वक स्वकर्तव्यपालनद्वारा ईश्वर पूजा गर्दै यी सबैले आध्यात्मिक पूर्णता प्राप्त गर्न सक्छन् । कसैले पनि आफ्नो कर्तव्य त्याग गर्नु हुंदैन । जसले आफ्नो शरीर वाणी र मन नियन्त्रित गरेको छ जो निर्जन स्थानमा बस्छ र जसले आत्माका ध्यानको अभ्यास गर्छ त्यो ब्रह्म प्राप्ति हेतु योग्य हुन्छ ।
उसले यस भक्तिद्वारा ईश्वरलाई यथार्थ बुझ्छ र ब्रह्ममा लीन हुनजान्छ । अब भगवान् कृष्णले भन्नु हुन्छ– सबै काम गर साथै ईश स्मरण पनि । उनको शरणागत होउ । यसबाट अनन्त शान्ति प्राप्त हुन्छ । पुण्य, अपुण्य वा तप सबै त्याग गरेर पूर्णरुपेण उनी प्रति समर्पित होउ । उसको जिम्मा लिएर उनले सबै क्लेशहरुबाट पार लगाउने छन् ।
अन्तमा निर्देश दिनुहुन्छ– यो गुह्य र पवित्र विद्या त्यस्ता अयोग्य मानिसहरूलाई दिनु हुंदैन जो तप र भक्तिबाट वञ्चित छन् । केवल यस्ता मानिसहरूलाई मात्र दिनु पर्छ जुन् प्रभुको भक्तिबाट अलंकृत छन् । अब अर्जुनले निर्णय सुनाउंछन्– मेरा सबै सन्देह र मोह नष्ट भए । अब आफ्नो कर्तव्य पूरा गर्ने छु । अनि अन्तमा संजयले आनन्दपूर्वक भन्छन्– यो अद्भुत संवाद सुन्ने र विश्वरुप दर्शन गर्ने महान सौभाग्य मलार्ई प्राप्त भयो । मेरो विश्वास छ, जहां योगेश्वर श्रीकृष्ण र धनुर्धारी अर्जुन छन् त्यहां विजय, धन र शाश्वत नीति सदा विराजमान हुनेछ ।
उपसंहार– यदि अध्याय दुई दार्शनिक दृष्टिकोणले गहन छ भने अध्याय ११ वर्णनात्मक व्याख्याका दृष्टिले जटिल छ । तर अध्याय १७ र १८ मा यी कुनै जटिलता छैनन् । दुवै अध्याय अन्य अध्यायभन्दा सरल छन् । गीताको उपसंहार भएकोले अध्याय १८ मा सबै अध्यायका अवधारणा समेटिएका छन् । अध्याय १८ को अर्को विशेषता के हो भने अर्थशास्त्र, समाजशास्त्र, र मनोविज्ञान जस्ता आधुनिक शास्त्रका अवधारणा समेत पाइन्छन् । यस अध्यायको नाम हो मोक्षसन्न्यास । मुक्ति तथा सन्न्यास । अर्जुनले गीताको सुरुमा ज्ञानी जस्ता वाक्य बोल्दै युद्धरुपी कर्तव्य पूरा गर्नुभन्दा सबै कुरा त्याग गर्ने सन्न्यासी हुन्छु भनेका थिए । युद्धका लागि हतियार बोकेको योद्धाले आफ्नो कर्तव्य गर्दिन भनेर गीताको प्रारम्भमा जुन विचार व्यक्त गरेका थिए, त्यसबाट अब मुक्त भएका छन् । मोहले उत्पन्न विषाद अन्त्य भइ स्वकर्तव्य गर्न तत्त्पर हुँदै अब भनेका छन्– मैले स्मृति प्राप्त गरें, मैले बुझें । सन्देह गयो । तपाईंले जे भन्नु हुन्छ, त्यो गर्छु । ज्ञान प्राप्त भयो । त्यसैले यो अध्याय ज्ञान काण्डको अन्तिम भाग पनि हो ।
यस अध्यायको सार हो शरणागतिले नै हुन्छ मुक्ति ।
कृष्ण को हुन् ? पूज्य किन छन् ? के उनी योगी भएर पूज्य भएका हुन् ? कि उनी चमत्कारी हुन् ? होइन । उनी पूज्य किन छन् भने उनी एक विचार हुन् । कृष्ण एक यस्तो विचार हुन् जुन पहिले थिएन । धर्मलाई कृष्णभन्दा पहिले कसैले परिभाषित गरिदिएको थिएन । मानिसहरु आउँदै गए । धर्मको अर्थ थपिंदै गयो । बढ्दै गयो । अनि द्वापरमा कृष्ण आए । उनले धर्मलाई उचित विस्तार गरीदिए । उनले भने, शान्ति मात्र होइन, युद्ध पनि धर्म हो । सत्य त्यही हो जसले कल्याण गर्छ, चाहे त्यो झूठ नै होस् । दान मात्र होइन, आफ्ना अधिकारका लागि लडाईं गर्नु पनि धर्म हो ।
कृष्णले नै शासकका विरुद्ध असहयोग आन्दोलन गरे । त्यस अघि राजालाई भगवान् मानिन्थ्यो । उनको बारेमा के भन्ने ? उनको प्रत्येक श्वास एक विचार हो । कृष्ण ज्ञान हुन् । ज्ञान, जसलाई न काट्न सकिन्छ, न आगोले जलाउन सकिन्छ । त्यसैले कृष्णले जन्म पनि लिंदैनन् । कृष्ण मर्दा पनि मर्दैनन् । उनी ब्रह्माण्डका कण कणमा व्याप्त छन् । अब पनि यस धरामा जुन नयाँ विचार आउने छ त्यो कृष्णको एक अंश नै हुने छन् । गीता आफैंमा श्रीकृष्ण हो । त्यसैले गीतालाई गुरुणां गुरु भनिन्छ । जय श्रीकृष्ण । जय गीतामाता ।
ॐ शान्तिः । ॐ शान्तिः ।। ॐ शान्तिः ।।
ॐ शान्तिः । ॐ शान्तिः ।। ॐ शान्तिः ।।
सनातन धर्म संस्कृतिका ज्ञाता त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक डा. बाबुराम ज्ञवालीद्वारा लिखित ”श्रीमद् भागवत गीता – एक विवेचना” नामक महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो । धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै पढ्न र संग्रह गरेर राख्न पनि सजिलो होस् भन्दै हरेक अध्यायलाई फाइल नै बनाएर प्रकाशित गर्दै आइरहेको, सात शय श्लोकी गीताको अन्तिम भाग यहि हो अर्थात् १८ औँ भाग । पहिले प्रकाशित भागहरु हेर्न स्वदेश नेपालको धर्म संस्कार क्याटागोरीमा हेर्नुहुनु अनुरोध छ ।
पढ्नुहोस् डा. बाबुराम ज्ञवालीद्वारा श्रीमद्भगवद्गीता अध्याय १८ को विवेचनाको पूर्ण पाठ
जय श्रीकृष्ण । जय गीतामाता ।
ॐ शान्तिः । ॐ शान्तिः ।। ॐ शान्तिः ।।
ॐ शान्तिः । ॐ शान्तिः ।। ॐ शान्तिः ।।

