लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् ।
विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए ।
ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) थिए । उनको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो ।
कोषको उपाध्यक्षको नेतृत्वको होडमा गायिका आनी छोइङ डोल्मा, कोषकै पूर्वउपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), सुमार्ग भिक्षु, भिक्षु कुन्डयसहित थिए । तर, सरकारले कोषको नेतृत्वका लागि उनीहरुलाई होइन, लामालाई योग्य देख्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ सालमा लामाविरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनीमाथि झण्डै १० करोड रुपैयाँ भ्रष्टाचारको अभियोग लगाइएको थियो । २०५८ पुस १९ गते गुम्बा विकास समितिमा नियुक्त भएदेखि उनी नेपाल सरकारको राज्यमन्त्री, संविधानसभा सदस्य हुँदै व्यवस्थापिका संसद सदस्यसमेत भइसकेका छन् ।
वास्तविक आयभन्दा ९ करोड ४४ लाख रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ अनुसार जरिवाना र कैद सजाय माग गरिएको थियो ।
विशेष अदालतले सफाइ दिएपछि भने सो फैसलाको सर्वत्र विरोध भएको थियो । त्यो निर्णयपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्नसक्नेमा त्यसो नगरेकाले पनि फैसला राजनीतिक दबाबमा भएको अनुमान गरिएको थियो ।
त्यसअघि पनि लामाको लकरमा १४ राउण्ड गोली भेटिएपछि र वैदेशिक रोजगारी ठगीको आरोपमा समेत गरेर उनी जेल बसेका थिए ।
उनले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि प्रहरीले पक्राउ गरेको थियो ।
अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ल्यारक्यालसहित फुर्वा लामा र तिरिङडोल्मा लामाविरुद्ध २०६९ भदौमा उजुरी दिएका थिए ।
गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भाञ्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको’ उल्लेख गरेका थिए । कोटा ल्याएबापत कमिसनस्वरुप उनीहरुले सो रकम लिएर आफूलाई ठगेको उनको निवेदनमा छ ।
कांगेस–एमालेबाट उदाए, माओवादीबाट लाभ लिए
लामा कांग्रेस र एमालेको पृष्ठभूमिपछि पछिल्लो समय उनी माओवादीबाट पदक पटक लाभको पदमा पुगेका छन् । झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला लामा अर्थ राज्यमन्त्री भएका थिए । दोस्रो संविधानसभाको चुनावमा भने तिनै लामा माओवादीको समानुपातिक सूचीमा समेटिए । चुनावपछि समानुपातिक सांसद बनेका थिए ।
२०५८ मा गुम्बा विकास समितिको अध्यक्ष चाहिँ उनलाई कांग्रेसले सिफारिस गरेको थियो । उनी मन्त्री हुँदा समेत दोहोरो नागरिकताको विवादमा फसेका थिए । सोही बेला उनले राजीनामा समेत दिएका थिए ।
-अनलाइनखबरबाट

