-किशोर गुरुङ
सधै झै बिहान ७:३० तिर म रोमियो होटलमा नास्ता खान जान्थे । हिजो बिहान पनि सधै झै चिया नास्ता खान गए ।
रोमियो होटल, मेरो अफिस अनि क्वाटरको दुरी ५र७ मिनेटको सेरोफेरोमा थियो ।
नसिब दाई(रोमियो होटलको मालिक, सञ्चालक र कामदार सबै उ आफै । नसिब दाइले आधा जिवन संघर्षमा बिताई सकेकोले धेरै कुरामा पाकेको मान्छे ।
नसिब दाइसँग समसामयिक विषय बस्तु कोभिड–१९ को बारेमा भलाकुसारी भयो ।
त्यतिञ्जेल सम्ममा बिहानको लगभग ८ बजेर ४५ मिनेट गईसकेको थियो । खाजा खाएर म अफिस तिर हाजिर गर्न गए ।
रोमियो होटलदेखि अफिससम्मको दुरी केवल ५ मिनेटको थियो तर मेरो लागि ५ दशक भईदियोस झै लागेको थियो किनकी होटलबाट निस्कन साथ भर्खर नुहाएर कपाल पनि लगभग नसुकेको, कलेजी कलरको कुर्ता सुरुवाल अनि हरियो कलरको सलको सप्को बेरेकी भर्खर वैंशसँग फक्रदै गरेकी, उनी जो युवती मेरो नजरमा परिन् ।
कहिले उनी अघि त कहिले म अघि, हामी दुबैजना अघि बढि रह्यौं।
अघिपछि भएर हिड्दा उनको र मेरो छड्के नजर जुध्थ्यो।
उनी सँग मेरो बोल्ने अटुट प्रयास !
खै के कुरामा मन लोभियो, जवानी अझै बाकी थियो कि या जवानी सकिएकै थिएन ?
प्रश्न प्रति प्रतिप्रश्न मनमा खेल्दै गईरहेको थियो !
प्रेम गरिने भन्दा पनि हुने कुरा हो भन्ने आभास भईरहेको थियो ।
फेरी आफैमा प्रश्न तेर्साए, कहाँबाट मेरो मन मष्तिष्कमा एकाबिहानै प्रेमरसका भावहरू छचल्किन थाल्यो “?” भनेर ।
एक मनले उनलाई बोलाउ बोलाउ लाग्यो, त अर्को मनले चिन्दै नचिनेकोलाई बोलाउदा कुटाई पो खाने हो कि “?” भन्ने डर !
मानौ मेरा नयनहरुले उनलाई सर्लप्पै खाईसकेको थियो । उनको प्रत्येक पाईलाहरु नियाल्न थाले !
जब म उनको पछि पछि हिड्थे, लाग्थ्यो हरिणको जस्तो चाल भनेको यस्तै हुदो हो भन्ने भान भईराथ्यो !
एकपल्ट त तानेर आफु तिर खिचाै झै लाग्यो, अनि अंगालोमा बाधेर औधी माया गराै झै लाग्यो ।
हिड्दा हिड्दै अफिसको सेरोफेरो पुगियो ।
म हाजिर गर्ने ठाउ तिर लागे, उनी सरासर दोस्रो तला जाने सिडि तिर, म पनि फेरि उसको पछि पछि !
जब दोस्रो तलामा पुगियो, उनको यात्रा क्यान्टिन तिर, मेरो यात्रा अफिस।
रोमियो होटल देखि अफिससम्मको ५ मिनेटको यात्रामा, उनले के सोचिन त्यो त थाहा भएन तर मैले उनलाई मन पराए तर व्यक्त गर्न सकिन, मेरो तर्फबाट चाहि नजानिदो अनि एकोहोरो कशिश प्रेम बस्यो ।
म अफिस पुगेर कुर्सीमा बसेको मात्रै थिए, फोनको घण्टी बज्यो ।
“सर, नमस्कार !” फोन उठाउन साथ सम्बोधन
“नमस्कार !” मेरो प्रतिउत्तर
“सर ! म एमिनिस्ट्रेसनबाट बोलेको !” फेरी उताबाट, “हजुर सगुन जङ्ग खड्का सर, बोल्नु भएको हो ?”
“हो त, म सगुन सर नै हो ।”
उताबाट फोनमा, “सर तपाईँलाई हिजो फोन गरेको लागेन, आज नयाँ कर्मचारीहरूको ईन्टरभ्यू छ र तपाईँलाई पनि ईन्टरभ्यू लिनेमा राखेको छ, बरु यता एच. आर. तिर आउनुस न ।”
म फोन राखेर एच. आर. अफिस तिर लागे ।
एच. आर. अफिसमा ईन्टरभ्यू लिन म भन्दा अघाडी नै ३ जना अफिसरहरू आएर बसिसकेका रहेछन्।
सबैलाई नमस्कारको सम्बोधन गर्दै बसे ।
ईन्टरभ्यू शुरू भयो ।
ईन्टरभ्यू दिने प्रथम व्यक्ति नै अघि हामी रोमियो होटलबाट अफिस सम्म अघिपछि हुदै आएको युवती नै रहेछिन।
मुसुक्क मुस्कुराई,
नमस्कार गरिन ।
ईन्टरभ्यू लिने मध्यको एकजना सरले बस्न अनुरोध गरे ।
ईन्टरभ्यू दिन थालिन ।
हेरिरहे ।
कशिश प्रेम कशिश नै रहे ……

