काठमाडौं, फागुन ९। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति जुटाउन र सोवारे अन्तिम निर्णय गर्ने अधिकारी प्रधानमन्त्री एवं पार्टी अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्ने निष्कर्ष निकाल्दै सोवारे निर्णय गर्ने सम्पूर्ण अधिकारी प्रचण्डलाई दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको चयन गर्ने निष्कर्ष बैठकको रहेको बताउँदै भने, ‘हामी हाम्रो पार्टीको स्वार्थमा केन्द्रित रहेर आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको छ । हाम्रो स्वार्थ भन्नाले गणतन्त्रप्रति प्रतिबद्ध, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो ।’
माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमै दलको उम्मेदवार राष्ट्रपति बन्न पाउने व्यवस्था नभएको बताए । माओवादी केन्द, नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहित सत्तारूढ दलबीच सरकार गठनअघि १० पुसमा भएको सहमति मान्नैपर्ने भन्ने बाध्यकारी नभएको गुरुङले बताए ।
एमाले र माओवादी केन्द्रसहित सत्तारूढ दलबीचमा १० पुसमा उपराष्ट्रपति र प्रधानमन्त्री माओवादी केन्द्रले र राष्ट्रपति, सभामुख एमालेले लिने सहमति भएको थियो । तर, सो सहमतिविपरीत माओवादी केन्द्रले निर्णय गरेपछि सत्तारूढ गठबन्धन नै फुट्ने खतरा बढेको हो ।
१० पुसमा सत्तारूढ दलबीच भएको सहमतिबारे प्रश्न गर्दै महासचिव गुरुङले भने, ‘सिफारिस गर्ने कुरा एउटा हो । सिफारिस नै मान्नुपर्छ भन्ने बाध्यकारी छ र ?’
राष्ट्रिय सहमति जुट्ने किसिमले जुन दलले उम्मेदवार उठाउँछ त्यसैमा पार्टीको समर्थन हुने उनले बताए । माओवादीले सबै दलसँग बृहत् छलफल गर्दै अगाडि बढ्ने उनले बताए ।
माओवादी केन्द्रका सचिव गणेश साहले १० पुसमा कुनै लिखित सहमति नभएको जिकिर गरे । ‘जसले राष्ट्रियताको पक्षमा, संविधानको पक्षमा, गणतन्त्रको पक्षमा, संसद्को पक्षमा भूमिका निर्वाह गर्न सक्छ, जसलाई साझा बनाउन सकिने सम्भावना हुन्छ, जसलाई सबैले समर्थन गर्न सक्ने खालको सम्भावना हुन्छ । उसैलाई समर्थन हुन्छ,’ सचिव साहले भने ।
यसैबीच राष्ट्रपति राष्ट्रिय सहमतिमै गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारमा भएको छलफलमा राष्ट्रपति राष्ट्रिय सहमतिमै गर्ने निष्कर्ष दुई नेताको रहेको छ ।
बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र त्यसको पहल प्रधानमन्त्रीले गर्नुपर्ने सुझाव आफूले दिएको बताए । ‘राष्ट्रिय सहमतिको उम्मेदवार आउनुपर्छ । यसका लागि सबै पहल प्रधानमन्त्रीले गर्नुपर्छ । हामीबीच सम्बन्ध बलियो होस्, लामो यात्रामा जाऔं भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’ अध्यक्ष नेपालले भने ।
प्रधानमन्त्री प्रचण्डले सोमबार नै एक कार्यक्रममा १२ बुँदे सम्झौताका बेला एकै ठाउँमा रहेका दल राष्ट्रपति निर्वाचनको समयमा पनि एक ठाउँमा उभिनुपर्ने बताए । राजधानी दैनिकबाट

