काठमाडौं। चीनले आफ्नो अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपालीलाई निमन्त्रणा दिएको छ। नेपालका लागि चीनका राजदूत छेन सोङले नेपालीलाई चीनको अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न आमन्त्रण गरेका हुन् ।
चिनियाँ अन्तरिक्ष यात्रीले पहिलो अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेको भिडियो राख्दै उनले यस्तो आमन्त्रण गरेका हुन्। चीनको विदेश मन्त्रालयका प्रवक्ताले राखेको भिडियो सेयर गर्दै राजदूत सोङले ट्विटरमा अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा नेपाललाई सहभागी हुन निमन्त्रणा दिएका छन् ।
‘हेड अप चिनियाँ ताइकोनट (अन्तरिक्ष यात्री) अन्तरिक्षमा हिँड्दै। अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा आफ्ना नेपोलिनट्स् (नेपाली अन्तरिक्ष यात्री) पठाउन र चीनसँगको सहकार्यमा सामेल हुन नेपाललाई स्वागत छ’, राजदूत सोङले गरेको ट्विटरमा उल्लेख छ। नेपालमा अन्तरिक्ष क्षेत्रमा लागेका संस्था तथा व्यक्तिले चीनको यस कदमको स्वागत गरेका छन् भने कतिपयले राजदूतको सन्देश स्पष्ट नभएको र यस विषयलाई थप स्पष्ट पार्न आग्रह गरेका छन्।
यो पनि…
पाँचथर। फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुगेका छन्। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थालेका हुन्।
सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्छिन्। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थालेकी हुन् ।
उनले घरव्यवहार धान्नकै लागि श्रीमान् खाडी मुलुक गएको बताए। भाषा परीक्षा पास भए छोरीलाई माइतमै छोडेर कोरिया जाने योजनामा छन् उनी।
बिन्दुले भनिन्, “यहाँ जति दुःख गरे पनि सम्भावना छैन, एक पटक कोरिया छिर्न पाए एक पुस्ता पुग्ने कमाइएला भनेर यतातिर लागेँ।” कोरियाको चक्करमा रहेकी सरु मगरका पति वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको पाँच वर्ष भयो। “अहिले कार्यरत कम्पनीमा सोचेजस्तो कमाइ नभएपछि भाषा पढेर कोरिया जानुस् भन्दा म पास गर्न सक्दिनँ तिमी पढेर जाऊ म आएर छोरी र व्यवहार सम्हाल्छु भनेपछि इन्स्टिच्युट धाउन थालेकी हुँ,” सरु भन्छिन्।
पाँचथरको फिदिममा सञ्चालन भइरहेका कोरिया भाषा सिकाइ केन्द्रहरूमा भेटिने सरु र बिन्दु वैदेशिक रोजगारीको चक्करमा रहेका महिलाको प्रतिनिधि पात्र हुन्।
यहाँ सञ्चालित पाँचवटा सिकाइ केन्द्रमा भाषा पढ्नेहरूको लाममा भेटिने १७ देखि ३५ वर्ष उमेर समूहका महिलामध्ये प्रायः नेपालमा रोजगारी नपाइने र पाइहाले घरव्यवहार धान्नै कठिन हुने देखेर यसतर्फ आकर्षित भएको बताँउछन्।
फिदिमको एक लघुबित्त कम्पनीमा काम गरिरहेकी २२ वर्षीया अल्का लिम्बू यहाँको आम्दानीले पेट पाल्नै मुस्किल परेकाले कोरियन भाषा सिक्न सिकाइ केन्द्र धाउन थालेको बताइन्।
“रोजगारदाता वित्तीय संस्थाले दिएको लक्ष्य पूरा गर्न रातोदिन खट्छु, महिना मर्दा पाएको पारिश्रमिकले व्यवहार धान्नै कठिन, रोजगारीका अरू सम्भावना छैनन्, विदेश नगएर के गर्ने ?” उनले भनिनन् ।
फालेलुङ–२ की १७ वर्षीया अम्बिका अधिकारी पनि कोरियन भाषा सिकिरहेकी छन्। सिद्वकाली मावि कक्षा १२ मा अध्ययनरत उनी तीन महिनादेखि सदरमुकाममा डेरा लिएर बिहान कोरियन भाषा र दिउँसो विद्यालयको कोर्स ट्युसन पढ्छन्।
गाउँठाउँका अग्रज धेरै पढेलेखे पनि जागिर नपाएर भौँतारिनुपरेको, सानोतिनो जागिरका लागि पहुँचमा भएका नेता र आफन्त गुहार्नुपरेको देखेर बेलैमा विकल्प खोज्न थालेको उनले बताए ।

