मङ्लबार, माघ १०, २०७९
गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको लाग्यो टुङ्गो, को हुन् जुग्जाली ?

गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको लाग्यो टुङ्गो, को हुन् जुग्जाली ?


  • स्वदेश नेपाल
  • मङ्लबार, माघ १०, २०७९

कास्की। नेकपा (माओवादी केन्द्र) ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन्। प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पु¥याएपछि माओवादीले दुई मन्त्री पाउँदैछ । जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित भएका थिए।

३९ वर्षीय उनी माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत हुन् । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । जुज्जाली सहिद परिवारको सदस्य हुन् ।
पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी देखिएका थिए ।

सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउने बताए । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय अझै छलफलमै छ, अब जतिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भने । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

बिनाविभागीय मन्त्रीको हैसियतामा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । एमालेले थप दुई मन्त्री सरकारमा पठाउनेछ । मन्त्रालय घटाउने निर्णयसँगै एमाले र माओवादीका गरी अब तीन मन्त्रीमात्र नियुक्त हुनेछन् ।

आज विहान मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज भेटवार्ता भएको हो। मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट