मङ्लबार, माघ १०, २०७९
मन्त्रालय भागबण्डाबारे छलफल गर्न गण्डकीका मुख्यमन्त्री बालुवाटारमा

मन्त्रालय भागबण्डाबारे छलफल गर्न गण्डकीका मुख्यमन्त्री बालुवाटारमा


  • स्वदेश नेपाल
  • मङ्लबार, माघ १०, २०७९

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज भेटवार्ता भएको हो। मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्।

अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन्। यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा मिलेको छैन। गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।

माओवादीबाट मन्त्री बन्नेको टुङ्गो

नेकपा (माओवादी केन्द्र) ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन्। प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पु¥याएपछि माओवादीले दुई मन्त्री पाउँदैछ । जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित भएका थिए।

३९ वर्षीय उनी माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत हुन् । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । जुज्जाली सहिद परिवारको सदस्य हुन् ।
पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी देखिएका थिए ।

सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउने बताए । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय अझै छलफलमै छ, अब जतिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भने । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

बिनाविभागीय मन्त्रीको हैसियतामा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । एमालेले थप दुई मन्त्री सरकारमा पठाउनेछ । मन्त्रालय घटाउने निर्णयसँगै एमाले र माओवादीका गरी अब तीन मन्त्रीमात्र नियुक्त हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट