आइतवार, अशोज ९, २०७९
फिलिपिन्समा खतरनाक आँधीको चेतावनी, तटीय शहर खाली गर्न आग्रह

फिलिपिन्समा खतरनाक आँधीको चेतावनी, तटीय शहर खाली गर्न आग्रह


  • स्वदेश नेपाल
  • आइतवार, अशोज ९, २०७९

एजेन्सी । फिलिपिन्सको मुख्य टापु लुजोनमा आज आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् ।

नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा हिंस्रक नतिजा निम्त्याउन सक्ने राज्यको मौसम पूर्वानुमान विज्ञहरूले जनाएका छन् ।

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समय अनुसार अपराह्न वा साँझमा आइपुग्ने भएको उनिहरूले बताएका छन् । अवतरणपछि आँधी अझै सशक्त हुँदै जाने अनुमान गरिएको छ । मौसम विभागका अनुसार नोरु आँधी आउँदा प्रतिघण्टा २०५ किलोमिटरसम्म हावा चल्नसक्छ ।

भोली दक्षिण चीन सागरमा प्रवेश गर्नुअघि मध्य लुजोन हुँदै भियतनामतर्फ अघि बढ्ने क्रममा यो कमजोर भएर आँधीबेहरीमा परिणत हुने अनुमान गरिएको छ । आँधीका कारण ठूलो वर्षा हुने भएकाले खतरनाक आँधीबेहरी, व्यापक बाढी र पहिरोको खतरा रहेको मौसम विभागले चेतावनी दिएको छ । यसले अत्यधिक कृषि प्रधान क्षेत्रका खेतबारीमा क्षति पुर्याउनुका साथै गाउँहरू डुबानमा पर्न सक्छ ।

केही क्षेत्रमा सोमबारका लागि कक्षा रद्द गरिएको छ । जलवायु परिवर्तनको प्रभावका कारण सबैभन्दा जोखिममा रहेको फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधीबेहरी आउने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार