बिहिबार, भदौ १६, २०७९
बालैवासीलाई बालै खोलाको भर

बालैवासीलाई बालै खोलाको भर


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ १६, २०७९

खड्क सुनार
मुगु, १५ भदौ । छायाँनाथ रारा नगरपालिका–६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो । बालै खोलाबाट बालुना ननिकाली यहाँका बासिन्दाको बिहान बेलुकाको छाक टर्दैन । 

छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक बिहान बालै बगरमा बालुवा निकाल्न पुग्छन । बिहानै खोलामा पुग्ने उनी बेलुका अबेर मात्रै घर फर्किन्छन् । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले परिवार पाल्न पुग्ने गरेको उनी सुनाउँछन् । 

भामबहादुर मात्रै होइनन् बालैका अधिकांशको मुख्य रोजगारी नै खोलाको बालुवा निकाल्ने भएको छ । उज्यालो गाउँका अधिकांश युवा खोलामा पुगिसकेका हुन्छन् । 
यहाँका मानिसको मुख्य काम कृषि नै हो । परम्परागत रुपमा गरिने कोदो, धान, फापर, कागुनो, चिनोखेतीले परिवार पाल्न नपुगेपछि उनीहरू बालै खोलातिर झरेका हुन् । 
बालैगाउँ सडक सञ्जालमा जोडिएपछि गमगढी बजारलगायत स्थानमा पक्की घर बन्न थालेका छन् । जसका कारण गाउँमै बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न भामबहादुरसहित गाउँका युवा बालुवा संकलनमा होमिएका छन् । उनीहरू बालुवा बेचेर आर्थिक जोहो, जीविकोपार्जनमा जुटेका हुन् । बालै बगरमा बस्दै आएका ६० घरधुरीले नदी किनारमा बालुवा निकाल्ने स्थान समेत भागबन्डा गरेका छन् । 

तीन महिनाको आम्दानी वर्षभरिलाई 
असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामबहादुरले बताए । यो सिजनमा एउटा परिवारले कम्तिमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय प्रेमबहादुरले सुनाए । 

नदीबाट बालुवा निकालेर बिक्री गर्दा नगरपालिकालाई प्रति ट्याक्टर एक सय र बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रलाई तीन सय रुपैयाँ राजस्व तिर्ने गरेको भामबहादुरले बताए । मध्यवर्ती क्षेत्रबाट १५ कात्तिकदेखि १५ जेठसम्म बालुवा निकाल्न पाइदैन ।

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व लिने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताए ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट