‘प्रिन्स अफ टलिवुड’ भनिने महेश बाबुलाई साउथको सबैभन्दा ह्याण्डसम अभिनेता भनेर पनि चिनिन्छ।
४७ वर्षे यी अभिनेताको एक्टिङ करिअर सानैमा सुरू भएको थियो। उनी तेलुगूका चिरपरिचित अभिनेता कृष्णाका छोरा हुन्। उनी ‘नीडा’ बाट बालकलाकारका रूपमा फिल्मी दुनियाँमा प्रवेश गरेका थिए। आठ वटा फिल्ममा बालकलाकारकै रूपमा अभिनय गरेका उनले ‘राजाकुमारुडू’ बाट जीवनकै पहिलो अवार्ड पनि जिते।
महेश बाबुले सन् २००३ को फिल्म ‘ओक्काडू’ मा कबड्डी खेलाडीको भूमिका निर्वाह गरेका थिए। यसलाई तेलुगूको सबभन्दा हिट फिल्ममध्ये मानिन्छ।

यसको दुई वर्षपछि ‘अथाडु’ ले पनि कमाइको सबै रेकर्ड तोडदियो। यसपछि उनले लगातार हिट फिल्म दिइराखे। ‘मुरारी’, ‘पोकिरी’, ‘ननेक्कोडाइन’, ‘सरिमंथुडू’, ‘व्यापारी’, ‘सीथम्मा वकितलो सरिमल्ले चेट्टू’ जस्ता फिल्मपछि महेश बाबुले अन्तर्राष्ट्रिय चर्चा पाए। साथै फिल्मफेयरको उत्कृष्ट अभिनेतासहित थुप्रै अवार्ड हात पारे।
सामाजिक सञ्जालमा प्रायः आफ्नो परिवारको फोटोहरू राखिरहने उनको भव्य जीवनशैली ती तस्बिरहरूमा देखिन्छ। उनको बिहे बलिउडमा समेत अभिनय गरिसकेकी नम्रता सिरोडकरसँग भएको हो। उनीहरूका एक छोरा र एक छोरी छन्।
सन् २०१२ को फोर्ब्स सेलिब्रिटी १०० को सूचीमा समावेश भएका महेश बाबुको हैदराबादमा घर छ। त्यो घर त्यहाँको सबभन्दा महँगो घरमध्ये एक हो। त्यहाँभित्र जिम, स्विमिङ पुल, मिनी थिएटरसहित थुप्रै सुविधाहरू छन्।
त्यस्तै उनको हैदराबादकै जुबिली हिल्समा तीस करोड भारू पर्ने दुई ठूला बंगला पनि छन्। बैंगलुरूमा पनि उनको धेरै सम्पत्ति भएको बताइएको छ।
एक कम्पनीको रिपोर्टअुनसार महेश बाबुको कुल सम्पत्ति करिब एक अर्ब ३५ करोड भारू छ। उनले एक फिल्मका लागि ५५ करोड भारूसम्म लिने र फिल्मको कमाइबाट नाफा कमिसन पनि लिन्छन्।
ब्रान्डहरूको विज्ञापन खेल्न उनले १५ करोड भन्दा धेरै लिन्छन्। उनीसँग एक करोडभन्दा बढी पर्ने ७ वटा भ्यानिटी भ्यान पनि छन्।
पछिल्ला २० वर्षमा ४० भन्दा धेरै फिल्म खेल्ने महेश बाबुको आफ्नै प्रोडक्सन हाउस पनि छ। महेश बाबुले ‘सीरीमंथुडू’, ‘ब्रम्होत्सवम’, ‘स्पाइडर’, ‘भरत अने नेनु’, ‘महर्षि’, ‘सरिलेरू निकेवारू’ र ‘सरकारू वारी पाटा’ जस्ता सुपरहिट फिल्म दिएर निर्माताहरूलाई समेत धनी बनाएका छन्।
उसो त बलिउड अभिनेताहरूसँग महेश बाबुको भन्दा धेरै सम्पत्ति छ। उनीहरूले लिने पारिश्रमिक पनि उनको भन्दा दोब्बरसम्म छ। सलमान खान, शाहरूख खान, ऋतिक रोशन, आमिर खान नै यो सय करोडभन्दा बढी पारिश्रमिक लिनेमा गनिन्छन्।

