शुक्रबार, साउन १३, २०७९
अमेरिकि सहायक विदेशमन्त्रीले ३० बर्ष अघि नेपालमा घटेको एक घटनाको सनसनीखेज खुलासा गरेपछि (भिडियोसहित)

अमेरिकि सहायक विदेशमन्त्रीले ३० बर्ष अघि नेपालमा घटेको एक घटनाको सनसनीखेज खुलासा गरेपछि (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन १३, २०७९

अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायका विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा छन् । उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसके भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

नेपालले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) अघि नबढाउने पत्र पठाए लगतै काठमाडौं आइपुगेका सहायकमन्त्री लुको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

तर लुले भने कुनै राजनीतिक-कूटनीतिक वक्तव्य नदिई नेपालसँग आफ्नो पुरानो चिनारी रहेको खुलाएका छन् भिडियोमार्फत । नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट ‘सेयर’ भएको उक्त भिडियोमा लुले आफू् २९ वर्षअघि नेपाल घुम्न आएको जानकारी गराउँदै त्यो भ्रमणको स्मरण गरेका छन् ।

उनले पहिलो पटक नेपाल भ्रमणमा आएकै बेला आफू प्रेममा परेको समेत खुलाएका छन् । ‘झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ, म ती युवतीसँग प्रेममा परे, जो आज मेरी श्रीमती छिन्,’ सहायकमन्त्री लुको खुलासा छ ।

अहिले आफूहरुका दुई सुन्दर बच्चा रहेको र उनीहरुको नाम समेत दक्षिण एशियाली परिवेशको रहेको उनले बताएका छन् । ‘हामी विवाहित भएको लगभग २६ वर्ष भयो । हाम्रा दुर्ई सुन्दर केटाकेटी छन्,’ उनले भनेका छन्, ‘जसमध्ये दुवैको नामा दक्षिण एशियामा हामीले बिताएको समयबाट प्रेरित छन्–आलिया र किपलिङ ।’

सन् १९९३ मा दार्जिलिङ हुँदै नेपाल आएको र चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गरेको लुले स्मरण गरेका छन् । उनले सम्झिएका छन्, ‘र, मोटर रिक्सामा सीमा पार गरी नेपाल आएका थियौं । सीमाबाट हामी सार्वजनिक बस चढी तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुग्यौं र काठमाडौं आयौं ।’

असाध्यै गर्मीका कारण सार्वजनिक बसमा छतमा बसेर यात्रा गरेको सम्झँदै अमेरिकी सहायकमन्त्री लुले भनेका छन्, ‘असाध्यै गर्मीका कारण हामीले अक्सर ती बसका छतमा बसेर यात्रा गरेका थियौं । चितवनमा राष्ट्रिय निकुञ्जभित्र हामी जीप चढेर घुमेका थियौं ।’

छठ पर्वका बेला जनकपुर पुगेको स्मरण गर्दे उनले त्यो क्षण अविस्मरणीय भएको उल्लेख गरेका छन् । ‘जनकपुरमा हामी छठका बेला पुगेका थियौं,’ उनले भनेका छन्, ‘उक्त चाड मनाउन महिलाहरुले पानीमा दियो बगाउँदै गरेको हेर्दै जनकपुरनजिकको नदी पार गरेको म कहिल्यै बिर्सनै छैन । त्यो एकदम सुन्दर थियो ।’

सहायकमन्त्री लुले काठमाडौंमा रहँदा पनि विश्वका उत्कृष्ट मध्येका केही खाना खाएको स्मरण गरेका छन् । ‘काठमाडौंमा हामीले पाटनका अदभुत सम्पदाहरु घुम्यौं । र, विश्वका उत्कृष्ट मध्येका केही खाना चाख्यौं,’ लुले सम्झिएका छन् ।

अहिले काठमाडौं आएकै दिन बिहीबार पनि शाकाहारी मःम खाएको सुनाउँदै उनले भनेका छन्, ‘हिजो साँझ मैले गजब्बको शाकाहारी मःम खाएँ । आज स्वादिलो नेवारी परिकारको खोजीमा रहने छु ।’

भिडियो सम्वादको अन्तिममा उनले नेपाल पहिलो प्रेम परेको ठाउँ भएकाले पनि आफ्नो मुटुको नजिक रहेने उल्लेख गरेका छन् । लुको कथन छ, ‘नेपाल सधै मेरो मुटुको नजिक रहने ठाउँ हो । किनकी पहिलो पटक प्रेममा परेको यहीँ हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट