बुधबार, साउन ४, २०७९
नेपाल भाषा र तामाङ भाषालाइ बागमती प्रदेशमा व्यवहारिकरुपमा लागु गर्नु पर्ने माग !

नेपाल भाषा र तामाङ भाषालाइ बागमती प्रदेशमा व्यवहारिकरुपमा लागु गर्नु पर्ने माग !


  • स्वदेश नेपाल
  • बुधबार, साउन ४, २०७९

साझा नेपाली भाषासहित नेपालभाषा र तामाङ भाषालाइ बागमती प्रदेशमा व्यवहारिकरुपमा लागु गर्नु पर्ने माग उठेको छ । भाषा आयोगले पनि हालसालै सोहीअनुसार सिफारिस गरेको सन्दर्भमा नेवा राष्ट्रिय समुदायको राष्ट्रिय सगठन नेवा देय दबूको विभिन्न भातृसस्थाहरु र नेपाल तामाङ धेदुङले सयुक्त रुपमा पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराइएका छन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेसंग छलफल गर्दै कक्षा ८ र ९ मा भाषा समूहको बिषयमा भाषाको विकल्प भाषा नै हुने गरि भाषा आयोगले नेपाल सरकारलाई सिफारिस गरे अनुसार हालको संविधान अनुसार प्रदेशमा तोकिएको भाषा पढ्न बोल्न पाउने गरि सुधार गर्न सुझाबसहितको ध्यानाकर्षण गराइएको नेवा देय दबूका नरेशकुमार नेवाले जानकारी गराएका छन् ।

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू र तामाङहरुको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङको संयोजनमा महानिर्देशक न्यौपानेलाई भेट गरि मन्त्रालयको तर्फवाट पठाएको पत्र समेत हस्तान्तरण गरेको थियो ।

यस अघि शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र दिदै भाषाको विषय ऐच्छिकको रुपमा छुट्टै समुह बनाउनु पर्ने र भाषासंग विषय कम्प्युटर, गणित विषय राख्न नहुने भनी माग गरेको थियो । सो विषयमा मन्त्रीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकलाई भेट गरि सल्लाह गर्नु भनी सुझाब दिनुका साथै सो पत्रमा तोक आदेश गरि पाठ्यक्रम विकास केन्द्रमा पठाएको थियो ।

सोहि पत्र बोकी नेवा राष्ट्रिय समुदाय र तामाङ समुदायका प्रतिनिधि गत असार २८ गते पाठ्यक्रम विकास केन्द्रमा पुगेका थिए ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, सचिव हरिबहादुर श्रेष्ठ, नेवाः देय् दबू भक्तपुर जिल्लाका अध्यक्ष नरेश नेवाः, सचिव जीवनपति श्रेष्ठ, नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिका अध्यक्ष बाबुकाजि साछेँ श्रेष्ठ,नेवाः शिक्षा गुथिका संयोजक विष्णु चित्रकार, विद्या चित्रकार, नेवाः वस्ती नेवाः स्कूल अभियान दिपक तुलाधर, नेवाः जागरण मञ्चया अध्यक्ष सुजीव बज्राचार्य, नेपाल तामाङ घेदुङका उपमहासचिव जगत दोङ, सचिव विना तामाङ साथै घेदुङका विभिन्न प्रतिनिधिहरु सहभागी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट