शनिबार, असार ११, २०७९
लोकदोहोरीकी संरक्षक हरिदेवि कोइराला

लोकदोहोरीकी संरक्षक हरिदेवि कोइराला


  • गोमा परियार
  • शनिबार, असार ११, २०७९

‘पाइनँ खबर, घर फर्की आउनुहोस् मेरो हजुर’

सदाबहार चर्चित गीत । सुनेमात्रै पनि जो कोहिलाई थाहा हुन्छ, गायिका हरिदेवी कोइराला हुन् भनेर । हरिदेवि कोइराला (बिहे अघिको नाम हरिदेवि भट्टराई) लोकदोहोरी क्षेत्रमा सुपरिचित र सदाबहार नाम हो ।

‘घरको मालिक परदेशमा गएको
धेरै भयो केही खबर नपाको
पाइनँ खबर, घर फर्की आउनुहोस् मेरो हजुर ।’

‘हरिदेवि’ उनलाई पटक्कै मन नपरेको नाम हो । तर देवताको नामबाट हजुरआमाले राखिदिएको ‘हरि’ नाम नै उनको आज आएर पहिचान बन्यो । उनको जन्म पोखराको बैदाममा भएको हो । ठुलो परिवारमा हुर्किएकी उनी सानैदेखि गीत गाउनमा रुचि राख्थिन् तर ब्राह्मण परिवारकी उनलाई गीत गाउन अनुमति भने थिएन ।

स्कुलस्तरिय विभिन्न कार्यक्रममा सहभागी हुन्थिन् र खेतबारी, मेलापातमा भने उनी गाउने गर्थिन् । हजुरआमाको भजन, खेतालाहरुको मौसमी गीत र घरमा आउने गन्धर्वहरुका सारंगीको भाकासहितका गीतहरुबाटै उनलाई गायनमा प्रेरणा मिल्यो ।

मनमा गीत गाउने चाहना हुँदैहाहुँदै पनि उनले कहिल्यै परिवारसामु आफ्नो रहरलाई फुकाइनन्, मनमै गाँठो पारेर राखिन् । निकै कम बोल्ने स्वभावकी हरिदेविको १९ वर्षको उमेरमा २०३४ सालमा हजुरबुवाले खोजेको केटासँग विवाह भयो । श्रीमानलाई उनले बिहेको दिन जग्गेमा पनि राम्रोसँग देखिनन् जव बिहे भएर घर गइन् अनि मात्रै श्रीमानलाई राम्रोसँग देखिन् । उनका श्रीमान रामबहादुर कोइराला बैंकमा जागिरे थिए ।

देख्दै नदेखेको र नचिनेको केटासँग बिहे गरेर माइतीघर छोडेर बिहे घर गएकी उनको लागि तिनै श्रीमान सबैभन्दा नजिकको र बुझ्ने साथी बन्न पुगे ।
श्रीमानकै सहयोगमा हरिदेविले २०४० सालमा पहिलो गीत ‘पाइँन खबर’ रेकर्ड गरिन् । जुन गीत अत्यधिक चर्चामा रह्यो । पोखरा बस्ने हरिदेवि काठमाडौं आएर गीत रेकर्ड गरिन् र पोखरा फर्किन् । महिना बितेपछिमात्रै उनले चाल पाइन गीतले बजारमा चर्चा कमाएको अझैं भनौ बजार तताएको ।

भन्छिन्, ‘गीत थ्रुप्रै थिए, यो गीत ९पाइँन खबर० त निकाल्ने सोच नै थिएन तर पछि यहि गीत निकाल्यौ । बजारमा सार्वजनिक पछि धेरै चर्चामा आएछ मलाइ खबर थिएन, महिना दिन पछि मात्रै थाहा पाए ।’ उक्त गीतको क्यासेट सोचेभन्दा धेरै विक्री भयो जसले त्यो बेला बजारको माग धान्न पनि मुस्किल परेको उनले सुनाइन् ।

त्यो बेला त काठमाडौंको रत्नपार्कमा ठूलो पोष्टर टाँसेर ‘हरिदेवी कोइरालाको गीती एल्बम यहाँ पाइन्छ’ भनेर होर्डिङ बोर्ड नै राखिएको थियो ।
तर गीत बजारमा आयो चर्चा पनि भयो । उनलाई भने श्रीमानको त साथ थियो तर आफन्तले गीत गाएको निको मानेनन् । उनि भन्छिन्, ‘मलाई मेरो श्रीमानको पुरा सर्पोट थियो, तर मेरा आफन्तहरुको धेरै कुरा सुन्नपथ्र्यो, गीत किन गाउनुपरेको, हाम्रो इज्जत फाल्यौ, घरबार बिगार्‍यौ समेत भने । हामी बुढाबुढीको सम्बन्ध बिग्रिएको छ भनेर सम्झाउन पनि आउँथे । ’ तर श्रीमानसँग उनको सम्बन्ध निकै सुमधुर र राम्रो थियो । आफन्तको त्यस्तो सल्लाहले पनि उनको गायकी रोकिएन साथमा श्रीमान भएपछि अफ्ठेरो र डरले जित्न सकेन हरिदेविलाई ।

पहिलो गीत नै सर्वाधिक चर्चित भएपछि हरिदेविलाई गीतको अफर धेरै आउन थाले । आफ्नो चाहना, श्रीमानको साथ र सहयोग र बजारमा मागका कारण हरिदेविको चर्चा चुलियो । पाइँन खबरपछि ‘ऐना हेरेर, लाउन माया लाउने ले धोको फेरेर’, ‘झिलझिल सितारा’, ‘फुलको बासना’, ‘भन्नै भाछैन’र्, बोली राम्रो मेरो हजुरको’, ‘आमा तिम्रो दुधको भारा’, ‘फुलको डालीमा’, ‘के सिन्दुर पइरे’, ‘यसै त मन मेरो धमिलो’, ‘चिन्ता बढ्यो झन्’ , ‘सरुमै रानी’ , ‘चौतारीमा बरको छाँया छ’ । ‘बोली मिठो मेरो हजुरको’ लगायत धेरै गीत उनका चर्चित छन् । हरिदेवी लोकदोहोरी गायन, संगीत, गीत, साहित्य लेखनमा समर्पित छिन् । हरिदेविको आफ्नै सिर्जना हजारबढि गीत, सािहत्य बजारमा छन् ।

कहिल्यै बिर्सन नसक्ने बालापनको याद गहिरो छ उनीसँग । उनकै बोलिमा, ‘हाम्रो परिवार ठूलो थियो । परिवारका सदस्य सबै एकै ठाउँमा जम्मा हुँदा ४५ जना पुग्थ्यौं । त्यसमा पनि मेरा बाबाको दुई परिवार । सानैबाट हजुरआमाहरुलाई देखें । आमाहरुलाई देखें । उहाँहरुका दुःखहरुलाई देखेँ र भोगें पनि।’
खानाको समय पहिला हजुरबा, बाबाहरु त्यसपछि दाजुभाई र वच्चा अनि मात्र पालो आउँथ्यो आमाहरुको । पालो पर्खदापर्खदै रातको १२ बज्थ्यो र दाजुभाईले खाएकै थालमा हजुरआमारआमाले खाने गर्थे ।

उनको मनमा त्यतिबेलामा नै धेरै प्रश्न उठ्थ्यो– किन यस्तो विभेद होला रु दाजुभाईलाई दिइने र छोरीलाई दिइने खानाको परिकार नै फरक हुन्थ्यो । जसले उनको मनमा गहिरो प्रभाव पार्‍यो । उनको मनमा यी घटना ताजै छन्, ‘सबैले खाएर सुत्न गइसकेपछि जब आमाको पालो आउँथ्यो, आमाहरु माइतीबाट ल्याएका कोशेली फुकाउन थाल्थे, बारीमा के फलेको छ टिपेर ल्याउने र राती नै भातत्यून पकाउनुहुन्थ्यो, म चाहिँ निन्द्रामा हुन्थे, आमाले मलाई उठाउनुहुन्थ्यो, आमाले भात, तरकारी र त्यसमा घ्यू राखेर दिनुहुन्थ्यो, म सपक्कै मिठो मानेर खान्थे ।’ मिठो खान मन लागेर नै त आमाहरुले त्यसो गरे होलान् भन्ने लाग्छ । घरमा छोराले खाने एउटा खान्की र छोरीवुहारीको अर्को खान्की हुन्थ्यो । त्यसले नै उनलाई गीत/कवितामा महिलाका वेदना उतार्न झक्झकाइरह्यो । उनले आमाको माया सम्झेर गीत पनि लेखिन्–‘आमा तिम्रो दुधको भारा’।

उनले गाउने हरेक गीतमा मानवीय संवेदनाका भाव झल्किन्छन् । उनले लेखेका र गाएका हजार बढी गीत छन् । उनका कविता संग्रह, बाल गीति कविता, तीज गीत संग्रह ९ वटा प्रकाशित छन् ।

उनले गाएका तीजका गीत मात्रै २ सय बढि छन् । विशेषगरी महिलाका पिडा, व्यथा र मर्मले भरिएका तीजका गीतमा उनले स्वर दिइन् । उनका तीज गीत ‘माइती’, ‘मेरो मुग्लान’, ‘चेलीको आवाज’, ‘आमाको चिठी’, ‘भेटौंला तीजमा’ लगायत थुप्रै गीतहरु छन् ।

१८ भन्दा बढी साहित्य र लोक गायनका संस्थाहरुमा आवद्ध कोइरालाले संगीतलाई पेशा त बनाइन् तर कहिल्यै व्यवसायिक मानिनन् र संरक्षण र संवद्र्धन गरिहरिन् । लोकदोहोरी गायिका, रचनाकार र साहित्यकार यी सबै विधामा उनको नाम चर्चित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट