आइतवार, असार ५, २०७९
यी बलिउड अभिनेत्री जो विवाहपछि फिल्मबाट टाढिए

यी बलिउड अभिनेत्री जो विवाहपछि फिल्मबाट टाढिए


  • स्वदेश नेपाल
  • आइतवार, असार ५, २०७९

एजेन्सी । बलिउडमा आज धेरै कुरा बदलिएको छ। व्यक्तिगत र व्यावसायिक जीवनलाई सँगसँगै लैजान सफल छन् अभिनेत्रीहरू। विवाहपछि पनि आफ्नो करिअरलाई उत्तिकै उचाईंमा राख्ने अभिनेत्रीहरूको नामको सूची लामै हुन्छ।

तर, केही दशकअघिसम्मको अवस्था यस्तो थिएन। आफ्नो व्यक्तिगत जीवनका लागि उनीहरूले आफ्नो करिअर र प्रोफेसनल जीवनलाई माया मार्नुपर्ने अवस्था थियो। जसको परिणामस्वरुप बलिउडका थुप्रै प्रतिभाशाली र चर्चित अभिनेत्रीहरू विवाहपछि हराएका छन्। त्यसमध्ये हामीले यहाँ केही अभिनेत्रीको चर्चा गरेका छौं।

सायरा बानो
आफ्नो समयमा निकै चर्चित र सफल अभिनेत्री सायरा बानो फिल्म क्षेत्रमा पनि सफल थिइन्। उनले आफ्नो फिल्मी करिअरमा चर्चित र सफल फिल्महरूमा काम गरिन्। सायराले ‘पडोसन’, ‘जंगली’, ‘पुरब और पश्चिम’लगायतका सफल फिल्ममा काम गरिन्।

तर, बढ्दो करिअर थप पूर्णविरामको अवस्थामा आयो, जब उनले विवाह गरिन्। १९६६ मा उनले आफ्ना ‘सपनाका राजकुमार’ दिलीप कुमारसँग विवाह गरिन्। त्यतिबेला उनी २२ वर्षकी मात्रै थिइन्। त्यसपछि भने दिलीपका लागि उनले आफ्नो करिअर छोडिन्। विवाहअघि सायराको हातमा थुप्रै काम थिए, जुन विवाहपछि उनले छाडेकी थिइन्।

बबिता
७० को दशकमा बलिउडसँग परिचित दर्शकका लागि बबिता कुनै नयाँ नाम होइन। आफ्नो समयकी बोल्ड हिरोइनको रुपमा परिचित थिइन् उनी। उनले ‘राज’, ‘कल, आज और कल’, ‘हसिना मान जाएगी’लगायतका फिल्महरूमा काम गरेकी थिइन्, जुन सफल भएका थिए।

तर, विवाहपछि भने उनको यो कअिर अघि बढ्न पाएन। उनले फिल्म क्षेत्रसँगको नाता नै तोडिदिइन्। करिब १९ फिल्ममा प्रमुख भूमिकामा काम गरेकी बबिताले २३ वर्षको उमेरमा रणधीर कपुरसँग विवाह गरेकी थिइन्। ७० को दशकको सुरुवातमा विवाह गरेकी उनले केही वर्षपछि रणधीरसँगको सम्बन्धबाट टाढिएकी थिइन्। करिब २० वर्ष रणधीरभन्दा टाढा बसेकी बबिता पछिल्लो समय फेरि उनीसँग बसिरहेकी छिन्।

बबिताले आफ्नो सफल करिअर भने एकपटक छाडेपछि पुनः त्यसमा आगमन गर्न सकिनन्। फिल्म क्षेत्रमा छोटो समयमा राम्रो नाम कमाएकी बबिताको करिअर विवाह पछि बेपत्ता भएको थियो।

मीनाक्षी शेषाद्री: मीनाक्षी ८० को दशकमा चर्चित थिइन्। ‘घायल’, ‘दामिनी’जस्ता फिल्महरूमा काम गरेर नाम कमाएकी थिइन्। सुन्दरताले भरिएकी मात्रै नभएर मीनाक्षी अभिनयको कारण पनि उत्तिकै चर्चामा थिइन्। तर, अन्तिम पटक ‘धातक’ फिल्ममा नजर आएकी उनले त्यसपछि भने फिल्मबाट नता टुटाइन्।

१९९५ मा मीनाक्षीले बैंकर हरिश मैसुरसँग विवाह गरिन्। त्यसअघि उनीसँगै पर्दामा देखिएका सहकर्मी कलाकार राजकुमार सन्तोषीले उनलाई प्रेम प्रस्ताव राखेका थिए। तर, मीनाक्षीले भने त्यो प्रस्तावलाई अस्वीकार गरिन्।

सन्तोषीको प्रस्ताव अस्वीकार गर्नु र बैंकर मैसुरसँग विवाह गरेपछि मीनाक्षीले बलिउडसँगको नाता नै तोडेकी थिइन्। हाल मीनाक्षीका दुई सन्तान छन्। सास्त्रीय नृत्यमा पारंगत मीनाक्षीले हाल अमेरिकाको टेक्कसमा नृत्यसम्बन्धी प्रशिक्षण दिने गरेकी छिन्।

भाग्यश्री: सिनेमा हेर्ने र भाग्यश्रीलाई नचिन्ने भन्नु विरोधाभास जस्तै हुन्छ। भारतीय सिनेमाबारे थोरै मात्र जानकार पनि अभिनेत्री भाग्यश्रीबारे जानकार नै हुन्छन्।

भाग्यश्रीले सलमान खानसँगको फिल्म ‘मैने प्यार किया’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। ९० को दशकमा बलिउडमा उनको निकै चर्चित नाम थियो। खानसँगको फिल्ममा काम गरेसँगै उनको चर्चा थप चुलियो। उनका प्रशंसकहरूको संख्या पनि बढेको थियो।

बलिउडमा कदम राखिरहेका निर्माता तथा अभिनेताहरूको पनि पहिलो प्रस्ताव भाग्यश्रीलाई अभिनेत्रीको रुपमा राख्ने भन्नेमा जान्थ्यो। ९० को दशकमा उनले अभिनय गरेको भूमिका ‘सुमन’ युवा महिलाहरूको निम्ति एउटा आइडलको रुप नै बनेको थियो।

भाग्यश्रीले पहिलो फिल्म गरेर सफलता पाएकी थिइन्। तर, त्यसपछि उनले विवाह गरिन्। पर्दामा उनको उपस्थिति निकै कम हुन थाल्यो। भाग्यश्रीले फिल्ममा काम त गरिन्, तर निकै कम संख्यामा। कतिपय फिल्ममा पाहुना कलाकारको भूमिकामा त कतिपयमा केमियो रोलमा उनी देखिइन्। टेलिभिजनमा पनि देखिरहेकी उनले ठूलो पर्दामा भने आफ्नो उपस्थितिलाई निकै सीमित बनाएकी छिन्।

ट्विंकल खन्ना: २००१ मा बलिउड अभिनेत्री ट्विंकल खन्नाको जीवनमा दुई वटा महत्त्वपूर्ण घटना भयो। पहिलो उनले अभिनेता अक्षय कुमारसँग विवाह गरिन्। दोस्रो उनी फिल्म क्षेत्रबाट टाढिइन्। उनले २००१ मा अन्तिम फिल्म ‘लभ के लिये कुछ भि करेगा’मा काम गरेकी थिइन्।

१९९५ बाट फिल्म क्षेत्रमा करिअर सुरु गरेकी ट्विकंल खन्नाले २००१ सम्ममा १६ वटा फिल्महरूमा काम गरेकी थिइन्। तर, २००१ पछि भने उनले फिल्म क्षेत्रसँगको नाता टुटाइन्। निर्मात्रीको रुपमा केही फिल्ममा भूमिका निभाएपनि ट्विंकलले पुनः फिल्ममा अभिनय भने गरेकी छैनन्। –भाष्करबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट