
‘तालपानीमा खेत, कहाँ गइथ्यौ सानु, महिनामा बल्लै भयो भेट’
आमा मिना कुमारी चन्दले गुनगुनाउने यो गीत रामचन्द्र चन्दको मुखमा अहिले पनि झुण्डिन्छ । गुल्मी मदानेका रामचन्द्र गायक, संगीतकार र एरेन्जरका रुपमा लोक तथा दोहोरी क्षेत्रमा परिचित छन् ।
रामचन्द्र भन्छन्, ‘म सानै थिए, आमाले घरको काम र मेलापात गर्दा गीत गुनगुनाउनुहुन्थ्यो । आमाकै गीत सुनेर मैले पनि सानैदेखि गाउन थाले र ठुलो भएपछि गायक बन्छु भन्ने अठोट गरे ।’
३ जना दिदीदाइ पछिका कान्छा छोरा हुन् रामचन्द्र । पढाई राम्रो थियो, पढाइसंगै संगीतमा पनि रुची राख्ने भएकाले गाउँघरका हरेक सांस्कृतिक कार्यक्रममा मादल, सारंगी र बासुरी बजाउथे । आमाले घर हेर्ने बाबा इन्डियन लाहुरे । राम्रै परिवारमा हुर्किएका अनि कान्छा सन्तान भएकाले पनि रामचन्द्रको बालापन सुख र अभावविहिन बितिरहेको थियो तर ०५४ सालमा बाबाको निधन भयो । बाबाको निधनले उनको बालापन बाबाको हात र काख बिनाको बन्यो । तर आटिली र साहसिक आमाको काखले बाबाको अभाव केहि कम बन्यो ।
‘बाबाको पेन्सन आउथ्यो, पढाइ, लाउने, खाने र हरेक आवश्यकता आमाले मनमा पिडाको पोको राखेर पुरा गर्नुभयो । बाबाको कमी त सधैं खड्कियो तर त्यो पुरा गर्न आमा हरेकपल हुनुभयो र लाग्नुभयो त्यसैले पनि हामी टुहुरा जस्ता बनेनौं, गाउँमा आमालाई पुरुषसरह सबै काम गर्न सक्ने र हिम्मत भएकी भनेर भन्थे,’ रामचन्द्रले भने ।
कलाकारीता क्षेत्रमा लाग्ने रामचन्द्रको रहरमा आमाको पनि साथ र समर्थन थपियो जस्ले गर्दा रहर लक्ष बन्यो । आफ्नो यहि लक्ष पुरा गर्न ०५८को एसएलसी पछि रेसुङगा बहुमुखी क्याम्पसबाट प्लस टु, त्रीभुवन क्याम्पस पाल्पाबाट ब्याचलर सकेपछि मास्टर्स पढ्न अनि संगै गायक बन्छु भन्ने रहलाई पुरा गर्न ०६३ माकाठमाडौं छिरे । काठमाडौंमा सबै नयाँ भए पनि दुख र संघर्ष भने धेरै गर्न नपरेको उनको अनुभव छ ।
‘म यो अर्थमा भाग्यमानी ठान्छु आफूलाई, मैले दुख पाइन् । आमाले गाउँमा मेहनत गर्नुभयो जस्ले गर्दा मैले यहाँ (काठमाडौं) मा गर्न परेन । पैसा भएपछि दुख त्यति नहुनेरहेछ मैले भोगे तर मैले शहरमा सुख पाउन गाउँमा भने आमाले निकै मेहनत गर्नुभयो,’ उनले भने ।
काठमाडौं आइसकेपछि रामचन्द्रले आफ्नो स्वरमा पहिलो गीत ‘माया साह्रै छ’ बजारमा ल्याए जुन गीत आस गरेजति चल्यो पनि । गाउने मात्रै नभएर रामचन्द्रले संगीत र एरेन्जर पनि गर्छन् । पहिलो गीत घाटामा नगएपछि फेरि गीत निकाल्न उनी हौसिय र लगातार बजारमा ल्याए । उनले गाएका ‘माया साह्रै छ’, ‘चरी रुखमा’, ‘सक्छ्यौ भने भुल्दैभुल्दै जानु’, ‘लुकीलुकी भेट्न आएको’, ‘अबदेखि एक्लै हुम्ला म’,’अध्यारो’, ‘तिन फुर्के डोरी”आमा, ‘मुटु गाठो’, ‘मखमखली फुल्दा डालीमा’, र ‘पिरमा रुदैछु’ लगायतका दर्जनौ गीत चर्चित हुन् ।
‘मैले भोगेर भन्दा पनि समाजमा देखेर, सुनेर र महसुस गरेर यस्ता गीत बढि गरेको हुँ । फेरि दर्शकश्रोताले पनि यस्तै गीत रुचाए’, प्रेम र वियोगमा आधारित गीत बढि गाएका रामचन्द्रले भने,‘ प्रेमसँग जोडिएका गीत गाउँदा बढि आनन्द आउँछ, समाजको भावना बुझेर गाउँछु र म स्वरप्रधान गीत रोज्ने गर्छु ।’
समाजशास्त्रमा मास्टर्स गरेका रामचन्द्रलाई यहि पेशालाई निरन्तरता दिन पढाईले पनि सपोर्ट गरेको छ । हार्मोनियम, सारङ्गी, मादल बजाउनमा अब्बल रामचन्द्र कर्म निरन्तरता भए पनि पछिल्लो समयको ‘भाइरल’ प्रवृत्तिले राम्रो प्रतिभा ओझेलमा पर्ने गरेको बताउछन् । ‘औपचारिक संगीतको ज्ञानविना यसक्षेत्रमा आउनेहरुको लहड बढेको छ । संगीत क्षेत्र व्यवस्थित हुनुपर्छ, । वरिष्ठ, चर्चित, लोकप्रिय कस्तालाई भन्ने आधार तोकिनुपर्छ’, उनी भन्छन् । स्वर्गीय लोक बहादुर क्षेत्रीका गीत बढि सुन्ने रामचन्द्रका प्रेरणाका स्रोत क्षेत्री, नारायाण रायमाझी र बोम बहादुर कार्की हुन् ।
‘म बढि समय म्युजिक, एरेन्जरमा व्यस्त हुन्छु यी बन्द कोठामा गरिने काम हुन् । म क्षणिक ‘भाइरल’ भन्दा दिर्घकालीक सिर्जनामा विश्वास गर्ने मान्छे हुँ, यो क्षेत्रमा निकै सन्तुष्ट छु’, ‘धेरै महत्वकाङक्षी भइयो भने कुनै कुरामा पनि सन्तुष्ट बन्न सकिदैन म सानो कुरामा ठुलो सफलता देख्ने मान्छे हुँ त्यसैले यो क्षेत्रमा आर्थिक हिसावले पनि सन्तुष्ट छु । अवार्डहरु पनि गायक रामचन्द्रले थुप्रै पाएका छन् भने भर्खरै मात्रै नुर–गंगा प्रतिभा पुरस्कार पाएका छन् । रामचन्द्रको गुल्मेली सोरठी गीत बिए तेस्रो बर्ष पठनपाठन को लागी पाठयक्रममा समेत राखिएको छ ।
संगीतमा जति पैसा कमाउन अन्त सजिलो छैन।’ उनी थप्छन् । धेरैजसो कलाकारले संगीत क्षेत्रमा संघर्ष धेरै छ तर पैसा छैन भन्दै गर्दा रामचन्द्रको अभिव्यक्ति र बुझाई फरक आएको हो । सांगीतिक कार्यक्रम अन्तर्गत उनी कोरिया, कतार दुबै।, ओमान, बहराइन पुगिसकेका रामच्न्रद्य अब छिट्टै युके पनि जाँदैछन् । रामचन्द्र भान्जी र बहिनीसँग काठमाडौंमा बस्छन् ।

