लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा आज आइतवार दिउँसो टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
दुर्घटनामा टिपर चालक धादिङको गजुरी गाउँपालिका ६ का विनोद घिमिरे, गोरखा नगरपालिका १२ का रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका ७ का ४५ वर्षीय उत्तम न्यौपाने र सल्यानको कुमाख गाउँपालिकाका पारश शाह रहेका छन् ।
मध्यनेपाल ७ सीतीखोलाको कल्याणबेसीबाट बतासे चोक जाँदै गरेको ढुङ्गा बोकेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा चारै जना मध्यपहाडी लोक मार्गमा काम गर्ने रहेका उहाँले बताउनुभयो ।
रेग्मीका अनुसार टिपर सडकबाट तल खसेको हो । ‘उकालो, कच्ची, साँघुरो सडक हुनुका साथै लोड बढी भएर ब्याक भइ टिपर सडकबाट तल खसेको बुझिएको छ’, उहाँले भन्नुभयो ।