आइतवार, चैत्र २०, २०७८
चौंबिसे गाँउपालिकाबाटै सक्षम पत्रकार उत्पादन गर्ने उद्घोष : शुरु भयो तालिम

चौंबिसे गाँउपालिकाबाटै सक्षम पत्रकार उत्पादन गर्ने उद्घोष : शुरु भयो तालिम


  • स्वदेश नेपाल
  • आइतवार, चैत्र २०, २०७८

राजारानी (चौंबिसे), धनकुटा । ऐतिहासिक, पर्यटकीय, धार्मिक एवम् मौसमको कारण पनि अत्यन्तै सुन्दर चौंबिसे गाँउपालिकाका स्थानीय गतिविधि तथा यहाँ भएका विकास एवम् सम्बृद्धिका समाचार सामाग्रीहरु आमसञ्चारमा उचित र पर्याप्त रुपमा प्रकाशन÷प्रसारणमा नआएपछि गाँउपालिका अब आफै सक्षम स्थानीय पत्रकार÷सञ्चारकर्मी “उत्पादन” गर्न लागेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा जिल्ला शाखाको आयोजना र चौंबिसे गाँउपालिकाको सहयोग एवम् व्यवस्थापनमा शुक्रबारदेखि आईतबारसम्म तिनदिने पत्रकारिता तथा मल्टिमिडिया तालिम शुरु भएको छ र यसको मुख्य उद्देश्य भनेको स्थानीयस्तरबाटै सक्षम पत्रकार उत्पादन गर्नु रहेको छ ।

“चौंबिसे गाँउपालिकाले जनताको असिमित आवश्यक्ता र चाहानालाई स्थानीय सरकारको असिमित श्रोत साधानले भौतिक पूर्वाधार, सडक तथा पुल निर्माण, गाउँपालिकाको भवन, न्यायिक भवन, विद्यालय तथा स्वास्थ्य चौकी भवन, शिक्षामा विकास गरेको छ ।”, तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गाँउपालिका अध्यक्ष खजिन्द्र राईले भन्नुभयो, “बाटोघाटो बनिएका छन्, घरसम्म बस गाडी पुग्नेभएको छ । खानेपानी घरघरमा छ, स्कूलमा कम्प्युटरदेखि सुविधाका लागि टिभी समेत छ । गाँउपालिकाको जीवनशैलीमा आमूल परिवर्तन र सुधार गरिएको छ तर पनि आमसञ्चारका माध्यमबाट यसको हुनुपर्ने जति आवश्यक रुपमा प्रकाशन प्रसारण र प्रचार नहुदाँ चौंबिसे गाँउपालिकाले गरेका विकास र सम्बृद्धिका विषय र आमचासोका अन्य गतिविधि देखाउन सकेनौं ।”

चौंबिसे गाँउपालिकामा स्थानीयस्तरमा नै रहेर पत्रकारिता गर्ने आमसञ्चारकर्मी नहुनु र गाँउपालिकाबाटै पनि कुनै पनि मिडिया व्यवसायीक रुपले संचालनमा आउन नसक्नुले पनि स्थानीय सरकारले गरेका प्रगत्ती विवरणहरु देखाउन नसकिएको, अध्यक्ष राईको कथन थियो ।

सञ्चारको विकासको निम्ति गाँउपालिकाले पर्याप्त सहयोग गर्ने बताउदै उहाँले सकारात्मक शैलीको पत्रकारिताको विकासमा ध्यान दिन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि रहनुभएकी गाँउपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचालले चेतनशील शक्तिको उत्पादनका निम्ति पनि आमसञ्चारका क्षेत्रलाई गाँउपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकारले गरेका राम्रा कामलाई राम्रा भन्न र नराम्रालाई आलोचनासहित सुधार गर्नका लागि सुक्षाब दिनुपर्ने कुरामा जोड दिनुभयो ।

“पत्रकारिता क्षेत्र शक्तिको रुपमा रुपान्तरण गरिनुपर्दछ ।”, गाँउपालिका उपाध्यक्ष रुचालले भन्नुभयो, राम्रा गरेका भए राम्रो र नराम्रा गरेका भए खबरदारी गर्ने जनताका असली प्रतिनिधि आमसञ्चारकर्मीहरुका धर्म र दायित्व हो ।”

चौबिसे नेपालको प्रदेश नम्बर १ को धनकुटा जिल्लामा अवस्थित चार गाउँपालिका मध्येको एउटा गाउँपालिका हो । तालिममा गाउँपालिकाको ६ नं. बुढाबारे, मुडेबास, कुरुलेतेनुपा, बोधे, राजरानी, मौनाबुथुक र बसन्तटारका जम्मा १६ प्रशिक्षार्थीहरु सहभागि छन् । उनीहरुलाई प्रमुख प्रशिक्षक नवीन गुरूङले मल्टिमिडिया र डिजिटल (अनलाइन) पत्रकारिता बारे आधारभूत ज्ञान र भिडियो क्यामराको प्रयोग र भिएसडिसी आधारभूत भिडियो सम्पादन प्रशिक्षण दिदैछन् । प्रशिक्षक गुरूङ दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । फोनिज प्रदेश १ का अध्यक्ष समेत रहेका अर्का प्रशिक्षक सन्तवीर लामाले भने पत्रकारिता र पत्रकारिता आचारसंहिता बारे प्रशिक्षण दिदैछन् ।

फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्धघाट्न कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासक पर्शुराम दाहाल र नेपाल आदिवासी जनजाति महासंघ चौंबिसे गाँउ ईकाइ परिषर्दका उपाध्यक्ष उत्तम देवानले समेत आफ्ना मन्तव्य राखे । उपाध्यक्ष मानवी मोक्तानद्धारा संचालित सो उद्धघाट्न कार्यक्रममा गाँऊपालिका लेखा प्रमुख सोबित तुम्बाको समेत उपश्थीति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट