धनकुटा । पैसा चोरेको आरोपमा आफ्नै हजुरबाले नातीलाई चरम यातना दिएका छन्। धनकुटा नगरपालिका १ सिञ्जाली टोलका १५ वर्षीय बालकमाथि हजुरबाले यस्तो अत्याचार गरेका हुन्।
हजुरबुबाको कोटमा रहेको पैसा चोरी गरेको आरोपमा बालक संजिव थापा (नाम थर परिवर्तन) लाई यसरी यातना दिइएको हो । बिहीबार बिहानदेखि साँझसम्म उनलाई यातना दिइएको थियो । उनको उद्धार गर्नेभन्दा कुटपिट र यातना दिने हजुरबुबामात्र होइन छिमेकीले समेत साथ दिएका थिए।
उनलाई यति यातना दिइएको छ कि उनका हजुरबुबाले बाँधेर पटक–पटक सिस्नुपानी र दाउराले कुटपिट गर्दा मुखबाट समेत रगत निस्केको थियो ।
रक्सीले मातेका हजुरबुबाले रातभरि उसैगरी आँगनमा नै राख्ने बताए । कोही आए पनि नछाड्ने अडान राख्दै उनले बालकको गर्धनमा पटक–पटक नांगो खुकुरीसमेत तेर्स्याए । त्यतिबेला बालक डरले कापिरहेका देखिन्थे ।
त्यहाँ पुगेका सञ्चारकर्मीलाई समेत उनले बालकलाई मुक्त गर्न अनुरोध गर्दा खुकुरी देखाएर तर्साए । बालकले बचाउको याचना गरिरहेका थिए । लेकाली भेगमा दिनभर चिसो भुइँमा बाँधिएका उनलाई भोकै राखिएको थियो । उनले सोही स्थानमै लुगामै शौच गर्नुपरेको बताए । स्थानीय हिले माविमा अध्ययनरत बालक पछिल्लो समय फरक स्वभावको बन्दै गएको छिमेकीले बताए ।
बालकका बाबुआमा पबी धनकुटा–२ भीरगाउँमा खेती किसान गर्छन् । बालकको रेखदेख र विद्यालय जान सहज हुने भन्दै बाबुआमाले हजुरबुबाको साथमा राख्दै आएका थिए ।