संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ना ४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १४ जना मृतकमध्ये समाचार तयार गर्दासम्म १२ जनाको पहिचान खुलेको छ ।
रामबेनी बजारबाट झापाका दमक जाँदै गरेको बस बिहीबार विहान सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा संखुवासभाको मादी नगरपालिका–६ घर भएकी ३० वर्षीया सीता बिक, ३२ वर्षीया अन्जना कटुवाल, मादी–५ घर भएका ४९ वर्षीय भवानीप्रसाद दाहाल, वर्ष ५६ का श्याम शेर्पा, र वडा नम्बर–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन् ।
ताप्लेजुङ घर भएकी बर्ष ३१ की समीक्षा योञ्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङको मृत्यु भएको छ । बसका चालक तेह्रथुम घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मृत्यु हुनेहरुमा मादी नगरपलिका–६ बस्ने वर्ष ५ की दीक्षा कटुवाल, वडा नम्बर–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, वर्ष २८ की सविता कार्की र मादी–५ बस्ने ४८ वर्षीय दीपककुमार दाहाल छन् ।
यस्तै घाइते हुनेमा मादी ५ का ३० वर्षिय सुबास गोले र ३० वर्षिय युका पोखरेल, मादी ६ की २२ वर्षिय तुलसा कट्वाल, अम्बिका बिक र डम्बरबहादुर कार्की छन्। बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो।
बस मादी-६ को सातघुम्तीनजिकै दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस दुर्घटनामा परेर घाइते भएका पाँचै जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अस्पताल लगिएको छ।