कोरोना महामारीको तेस्रो लहर निम्त्याएको ‘ओमिक्रोन’बाट नेपालको पोल्ट्री व्यवसाय पनि प्रभावित बनेको छ । सङ्क्रमण तीव्र फैलिएपछि कुखुराको मासु र अण्डा खपत ५० प्रतिशत घटिसकेको छ । अण्डा र मासु अत्यधिक खपत हुने होटल तथा रेस्टुराँमा उपभोक्ता नजाँदा खपत र मूल्य दुवै घटेको हो ।
सङ्क्रमण रोकथाम गर्न हाल जिल्ला प्रशासन कार्यालयहरूले स्मार्ट लकडाउन घोषणा गरेका छन् । जसकारण अधिकांश होटल तथा रेस्टुराँमा उपभोक्ताको चाप घटेको छ । अर्कातिर, पार्टी प्यालेसहरू पनि आंशिक बन्द हुँदा पनि कुखुराको मासु र अण्डा खपत घटिरहेको छ ।
काठमाडौँ उपत्यकाभित्रका पार्टी प्यालेसमा एक पटकमा कूल क्षमताको एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका मानिस मात्र सहभागी हुन दिने प्रशासनको निर्णय छ । यतिबेला देशभरका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय र मानिस भीडभाड हुने कार्यमा रोक लगाइएको छ । होस्टल, क्यान्टिन र पार्टी प्यालेस तथा नाइट क्लब बन्द अवस्थामा छन् । कोभिड महामारी सुरु भएयता विदेशी पर्यटकसमेत धेरै आएका छैनन् । जसले समग्र पोल्ट्री व्यवसायलाई नै प्रभावित पारेको हो ।
ह्याचरी संघका अध्यक्ष टीका पोखरेलले ओमिक्रोन विस्तार रोक्न स्कूल, कलेज तथा सम्पूर्ण शैक्षिक संस्था बन्द हुँदा मासुको माग घटेको बताए । ‘शैक्षिक संस्था बन्द हुँदा क्यान्टिन र होस्टल पनि बन्द छन् । जसले त्यहाँको खपत घटेको छ,’ उनले भने, ‘यस्तै, पार्टी, बिहे, व्रतबन्ध रोकिँदा पार्टी प्यालेसको खपत समेत घटेको छ ।’ बिस्तारै उकालो लाग्दै गरेको पोल्ट्री व्यवसाय ओमिक्रोन भेरियन्टले फेरि समस्यामा परेको उनको भनाइ छ ।
घट्यो अण्डा र मासुको मूल्य
ओमिक्रोन प्रभाव नेपालमा पर्नुअघि अण्डाको मूल्य प्रतिगोटा करिब १६ रुपैयाँ कायम थियो । तीनवटा अण्डा किन्न ५० रुपैयाँसम्म तिर्नुपर्थ्यो । तर, ओमिक्रोनको सङ्क्रमण रोक्न स्मार्ट लकडाउन लागू गरिएपछि माग ५० प्रतिशतसम्मले घट्यो । जसकारण यतिबेला प्रतिगोटा अण्डाको थोक मूल्य १२ रुपैयाँ आसपास झरेको छ ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले यतिखेर प्रतिक्यारेट अण्डाको थोक मूल्य ३३० रुपैयाँमा झरेको बताए । ‘एक क्यारेटमा ३० वटा अण्डा हुन्छ । प्रतिगोटा मूल्य १२ रुपैयाँ पर्न आउँछ,’ उनले भने । यस्तै, अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा १४ रुपैयाँ आसपास पर्ने र प्रतिक्यारेट मूल्य ४२० रुपैयाँ पर्ने विष्टले जानकारी दिए ।
नेपालमा दैनिक ३० लाख गोटा अण्डा उत्पादन तथा खपत हुँदै आएको छ । बजार सामान्य ढंगमा चल्दा माग धान्न हम्मेहम्मे पर्ने गरेको थियो । जसकारण मूल्य बढेर प्रतिगोटा १६ रुपैयाँभन्दा माथिसम्म पुगेको थियो । तर, यतिबेला माग ह्वात्तै घटेपछि उत्पादन खपत नहुने स्थिति निम्तिएको र मूल्य ओह्रालो लागेको व्यवसायीहरू बताउँछन् ।
मासुको मूल्य पनि घट्यो
यतिबेला ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलोमा १० रुपैयाँसम्म घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेल्बासेले ओमिक्रोनको प्रभाव बढेसँगै कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम १० रुपैयाँले घटेको जानकारी दिए ।
‘बजार माग ५० प्रतिशतसम्मले घटेको छ । तर, उत्पादन घटेको छैन,’ उनले भने, ‘उत्पादन उस्तै र माग घटेपछि मूल्य ओह्रालो लाग्न थालेको हो ।’ मूल्य घट्ने क्रम कहिले रोकिन्छ भन्ने निश्चित नभएको उनको भनाइ छ ।
प्रतिकिलोमा १० रुपैयाँसम्म घटेपछि यतिबेला ब्रोइलर कुखुराको मासुको उपभोक्ता मूल्य प्रतिकिलोग्राम ३५६–६० रुपैयाँ कायम छ । यस्तै, जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलोग्राम २४० रुपैयाँ छ । यसअघि, ओमिक्रोन प्रभाव पर्नुभन्दा अघिल्लो महिनासम्म प्रतिकिलोग्राम ३८० रुपैयाँसम्म पर्थ्यो ।
सामान्य अवस्थामा नेपालमा कुखुराको दैनिक माग र खपत कूल आठ लाख किलोग्राम हो । जसमध्ये दैनिक पाँच लाख किलोग्राम कुखुराको मासु काठमाडौँ उपत्यकामै खपत हुने गर्छ । ‘सबै रेस्टुराँ, होटल, पार्टी प्यालेस, शैक्षिक संस्था तथा ठूला स्टार होटल सामान्य रूपमा चल्दा उपत्यकामै दैनिक पाँच लाख किलोग्राम मासु खपत हुन्छ,’ अध्यक्ष बेल्बासेले भने ।

