आइतवार, माघ ९, २०७८
विवादका कारण बागमती प्रदेशसभा बैठक अनिश्चित,कानुन निर्माण ठप्प

विवादका कारण बागमती प्रदेशसभा बैठक अनिश्चित,कानुन निर्माण ठप्प


  • स्वदेश नेपाल
  • आइतवार, माघ ९, २०७८

सत्तापक्ष र प्रतिपक्षबिचको विवादका कारण बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा प्रदेशमा आवश्यक कानुन निर्माण ठप्प छ । बागमती प्रदेशमा विगत एक वर्ष अघिदेखि प्रदेशसभा बैठक प्रभावकारी रूपमा अघि बढ्न नसकेको हो । त्यस यता प्रदेशसभाबाट कानुन निर्माण प्रक्रिया लगभग ठप्प छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन सरकारको कदमविरुद्ध पाँच दलीय गठबन्धनले संघर्ष गरेको थियो । बागमती प्रदेशमा पनि त्यसको प्रभाव स्वाभाविक रूपमा परेको थियो । उक्त घटनाले एमाले विभाजन हुनका साथै संघदेखि प्रदेशसम्म एमाले सत्ताबाट बाहिरिनुपर्ने अवस्था निम्तियो । एमाले अहिले संघ र सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा छ । एमालेले संघीय संसद् र प्रदेशसभालाई विभिन्न बहानामा अवरुद्ध गर्दै आएको छ ।

गत असोज २४ गतेबाट सुरु भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशन सत्ता टिकाउने र ढाल्ने विषयमा केन्द्रित रह्यो । त्यस अवधिमा सञ्चालन भएका बैठक मुख्यमन्त्रीको राजीनामा, विश्वासको मत लिने लगायतका विषयमा केन्द्रित भएको थियो । एमालेले सत्ता गुमाए यता प्रतिपक्षी भूमिकाका नाममा संसद् अवरुद्ध गर्नुलाई नै मुख्य प्राथमिकताको विषय बनाएको देखिन्छ । संघीय संसद् होस् वा प्रदेशसभा, सबैतिर प्रतिपक्षी भूमिकामा रहेको एमालेले कहीँ पनि संसदीय अभ्यासलाई सुचारु हुन दिएको अवस्था छैन ।

त्यसो त, बागमती प्रदेशको सन्दर्भमा एमाले नेतृत्वकै सरकार रहँदादेखि नै प्रदेशसभा ‘बिजनेस विहीन’ बनेको थियो । प्रदेशसभाले बिजनेस नै नपाएको एक वर्ष पूरा भइसकेको छ । यसअघिका सरकारले सदनमा दर्ता गराएका केही विधेयक हाल समितिहरूमा विचाराधीन अवस्थामा छन् । प्रदेशसभा सुचारु हुन नसक्दा समितिहरू पनि निष्क्रिय जस्तै बनेका छन् ।

प्रदेश सरकार स्थापना भएको दुई वर्षभित्र आवश्यक ९९ वटा कानुन निर्माण गर्ने तत्कालीन सरकारको घोषणा थियो तर पहिचान गरिएका ९९ वटा कानुनमध्ये ६१ वटामात्र बनेका छन् भने अन्य कानुन निर्माण हुन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट