सोमवार, माघ ३, २०७८
ट्याक्सी भाडा समायोजनबारे ट्राफिक बेखबर, कहिलेदेखि लागू हुन्छ नयाँ दर ?

ट्याक्सी भाडा समायोजनबारे ट्राफिक बेखबर, कहिलेदेखि लागू हुन्छ नयाँ दर ?


  • स्वदेश नेपाल
  • सोमवार, माघ ३, २०७८

माघ १ देखि लागू हुने गरी गरिएको भाडा समायोजनको निर्णयप्रति ट्राफिक भने अनविज्ञ छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी संजीव शर्मा दास ट्याक्सीको नयाँ भाडादरबारे आफूहरूकहाँ केही निर्णय नआइपुगेको बताउँछन् ।‘कसले कहिले निर्णय गर्‍यो हामीलाई थाहा छैन । आधिकारिक नआइ हामी केही गर्न सक्दैनौं’, उनले भने ।

प्रदेश यातायात मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले ट्राफिकले थाहा नपाएको भन्न नसुहाउने बताउँछन् । ‘हामीले संघीय सरकारमा जानकारी गराइसकेका छौं । राजपत्रमा पनि सूचना निस्किसकेको छ । राजपत्रमा सूचना निस्किएको कुरा ट्राफिकले थाहा छैन भन्नु त अस्वाभाविक हो’, पोखरेलले भने ।

नयाँ भाडादर भने अहिले लागू हुन नसक्ने उनले बताए । माघ १ देखि भनिए पनि ट्याक्सीहरूको मिटर ठीकठाक पार्न केही समय कुर्नुपर्ने उनको भनाइ छ । पोखरेलले भने, ‘१२/१३ हजार ट्याक्सी छन् । नाप तौल विभागमा गएर मिटर सेट गर्न समय लाग्छ । अझै कुर्नुपर्छ ।’,वागमती सरकारले उपत्यकाभित्र पहिलो एक किलोमिटरसम्मको यात्राको फ्लाग डाउन (मिटर सुरू) ६० रुपैयाँ कायम हुने निर्णय गरेको थियो ।

नयाँ नियमअनुसार सुरुको एक किलोमिटरपछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसा रुपैयाँका दरले थप हुनेछ । भाडादर समायोजनपछि ट्याक्सीहरूले पूर्णरूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने शर्त राखिएको छ । अहिले उपत्यकामा पुरानो दरमै कुदिरहनुपरेको भन्दै ट्याक्सीले यात्रुसँग मनलाग्दी भाडा असुलिरहेको गुनासो बढ्दो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट