शुक्रबार, पुस ३०, २०७८
कहालीलाग्दो अवस्था : भारतमा एकैदिन २ लाख ६४ हजारमा कोरोना संक्रमण

कहालीलाग्दो अवस्था : भारतमा एकैदिन २ लाख ६४ हजारमा कोरोना संक्रमण


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

काठमाडौं । भारतमा कोभिड संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ ।

यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।

डेल्टा भेरियन्टका कारण भारतमा यति धेरै मानिसको मृत्यु

कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

‘भारतमा डेल्टा संक्रमणका कारण अप्रिलदेखि जुनको अवधिमा दुई लाख ४० हजार जनाको मृत्यु हुनुका साथै अर्थतन्त्रको रिकभरीमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तै घटना अगामी दिनमा पनि दोहोरिन सक्छ ।’

कोभिडलाई नियन्त्रण गर्न खोप लगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए महामारीले फेरि पनि समावेशी र दीगो अर्थतन्त्रलाई ठूलो जोखिममा पार्ने प्रतिवेदनमा औंल्याइएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट