काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। नेता श्रेष्ठले पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण देखिएकाले होम आइसोलेसनमा रहेको र कम्तिमा १४ दिन आइसोलेसनमा रहने बताएका छन्।
कोरोना पुष्टि भएसँगै सामाजिक सञ्जाल नेता श्रेष्ठले लेखेका छन्, ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु।कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु ।हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु।’
पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अध्यक्ष प्रचण्डले पनि भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको थियो ।तर, उनी शुक्रबार सत्ता गठबन्धनको बैठकमा भने सहभागी भएका थिए।

‘कोरोना पल्कियो जस्तो छ, आक्रमणमा तेस्रोपटक परियो, साथसंगतका साथीहरु सचेत रहनुहोला’, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले शुक्रबार साँझ फेसबुक स्टाटस राख्दै भने।
उनी मात्र होइनन्, माओवादीको केन्द्रीय समितिमा नवनिर्वाचित सदस्य लालकुमारी पुन, बुद्धि जिसि, डोरप्रसाद उपाध्याय, सुबोध श्रीपाली लगायतलाई कोरोना भएकोले सम्पर्कमा रहेकालाई सतर्क रहन आग्रह गरिएको छ।
यी त प्रतिनिधि मात्र हुन्। महाधिवेशनमा सहभागी प्रतिनिधहरूले धमाधम कोरोना भएको सूचना पोष्ट गरिहेकाले संक्रमितहरूको संख्या सयबाट बढ्न सक्ने देखिएको छ।
पुस ११ देखि १८ गतेसम्म चलेको माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सहभागी १७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक संजालमा सूचना राखेका छन्।
माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह, महासचिव तथा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, गोपाल शर्मा, महाधिवेशन प्रतिनिधि देविप्रसाद ढकाल लगायतले कोरोना जस्तै लक्षणले बिरामी भएको सन्देश राखेका छन्।
नेता हरिबोल गजुरेल पनि सन्चो नभएको भन्दै आराम गरिरहेका छन्। नेत्री गंगा पराजुली अस्पताल भर्ना भएकी छन्। यस्तै वाइसीएलका चितवन नेता अविरल पोखरेल पनि अस्पताल भर्ना भएका छन्।
उर्जा मन्त्री पम्फा भुसालको सचिवालयमा कार्यरत मदनकुमार गौतम, विद्यार्थी नेता पवन कार्की, वाइसीएलका संयोजक सुमन देवकोटा, बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे, नेता धनप्रसाद मैनाली पनि बिरामी छन्।
माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। केन्द्रीय कार्यालयको क्यान्टिन, लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ।
एक हप्तासम्म चलेको महाधिवेशनमा खटिएका विभिन्न मोर्चाका स्वंयसेवक, नेताहरु बिरामी भएर आराम गरिरहेका छन्। महाधिवेशनमा सहभागी दर्जनौंलाई सन्चो नभएपछि माओवादी केन्द्रको २५ गतेको लागि तय भएको केन्द्रीय समिति बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ।
काठमाडौं उपत्यकामा शुक्रबार करिब एक हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ।
संक्रमण बढेसँगै उपत्यकामा सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।

