बीबीसी । २०१९ मा जब फ्रान्सेस्का बुसेका कान नसुन्ने बुवालाई अस्प्ताल भर्ना गरिएको थियो, उनले आफ्नो कामधाम सबै छाडेर सांकेतिक भाषामा उनलाई सबै सम्झाउन, बुझाउनमा लाग्नुपर्यो । तर के सधैँ आफन्तहरुले नै यस्ता बिरामीका लागि उपलब्ध भइरहनुपर्ने कुरा उपयुक्त हो ?
यसरी डाक्टरहरु दुःखको खबर लिएर कोठामा आउँदा फ्रान्सेस्का आफ्ना पितासँगै बसिरहेकी थिइन् । उनका बुवा अस्पताल बसेको एक महिना भइसकेको थियो । र बारम्बार अनुरोध गर्दा पनि उनका लागि अस्पतालले सांकेतिक भाषामा अनुवाद गर्ने कोही दिलाएनन् ।
उनी भन्छिन्, “मेरो बुवाले ठीक हुँदा मान्छेको ओठ पढेर सबै बुझ्नुहुन्थ्यो । तर अहिले उहाँ आँखा देख्नै नसक्ने अवस्थामा हुनुहुन्छ । र अस्पतालले केबल उनको बेडमा एउटा चिन्ह मात्र राखिदिएको छ जसमा कानको छेउमा क्रश बनाइएको छ । उनीहरु बारम्बार त्यहाँ आउँदा उनका अगाडि चिच्याएर बोल्ने, कराउने गरिरहेका हुन्छन् । र हरेक चोटी उहाँ तर्सिनुहुन्छ, आत्तिनु हुन्छ र के हुँदैछ केही बुझ्न सक्नु हुँदैन ।”
यसैकारण ४२ वर्षीया फ्रान्सेस्काले दशौँ हजार उनी जस्ता अन्य जस्तैगरी आफैँ बुवाको अनुवादक बन्नु पर्यो ।
र त्यस दुःखद् दिनमा पनि फ्रान्सेसकाले आफैँ बुवालाई भयावह खबर सुनाउनुपर्यो । उनी भन्छिन्, “उनीहरुले बोल्दै गए अनि मैले बुवालाई संकेतमा सबै सम्झाएँ । बीचमा रोकिने समय पनि थिएन ।”
उनले दुःखी हुँदै भनिन्, “मैले बुवालाई तपाईँ अब बाँच्नुहुन्न भन्नुपर्यो ।”
छोरी र अनुवादक एकैपटक बन्नुपर्दा उनले त्यही क्षणमा आफ्ना बुवाको मृत्युबारे थाहा पाउनु र सँगै उहाँलाई बताउनु पनि पर्ने हुँदा सोच्नै नसक्ने पीडा महसुस गरेको बताइन् ।
उनी भन्छिन् , “मैले मेरो जीवनमा धेरै कठिनाइहरुको सामना गर्नुपरेको छ । तर बुवासँगको यो घटना अहिलेसम्मकै सबैभन्दा पीडादायी क्षण थियो ।”
फ्रान्सेस्का दुई कान नसुन्ने अभिभावकबाट जन्मिएकी कान सुन्ने सन्तान हुन् । त्यसैले उनले बाल्यकालदेखि नै धेरै ठूलो जिम्मेवारी उठाउनुपर्यो । उनका अभिभावकसँग उनीमाथि निर्भर हुनु भन्दा अरु सहि विकल्प थिएन । र चार वर्षको उमेरमै उनले आफ्ना बुवाआमाका लागि फोन उठाउने, कुरा गर्ने र ८ वर्ष हुँदा बैंक पनि जान थालिन् ।
उनी भन्छिन्, “उहाँहरु सधैँ ममाथि धेरै बोझ नपरोस् भन्ने चाहानुहुन्थ्यो । तर व्यवहारिक रुपमा यही सजिलो विकल्प थियो । त्यसैले म छिटै ठूलो भएँ । म फरक थिएँ र परिवारको महत्वपूर्ण सदस्य थिएँ ।”
उनका अनुसार बच्चा भएकाले पनि आफ्नो सिमाना थाहा नहुँदा ‘गर्न सक्दिनँ’ पनि भन्न सक्दिन थिइन् ।
यसरी कतिपय अवस्थामा भावनात्मक परिस्थिति आउँदा आफूले पनि उत्तिकै मानसिक पीडा महसुस गर्ने गरेको उनी बताउँछिन् । जस्तै घर अगाडि आएका पिज्जा डेलिभरी गर्नेसँग डील गर्नु र अस्पतालमा डाक्टरले भनेका कुरा सम्झाउनुमा धेरै ठूलो फरक रहेको उनले बताइन् ।
उनी भन्छिन्, “त्यस किसिमको ठूलो स्तरको सामाजिक अवस्थाले बच्चामा धेरै ठूलो भावनात्मक असर पर्दछ । ” विशेषगरी बालबालिकाहरुले आफूले सक्ने भन्दा धेरै भाव महसुस गर्नुपर्ने हुन्छ ।

