मङ्लबार, पुस १३, २०७८
भिजिट भिसामा कडाइ गर्न सांसदहरूको माग

भिजिट भिसामा कडाइ गर्न सांसदहरूको माग


  • स्वदेश नेपाल
  • मङ्लबार, पुस १३, २०७८

भिजिट भिसामा विकृति र विसंगति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरुले दुःख पाउने गरेको भन्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताए । विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरु बढेको भन्दै उनले विदेश जान नै सहज बनाउनुपर्ने बताए । विदेश जान सहज नहुँदा विभिन्न खालका अपराधिक घट्ना घट्ने गरेको उनको भनाइ छ । नेपाली कामदारहरुलाई आफूले गर्ने कामको बारेमा पूर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उनले जोड दिए ।

सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राखिन् । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाइ छ । विदेश पुगेका नेपाली कामदारहरु दूतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उनले सहज रुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताइन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उनले बताए । व्यावसायिक कामदारलाई विदेश पठाउन सक्नुपर्ने बताए ।

सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यससँग सम्बन्धित सरकारी निकायहरु गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरु बसेर देखिएका विकृति र विसंगती हटाउनुपर्ने बताए । उनले यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट