शुक्रबार, पुस ९, २०७८
कर्णालीका मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गर्न अझै सकेनन्,खेपे आलोचना

कर्णालीका मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गर्न अझै सकेनन्,खेपे आलोचना


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ९, २०७८

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही कुर्सीमा बसेको दुई महिना पुग्न लाग्दैछ, तर उनी मन्त्रिपरिषद् विस्तार गर्न समेत असमर्थ देखिएका छन् । यस्ता दृश्यले उनीविरुद्ध आलोचना बढेको छ । खासमा मन्त्रालयको भागबण्डा मिलाउन मुख्यमन्त्री शाहीलाई फलामको चिउरा चपाउनु सरह बनेपछि बिस्तारमा सकस परेको हो ।

शाहीले प्रतिपक्षको भूमिकामा हुँदा जति प्रशंसा बटुलेका थिए, सत्तामा पुगेपछि उनी आलोचित बन्दै गएका छन् । मुख्यमन्त्री बनेयता दुई मन्त्री मात्र नियुक्त गरेका छन् भने पाँच मन्त्रालय मन्त्रीविहीन छन् । जसले गर्दा मन्त्रालयकै कार्यसम्पादनमा असर परेको छ । लामो समयसम्म सरकारले पूर्णता नपाउँदा मुख्यमन्त्री मात्र होइन, गठबन्धनको दलमाथि नै प्रश्न उठ्न थालेको छ ।

यता प्रमुख प्रतिपक्ष दल एमालेका सांसदले सरकारलाई पूर्णता दिन नसकेर मुख्यमन्त्री शाहीले आफ्नो असक्षमता प्रदर्शन गरिरहेको टिप्पणी गर्न शुरु गरेका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरिसकेपछि कांग्रेसको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनमा लागेका कारण पनि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई भएको कांग्रेसका सांसदहरुको भनाई छ ।

कर्णालीमा मन्त्रालयको संख्या आठवटा छन् । तर सत्ता गठबन्धनबाट यो भन्दा धेरै संख्यामा मन्त्रालयको अडान राखेका छन् । फलस्वरुप मुख्यमन्त्री शाही अनिर्णयको बन्दी बन्न पुगेका छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय दावी गरेको छ । एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नछाड्ने अडान राखेको छ । समाजवादीका केन्द्रीय सदस्य एवं सांसद देवी वलीले आफूहरु संघर्ष गरेर तत्कालीन सरकारलाई बचाएका कारण यो अडानबाट पछि नहट्ने बताउँछिन् ।

यता कांग्रेसले पनि मुख्यमन्त्रीबाहेक दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तीन वटै दलहरु आफ्नो अडानबाट पछि नहटेपछि मन्त्रालय भागवण्डामा समस्या देखिएको छ । सत्ता गठबन्धनका दलहरुसँग छलफलमा बसेता पनि भागबण्डाको विषयमा कुरा मिल्न नसकेको कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए ।

मन्त्रिमण्डललाई पूर्णता दिनेबारे शाहीले नै ‘एक्सन’ लिन नसकेको सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आरोप लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार