बिहिबार, मंसिर २३, २०७८
विपिन रावतका सुरक्षाकर्मी थिए सतपाल राई, हेलिकोप्टर दुर्घटनामा सँगै बिते

विपिन रावतका सुरक्षाकर्मी थिए सतपाल राई, हेलिकोप्टर दुर्घटनामा सँगै बिते


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर २३, २०७८

भारतको तमिलनाडु राज्यको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा दार्जिलिङको तकदा चिया कमाननिवासी सतपाल राईको पनि निधन भएको छ।
भारतीय सेनाको गोर्खा रेजिमेन्टमा हवलदार पदमा रहेका राई चिफ अफ डिफेन्स स्टाफ विपिन रावतका नीजि सुरक्षा अधिकारी थिए।

यो हेलिकोप्टर दुर्घटनामा सीडीएस विपीन रावत, उनकी पत्नी मधुलिकालगायत सेनाका अधिकारीहरूको मृत्यु भएको छ। हेलिकोप्टरमा कुल १४ जना सवार थिए, जसमध्ये १३ जनाको मृत्यु भएको छ।

सतपाल राईले बुधबार बिहान आफ्नो छोरा विकल राईलाई फोन गरेर तमिलनाडु गइरहेको जानकारी गराएका थिए। त्यही फोन कल बाबा–छोराबीच अन्तिम सम्वाद बन्यो। सतपालका एक मात्र छोरा विकल पनि भारतीय सेनामा नै कार्यरत छन्। सतपाल राईको पार्थिव शरीर शुक्रबार दार्जिलिङको तकदा ल्याइपुऱ्याइने तयारी छ।

‘गोर्खालीमाझ हुर्किएका रावत नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे’

भारतको दक्षिणी राज्य तमिलनाडूमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चीफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपीन रावत नेपालसँग राम्रो सम्बन्ध भएका सैनिक अधिकारी थिए । रावतसँगै उनकी पत्नी मधुलिका र अन्य ११ सैनिक अधिकारीको नीलगिरिमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

नेपालसँग सीमा जोडिएको उत्तराखण्डको गढवालमा जन्मिएका रावल सैन्य सेवामा गोर्खा राइफल्ससँग सम्बन्धित रहेका थिए । भारतीय सेनाका चार तारे जनरल रावत ११ गोर्खा राइफल्ससँग सम्बन्धित थिए । उनी सन् १९७८ डिसेम्बर १६ मा ११ गोर्खा राइफल्सको पाँचौ बटालियनमा भर्ना भएका थिए ।

रावत सन् २०१७ डिसेम्बर ३१ मा भारतीय स्थल सेनाका प्रमुख हुने गोर्खा बटालियनका तेस्रो अधिकारी हुन् । भारत सरकारले सामान्यत: वरिष्ठतालाई प्रमुख बनाउने परम्परा तोड्दै तेस्रो वरीयतामा रहेका रावतलाई स्थल सेना प्रमुख बनाएको थियो । रावतलाई नेपालले पनि मानार्थ महारथी सम्मान गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ चैत १६ राष्ट्रपति निवासमा आयोजित कार्यक्रम महारथी उपाधिबाट सम्मान गरेकी थिइन् । त्यतिबेला उनले पोखरा र मुक्तिनाथको समेत भ्रमण गरेका थिए ।

यसै वर्षको सुरुवातमा मन्त्रिपरिषद्‌ले भारतीय सेनाका सिडिएस रावतलाई भ्रमणका लागि निम्तो दिने प्रस्ताव स्वीकृत गरे पनि कोभिडका कारण सफल हुन सकेको थिएन । भारतले आफ्नो सैनिक संरचनालाई परिवर्तन गरेर स्थल, जल र वायु सेनाको एउटै कमान्डअन्तर्गत निर्माण गर्न रावतलाई सन् २०२० जनवरी १ मा पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको थियो ।

सन् २०१०मा दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सहपाठी रहेका नेपाली सेनाका पूर्वमेजर जनरल विनोज बस्न्यात रावत गोर्खाली पल्टनमा हुर्किएका व्यक्ति भएका बताउँछन् । ‘उनी गोर्खालीका माझ हुर्किएका हुन् । उनी नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे’, बन्स्यात विगत स्मरण गर्दै भने, ‘त्यहाँ एक सय जना थिए होलान् तर हामी निकट थियौं । व्यक्तिगत रुपमा मित्र गुमाएको छँदैछ । त्यो भन्दा पनि बढी नेपाली सेना र देशले पनि राम्रो सम्बन्ध भएको व्यक्तिलाई गुमाएको छ ।’

बस्न्यात रावतलाई नेपालसँगको सम्बन्धलाई सुधारका लागि आफै प्रयास गर्ने व्यक्तिको रुपमा सम्झन्छन् । ‘११ गोर्खा राइफल्सको कमान्ड गरेको कारणले धेरै नेपालीसँग उहाँको राम्रो थियो,’ उनले भने । रावतका पिता पनि गोर्खा पल्टनमै कार्यरत थिए । पिता लक्ष्मणसिंह भारतीय सेनामा लेफ्टिनेन्ट जनरलसम्म बनेका थिए ।

राजनीतिक विषयमा पनि चर्को टिप्पणी गर्ने रावत समय समयमा विवादमा पर्ने गरेका थिए । गत माघमा काठमाडौंमा रहेको थिंक ट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल रिलेसन्सले आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका रावतले श्रीलंकाबाट पाठ सिक्दै चीनसँग सतर्क हुनुपर्ने सुझाव नेपाललाई दिएका थिए ।

रावतले पदीय मर्यादाभन्दा बाहिर गएर उक्त टिप्पणी गरेको भन्दै कतिपयले आलोचना गरेका थिए । त्यसअघि पनि उनले भौगोलिक कारणले नेपाल र भुटान भारतबाट बाहिर जान नसक्ने बताएका थिए । आन्तरिक राजनीतिक विषयमा पनि उनले टिप्पणी गर्ने गरेका थिए । कतिपयले उनलाई सेनाको व्यावसायिक मर्मविपरीत गएर सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)को पक्षमा धारणा राख्ने गरेको भन्दै आलोचना गर्दथे । यसैबीच, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले रावतको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट