शुक्रबार, कार्तिक २६, २०७८
जीवनबहादुर शाहीको ‘अराजकता’ले हुम्लामा बिथोलियो कांग्रेसको संगठन, जिल्लास्तरीय र प्रदेशस्तरीय अधिवेशन बदर गर्न माग

जीवनबहादुर शाहीको ‘अराजकता’ले हुम्लामा बिथोलियो कांग्रेसको संगठन, जिल्लास्तरीय र प्रदेशस्तरीय अधिवेशन बदर गर्न माग


  • स्वदेश नेपाल
  • शुक्रबार, कार्तिक २६, २०७८

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुम्लामा भएको जिल्लाको जिल्लास्तरीय र प्रदेशस्तरीय अधिवेशन बदर गर्दै पुनः निर्वाचन गर्न माग गरिएको छ।

नेपाली कांग्रेस हुम्लाका नेताहरुले केन्द्रीय निर्वाचन समितिलाई हुम्लामा भएको जिल्लास्तरीय र प्रदेशस्तरीय अधिवेशन बदर गर्न माग गर्दै निवेदन दिएका हुन्।

निवेदनमा नेपालको संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र निर्वाचन निर्देशिकापिवरीत नाटकीय, छलकपट, जालसाज तरिकाले हुम्लामा जिल्ला अधिवेशन गरी प्रतिनिधि छनोट कार्य भएको दाबी गरिएको हो।

जिल्लाको सर्केगाड गाउँपालिका ३ मा नक्कली निर्वाचन अधिकृत (शिक्षक) अकिले कार्कीबाट अधिवेशन गराई प्रतिनिधि छनोट गरिएको निवेदकको दाबी छ।

‘मिति २०७८ भदौ ७ गते हुम्ला जिल्ला प्रदेशसभा क्षेत्रको सर्केगाड गाउँपालिका ३ मा नककली निर्वाचन अधिकृत (शिक्षक) अकिल कार्कीले वडा अधिवेशन गराएकोमा हामीले थाहा पाई विरोध गर्दा उक्त निर्वाचन बदर गरी मिति २०७८ भदौ १७ गतेका लागि निर्वाचन मिति तय गरिएकोमा सोही दिन सोही निर्वाचन अधिकृत अकिल कार्कीलाई निर्वाचन अधिकृत बनाई गैरकानुनी रुपमा निर्वाचन भएको घोषणा गरी प्रतिनिधि छनोट गरिएको थियो। उक्त निर्वाचन गैरकानुनी भएकाले बदर गरी पाउँ भनी हामीले लिखित र मौखिक उजुरी गर्दा सुनुवाइ नएको व्यहोरा केन्द्रीय निर्वाचन समितिलाई जानकारी दिई सो समितिको निर्देशन बमोजिम पछि सहमतिमा निर्वाचन गराइएको,’ निवेदनमा भनिएको छ।

त्यस्तै केन्द्रीय निर्वाचन समितिबाट निर्वाचन अधिकृतका रुपमा खटिएका दुर्गा सापकोटालाई जीवनबहादुर शाहीले कसैसँग भेटघाट गर्न नदिएको र निज सापकोटाले पार्टी कार्यालय निर्वाचन नगरी र जानकारी नगराई होटलबाट निर्वाचित पदाधिकारीहरु घोषणा गरेको आरोप लगाइएको छ।

‘केन्द्रीय निर्वाचन समितिबाट निर्वाचन अधिकृतका रुपमा खटिएका दुर्गा सापकोटा हुम्ला सदरमुकाम सिमिकोटमा आएको भन्ने जानकारी पाएपश्चात जीवनबहादुर शाहीले निजलाई कसैसँग भेटघाट गर्न नदिई भूमिगत रुपमा राखी हामी कसैलाई भेटघाट गर्न नदिएको र निज निर्वाचन अधिकृतले पार्टी कार्यालयमा निर्वाचन नगरी निर्वाचनको जानकारी नगराई विजय होटलबाट निर्वाचित पदाधिकारीहरु भनी एकलौटी घोषणा गरी हामीलाई संविधान, कानुन, पार्टी विधान र निर्वाचन निर्देशिकाविपरीत मतदान गर्ने र मतदानमा सहभागी हुने प्रक्रियाबाट बञ्चित गराइएको थियो। निज निर्वाचन अधिकृतले पनि हामीलाई भेटघाट गर्न बत्तिचत गरेको,’ केन्द्रीय निर्वाचन समितिलाई बुझाइएको निवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै जीवनबहादुर शाहीले जिल्ला भेला गर्दा खबर नगरेको, सहमतिविपरीत कार्य गरेको आरोप पनि लगाइएको छ।

‘जीवनबहादुर शाही हुम्लामा भदौ १२ गते पुगेर १३ गते जिल्ला भेलागर्दा हामीलाई खबर नगरी एकलौटीरुपमा जिल्ल भेला गराएको भन्ने प्रमाणयुक्त तथ्यले पुष्टि गरेको छ भने भदौ १४ गते बिहान जीवन शाहीलार्य अधिवेशनको बारेमा कुरा गर्न जाँदा सहमतिको आधारमा जान्छौं वडामा मिलाए आउनु भन्दै हामीलाई अर्को दिन जिल्ला कार्यसमितिको बैठक बोलाएर बसेर छलफल गराउला अनि मात्र गाउँ जान भनेकोमा ठीक उल्टो दिनको ४ बजेसम्म पनि समितिको बैठक नबोलाई सहमतिविपरीत कार्य गरेको,’ निवेदनमा भनिएको छ।

निवेदनमा अघि भनिएको छ, ‘मिति २०७८ भदौ १८ गते वडा अधिवेशन हुने क्रममा विवाद नभएका शिक्षकलाई मात्र निर्वाचन अधिकृत पठाउनु भनेर निर्वाचन अधिकृत दुर्गा सापकोटा र जिल्ला शिक्षक संघ हुम्लाका अध्यक्ष कैलाश रोकायालाई अनुरोध गर्दा यसको कुनै सुनुवाइ नभएको र जिल्लाका ४४ वडामध्ये ४३ वडा अधिवेशन सकिएपछि असोज ९ गते ६ वटा गाउँपालिकामा सहमतिका आधारमा अधिवेशन नभएको तर सर्केगाट गाउँपालिकामा पुनः धाँधली र विवाद गराउनका लागि जीवनबहादुर शाहीले आफ्ना कार्यकर्ताहरुलाई चुनाव गराएर मात्र अधिवेशन गर्नु र रिता शाशीलाई वडामै हराउनु भन्ने आदेश दिई सोही बमोजिम सर्केगाट गाउँपालिकामा निर्वाचन गराएको।’

निवेदनको अर्को बुँदामा ‘असोज १२ गते विवादित शिषक राजबहादुर ऐडीलाई प्रदेशको मतदान अधिकृतको रुपमा पठाएकोमा निज मतदान अधिकृत एडीले कसैलाई नबोलाई एकलौटी रुपमा निर्वाचन कार्यतालिका बनाई असोज १३ गते हामीले सहमतिका लागि छलफल गर्न पर्ने भनेकामा कुनै पनि सुनुवाइ नगरी १३ गते नै एकलौटी रुपमा रातको ८ः३० बजे निर्वाचन तोकी ३ सय ९८ जना क्षेत्रीय प्रतिनिधि भएको यस प्रदेश कर्णाली नदीको किनारमा भएको हुँदा राति निर्वाचन हुन नसक्ने र भोली बिहानबाट निर्वाचन गराउ भन्दा उल्टै राति नै आफ्नो पक्षको मान्छेलाई बोलाएर निर्वाचन गराएको भन्दै निर्वाचित पदाधिकारीहरुको नाम बाहिर ल्याई एकलौटी निर्वाचन गराएको’ भनिएको छ।

निर्वाचनमा आफूहरु कोही पनि सहभागी नभएको र प्रक्रियामा मतपेटिका र मतपत्रको मुचुल्कासमेत नगरी कुनै पनि काुन बमोजिमका रित नपुर्‍याइएको निवेदकहरुले दाबी गरेका छन्।

‘यस निर्वाचनमा हामी कोही पनि सहभागी नभएको र प्रक्रियामा मतपेटिका र मतपत्रको मुचुल्कासमेत नगरी कुनै पनि कानुन बमोजिमका रित पुर्‍याएको अवस्था छैन। असोज १५ गते जिल्ला अधिवेशनमा सहभागी हुन आउँदा सिमकोटमा हामी त्यही दिनपुगे पनि एकलौटी रुपमा जीवनबहादु। शाहीले हामीलाई बेवास्ता गरी गराई उद्घाटन गरी १६ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेकामा यसलगत्तै हामीले प्रक्रिया नमिलेकाले छलफल गरी मात्र निर्वाचन अगाडि बढाउनु भनेर असोज १६ गते निवेदन दर्ता गराउँदासमेत कुनै सुनुवाइ नगरी जबरजस्ती अगाडि बढाई एकलौटी रुपमा प्रतिनिधि छनोट गरेको।’

माथि उल्लेखित तरिकाले नेपाली कांग्रेस हुम्ला जिल्लाको अधिवेशन गरी प्रतिनिधि छनोट गर्ने कार्य गैरकानुनी भएको भन्दै निवेदकहरुले निर्वाचन सो निर्वाचन बदर गरी कानुनसम्मत पुनः निर्वाचन गराउन माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट