-राज छत्कुली
यति खेर देशको सबै भन्दा पुरानो प्रजातान्त्रिक एवम् लोकतान्त्रीक पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशनले देश भरि माहोल तताइ रहेकोछ र यस बाट नेपाली कांग्रेस धादिङ्ग पनि अछुतो रहन सक्ने कुरै भएन।
नेपाली कांग्रेस धादिङ्गको पनि माहोल दिनानुदिन गरमागरम भइरहेकोछ र नेतृत्व कुन पक्षले हत्याउने भन्ने बहस व्यापक रुपमा चलि रहेकोछ। नेपाली कांग्रेसको संस्थापन पक्षका तर्फबाट निलकण्ठ नगरपालिकाकका मेयर भिम प्रसाद ढुगंनाले सभापतिमा आफ्नो उम्मेदवारि घोषणा गरिसकेकाछन भने संस्थापन इतर पक्षबाट उम्मेदवारको लागि पुर्व सांसद तथा पुर्व पार्टी सभापति रामनाथ अधिकारीको चर्चा व्यापक रुपमा भइरहेको छ। यद्यपी उम्मेदवार कस्लाई बनाउने भनेर पनि अबको केही दिनमै सार्वजनिक रुपमा जानकारी हुनेनैछ !
दुइ चार जना नेताको सार्वजनिक अभिव्यक्ति वा सम्पर्कमा रहेर कुरा गर्दा आफ्नो प्रस्ट भिजन र मिसन भन्दा पनि फलानो समुह काम छैन फलानो समुह भन्दा हामी अब्बल हौं र हामीले मात्र नेपाली कांग्रेस धादिङ्गको नेतृ्त्व गर्न सक्छौँ,गर्न पाउनु पर्छ भन्दा माथीको तर्क त्यती सुनिदैन, देखिदैन । एउटा पक्षको भनाइको सार,फलानो पक्षले यत्रो बर्ष खायो र अब हाम्रो पक्षले पाउनु पर्छ अब त हाम्रो पनि पालो आउनु पर्छ भन्नेनै हो ,र अर्को पक्षको भनाइको सार तल्लोतह सम्म पुगेर संगठन हामीले निर्माण गरेपछि नेतृत्व पनि हामीले पाउनु स्वभाविक हो भन्नेनै हो! यहि बिचार र दृष्टिकोण बाट नेतृत्वको रेसमा हुने नेता हरु ग्रसित देखिन्छन! साँच्चै न नेपाली काङ्ग्रेसको त्यो ऐतिहासिक गौरव जोगाउदै सुनौलो भविस्यको रुपरेखा तयार पार्ने मिसन र भिजनको चाहिँ दुबै पक्षमा अभाव रहेको आम कार्यकर्ताले महसुस पो गर्दैछन की ।

कम्तिमा पनि म र म जस्ता युवा समुहका आम कार्यकर्ता र कांग्रेस पार्टी प्रति सम्मानभाव प्रकट गर्ने पुस्ताको चाहना के थियो भने यो पटक अर्थात १४ औं जिल्ला अधिवेशनको संघारमा आउदै गर्दा २०४८ साल देखि निकट भविष्यमा आउदै गरेको तिनै तहको चुनाव, राजधानी जोडिएको जिल्लामा भौतिक बिकास र मानविय चेतनाको कसरी बिकास गर्न सकिन्छ र दुरदराजमा रहेका आम जन्ताका जिवनस्तर लाइ कसरी माथी उकास्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर व्यापक रुपमा बहस गरियोस र बिगत २८-३० बर्ष देखि भएका गल्ति कमिकमजोरीको आत्मसमिक्षा र आत्मालोचना सहित अधिवेशनमा होमियोस भन्ने थियो तर त्यो एकरति पनि संभव देखिएन र यो होला भन्ने झिनो आशा गर्न सकिने ठाउँ पनि छैन नै!
हुनत,हरेक पार्टीको आन्तरिक चुनाव बाट नै नेतृत्व चुनिन्छ र निकट भबिष्यमा त्यही चुनिएका नेतृत्वहरुले नै राष्ट्रिय चुनावमा अग्रसर भएर नेतृत्वदायी भुमिका निभाउने हुँदा ती तमाम नेतृत्वमा रहेका व्यक्तिहरुको आचरण, क्षमता,प्रस्ट दृष्टिकोण, इमन्दारिता, जवाफदेहीता र जनता प्रतिको उत्तरदायीत्व कतिको बहन गर्न सक्छ भन्ने बिषय सँगै विचार, सिद्धान्त र दर्शनको मन्थन बाट बहसको ढोका खोल्न सकेका हुन्थ्यौँ भने आज नेपालि कांग्रेसको हालत यति लथालिंग हुने थिएन र यो हदसम्मको गैरजिम्मेवार अभिव्यक्ति कुनै पनि नेता या कार्यकर्ता बाट पनि सायद आउने थिएन! एउटा सबल र सुदृढ लोकतान्त्रिक पार्टिलाई कसैले उखेलेर फाल्छौ, यसको औचित्य नै समाप्त भइसक्यो भन्ने खालका अभिव्यक्ति हरु बिपक्ष पार्टीका आमुक नेता र कार्यकर्ता बाट संभवत आउने थिएनन ।
आज सम्म नेपाली कांग्रेसको इतिहासमा नेपाली कांग्रेस धादिङ्गले सिङ्गै पार्टीको एक जना पनि केन्द्रिय सदस्य पाउन सकेको छैन, आज सम्म नेपाली कांग्रेस धादिङ्गले एक जनापनि पुर्णरुपमा मन्त्री पाउन सकेको छैन अनि यो भन्दा लाजस्पद कुरा के हुन सक्छ?त्यही छिमेकी जिल्ला नुवाकोट र गोर्खालाइ हेरेर पनि नेतागणहरु लाइ केहि लाज र हिनताबोध हुनु पर्ने होइन,केही चेत खुल्नु पर्ने होइन?
नुवाकोट बाट कति जना केन्द्रिय सदस्य छन कति जना पदाधिकारी कुन कुन तह सम्म पुगे ? कति जना कति पटक सम्म मन्त्री भए ? गोर्खा बाट कति जना केन्द्रिय सदस्य भए कति जना मन्त्री भए ? यि प्रश्न हरु केलाएर उत्तर खोजौँ त,अनि थाहा हुनेछ,बुझ्नुहुनेछ मेरो भनाईको तात्पर्य।
के नेपाली कांग्रेस धादिङ्गका नेता हरु काठमाडौ बाट निस्किएर थानकोट कटे पछी मात्र बाघ जसरी गर्जिने हुन ? के यही गर्जन सानेपा पार्टी कार्यलयमा गर्जिन सक्ने ल्याकत नभएको नै हो त ?एउटा उखान याद आउँछ,घरको बाघ वनको स्याल!के साँंच्चै नै भएको यहि नै हो?यहि उखान चरितार्थ भएको होइन भनेर किन र कसरि भन्ने त हामिले?
म एउटा कांग्रेसको सक्रिय कार्यकर्ता र महाधिवेशन प्रतिनिधि भएको नाताले धादिङ्गका आदरणिय नेतागणहरु र नेतृत्व लिने दौडमा हुने नेता हरुलाइ एउटा अनुरोध के गर्न चाहान्छु भने गुट र नेतृत्वको झोलालाइ धादिग वेसी पार्टी कार्यलय सम्म नपुर्याइ एक पटक सबै जिल्ला स्तरिय नेतागण हरुले सामुहिक रुपमै प्रतिबद्धता के गर्नु पर्यो भने अब आउदो संघिय, प्रदेश र स्थानिय तहको चुनावमा कुनै पनि प्रलोभन र दवावमा नपरि कांग्रेसका वार्ड सदस्य देखी संघिय संसदको उम्मेदवार सम्मलाइ घात,अन्तर्घात नगरी शानदार ढंगले जिताउने र जनताको माझमा रहेर जनताको सेवा गराउने वातावरण किन नबनाउने ? किन हाम्रो इतिहास नजोगाउने?किन जनताको लागि लडेको पार्टी लाई जनताको आंगन देखि चुल्हो सम्म नपुर्याउने?
निकट भबिष्यमा प्रदेश र संघिय चुनावमा कांग्रेसका उम्मेदवार लाइ शानदार विजयी गराइ संघिय संसद बाट मन्त्री र ३ नम्बर प्रदेशमा धादिङ्गबाट मुख्य मन्त्री सम्म बनाउने प्रतिवद्धता गर्न नेता हरु किन हिचकिचाउछन ? प्रदेश महाधिवेशनमा धादिङ्ग बाट प्रदेश प्रमुख र र केन्द्रिय महाधिवेशनमा कम्तिमा पनि २ जना केन्द्रिय सदस्य बनाउने अभियान किन नथाल्ने ?
कम्तिमा पनि जिल्ला नेतृत्व चाही सामुहिक बहस र छलफल बाट जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्न सके यसले धादिङ्गका आम कांग्रेसका कार्यकर्तामा नेतृत्वगण प्रति सम्मान हुन्थ्यो र कांग्रेस एक छ भन्ने सन्देश तल्लो तहसम्म सम्प्रेषण गर्न सकिन्थ्यो।हामिले आत्मै देखि चाहेको पनि यहिनै हो!यदि सर्वसम्मत ढँगबाट नेतृत्व चयन हुन सकेन भने पनि २२०० क्षेत्रीय प्रतिनिधि हरुले कुनै पनि नेताको सिन्डिकेटमा नपरि सक्षम र सवल नेतृत्व छान्न सक्ने वातावरण सिर्जना गरौँ!
बेलैमा सोचौँ र विचार गरौँ!समय महत्त्वपूर्ण र बलवान् छ।यो अवसर फेरि नआउन सक्छ या फेरि आउन समय लाग्न सक्छ जुन ढिला भैसकेको पनि हुन सक्छ ।
जय नेपाल ।
-छत्कुली, महाधिवेशन प्रतिनिधि हुन् ,नेपाली जनसम्पर्क समिति, इजरायल

