लण्डन –
गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितले संघको वर्तमान कार्य समितिको कार्यकाल सकिन लागेकाले संघमा अहिले देखिएको विवाद समाधान गर्न संरक्षक परिषद्ले अगाडि बढेर समस्याको निष्पक्ष रुपमा समाधान गर्न पहल गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
जीएनएनसँग कुरा गर्दै सल्लाहकार पण्डितले यस्तो भनाई राखेका हुन् । ‘कुमार पन्तजीले नेतृत्व गर्नु भएको आइसीसीको कार्यावधि आज (१७ अक्टोबर) सकिन लागेको छ, अब हामीसँग समय छैन। आइसीसीका नयाँ साथीहरू चुनिएर आइसक्नु भएको छ। त्यसैले अहिलेकै समितिको पदावधि ६ महिना थप गर्नुभन्दा विवाद समाधान गरी जति सक्दो चाँडो चुनाव गराउन संरक्षक परिषद्ले पहल गर्नुपर्छ ।’
यसअघि गैर आवासीय नेपाली संघले आउँदो अक्टोबर २३–२५ मा काठमाडौँमा दशौं महाधिवेशन गर्ने र त्यो भन्दा अगावै चुनाव गर्ने गरी मिति तोकेको थियो । तर, संघको १८ वर्षे इतिहासमै पहिलो पटक महाधिवेशन पछि सरेको छ । चुनाव अनिश्चित बन्न पुगेको छ ।
गत आइतबार एनआरएनए युकेको अल्डरशटस्थित नयाँ कार्यालयको उद्घाटन पछि बोल्दै संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले आवश्यक परे आफूहरू समस्या समाधान गर्न तयार रहेको बताए ।
प्रमुख संरक्षक घलेले भने, ‘यदि हामीलाई जिम्मेवारी आयो भने, यदि त्यस्तो केही भयो भने आउँदो १ या २ महिनामा हामीले यो समस्याको समाधान गरेर, महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि शुरु गर्न सक्छौं ।’
सोही समारोहमा बोल्दै एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा २०२१–२३ का लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए ।
उनले संरक्षक परिषद्को बैठक बोलाएर छिटो भन्दा छिटो चुनाव गराउन माग गरेका छन्।
परराष्ट्र मन्त्रालयमा उजुरी
गत महिना एनआरएन अमेरिकाका सल्लाहकार बेद खरेल, संघकी पूर्व केन्द्रीय सचिव जानकी गुरुङ तथा मानार्थ आइसीसी सदस्य शनिकुमार ओलीले महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स)हरू छनोट गर्दा व्यापक धाँधली गरिएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए ।
संघका उपाध्यक्ष, आइसीसी सदस्यहरू तथा क्षेत्रीय संयोजक लगायतले पटक–पटक केन्द्रलाई लेख्दा पनि कुनै सुनुवाई नभएकाले बाध्य भएर परराष्ट्र पुग्नु परेको उनीहरूले बताए।
तर, संघको संस्थापन पक्षले यसलाई एनआरएनएमा परराष्ट्रको हस्तक्षेपको रुपमा व्याख्या गरिरहेको छ।
‘अन्यायमा परेका साथीहरु संघभित्र सुनुवाई नभए पछि बाध्य भएर परराष्ट्र मन्त्रालय पुगेका हुन्, यसलाई हस्तक्षेप भन्न मिल्दैन,’ सल्लाहकार पण्डितले भने ।
परराष्ट्रको पत्रमाथि राजनीति गर्न, त्यसलाई विवादमा तान्न र उचाल्न जिम्मेवार व्यक्तिहरू नै लागेको भन्दै त्यसो नगर्न उनले अपील पनि गरे।
परराष्ट्र मन्त्रालयले एक समिति गठन गरेर, झण्डै १ महिना लगाएर, गत साता एनआरएनएलाई तीन बुँदे निर्देशन दियो । जापान र जर्मनीलगायतका मुलुकहरूमा विधान विपरीत विद्यार्थीहरूलाई सदस्यता दिएको र सोही सदस्यताका आधारमा मतदानमा सहभागी गराएको पाइएपछि मन्त्रालयले ती देशको निर्वाचन बदर गर्न निर्देशन दिएको छ ।
एनआरएनएको विधान अनुसार विद्यार्थी भिसामा रहेकाहरुले सदस्यता लिन पाउँदैनन् ।
यसैबीच आइतबार मध्यराति (अक्टोबर १७) मा वर्तमान कार्य समितिको दुई वर्षे कार्यकाल सकिनु अघि संघको केन्द्रीय सचिवालयले दशैंको बिदाको बीचमा आज (शनिबार, १६ अक्टोबर) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक बोलाएको छ ।
अध्यक्ष पन्तले बैठकले आइसीसीको म्याद ६ महिना थप गरिदिए डिसेम्बर २०२१ भित्रै महाधिवेशन र चुनाव गर्ने प्रस्ताव गर्न लागेको उनी निकट सूत्रले जनाएको छ ।
तर, संसारभरिबाट आइसीसी सदस्यहरूको चुनाव भइसकेकाले पुरानो आइसीसीको म्याद बढाउनुभन्दा नवनिर्वाचित आइसीसी सदस्यहरूलाई शपथग्रहण गराई उनीहरूलाई बहाल गर्नु पर्ने माग बढदै गएको छ।
विधानले के भन्छ?
गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधनसहित) को दफा १६.१ मा संरक्षक परिषदको अधिकार उल्लेख गरिएको छ । दफा १६.१. ४ अनुसार आइसीसी निष्कृय रहन गएमा वा अत्यन्तै विवादित भइ संस्था विभाजित हुने अवस्थाको सिर्जना भएमा संरक्षक परिषदले अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बैठक बस्न निर्देशन दिने र बैठक बस्न नसके वा निर्देशनको पालना नभए सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गर्ने र संस्थाको संरक्षण गर्ने अधिकार संरक्षक परिषद्लाई दिइएको छ।
एनसीसी अध्यक्षहरूको भेला
यसैबीच, एनसीसी अमेरिकाको पहलमा एनसीसी अध्यक्षहरुको विश्वव्यापी भेला बोलाइएको छ। ८० भन्दा बढी एनसीसीहरु संघको आइसीसीसँग आवद्ध रहेकोमा ६५ वटा एनसीसीहरुले निर्वाचन गरी नयाँ कार्यसमिति चयन गरिसकेका छन् ।
६५ वटै कार्यसमितिका अध्यक्षहरु आयोजक रहेको भेलाको तयारी समितिमा एनसीसी अमेरिका, युके, अष्ट्रेलिया, क्यानडा, अष्ट्रिया, स्पेन, कतार, दक्षिण कोरिया तथा दक्षिण अफ्रिकाका अध्यक्षहरु रहेका छन्।
एनआरएनएको १० औं महाधिवेशनका प्रतिनिधि चयनका सन्दर्भमा परराष्ट्र मन्त्रालयको पत्रमा उल्लेखित विषय, आइसीसीको स्थगित महाधिवेशन र निर्वाचनका सन्दर्भमा छलफल गर्न आउँदो आइतबार २४ अक्टोबरमा एनसीसी अध्यक्षहरुको विश्वभेला बोलाइएको आयोजकहरुले जनाएका छन्।
संघको इतिहासमा एनसीसी अध्यक्षहरुले आफ्नै पहलमा एनसीसी अध्यक्षहरुको विश्व भेला बोलाएको यो पहिलो पटक हो।
संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितलेले भने, ‘संघ अहिले अत्यन्तै गम्भीर मोडमा उभिएको छ र आउँदो चुनावमा कसले जित्ने वा हार्ने भन्ने विषय अब गौण बनेको छ। त्यसैले पूर्ण जिम्मेवारीका साथ छलफल र निर्णय गर्न म आइसीसीका सदस्य साथीहरू, एनसीसीका अध्यक्ष साथीहरु र संरक्षक परिषद्लाई अपील गर्दछु।’

