आइतवार, अशोज २४, २०७८
मोतिपुर औद्योगिक क्षेत्रका सुकुम्बासी र प्रहरीबीच झडपपछि कर्फ्यू आदेश जारी

मोतिपुर औद्योगिक क्षेत्रका सुकुम्बासी र प्रहरीबीच झडपपछि कर्फ्यू आदेश जारी


  • स्वदेश नेपाल
  • आइतवार, अशोज २४, २०७८

बुटवल – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले कयौँ राउण्ड अश्रुग्यास र हवाइफायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले केही राउण्ड गोली चलाइएको जानकारी दिएका हुन् । गोली लागेर केही प्रहरी, स्थानीयबासी र प्रदर्शनकारी घाइते भएको उनले बताएका छन् ।

प्रजिअ तिवारीले भने, ‘हामीले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेका थियौँ र जग्गा अतिक्रमण नगर्न सूचना पनि जारी गरेका थियौँ, तर त्यसलाई उल्लङ्घन गर्ने काम भयो ।’ उनले स्थिति नियन्त्रणमा आएको जानकारी दिए ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहरासमेत भत्काएको छ । झडपमा परी दुई घाइते भएका छन् । दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयबासीले आरोप लगाएका छन् ।

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

विसं २०७२ चैत १ गते मोतीपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो ।

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो । सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीयवासी बुटवल आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट