शनिबार, अशोज १६, २०७८
एमाले र केपी ओलीको ‘साथ नपाएपछि’ प्रचण्डको सहारा खोज्दै बद्री केसी र हेमराज शर्माको समूह

एमाले र केपी ओलीको ‘साथ नपाएपछि’ प्रचण्डको सहारा खोज्दै बद्री केसी र हेमराज शर्माको समूह


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १६, २०७८

 

काठमाडौं – गैरआवासीय नेपाली संघका उपाध्यक्ष बद्री केसी र महासचिव हेमराज शर्मा नेकपा एमालेको शुभेच्छा लिएर एनआरएनएको आगामी चुनावमा होमिने तयारीमा थिए । यही योजना अनुसार साउन अन्तिम साता एमाले अध्यक्ष ओलीलाई भेटेर उपाध्यक्ष केसीले आफू एनआरएनएको आगामी महाधिवेशनमा उम्मेदवार बन्न लागेको बताएका थिए ।

उपाध्यक्ष केसी कम्युनिष्ट विधारधाराको भएकाले एमाले अध्यक्ष ओली पनि उनको उम्मेदवारीप्रति ‘सकारात्मक’ नै थिए । तर, भदौ पहिलो साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न पुगेका केसीप्रति ओलीको विश्वास उडेको छ ।

बालकोट श्रोतका अनुसार प्रचण्डसँगको फोटो सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले संघका उपाध्यक्ष केसीलाई भेट्नै मानेका छैनन् । साथै आप्रवासी श्रम संगठन (आइएलओ) घोटाला, जापानसहित कयौं देशमा फर्जी गरेर आफ्नो समूहलाई जिताएका केसी र शर्माको कदमले ओली चिडिएका छन् ।

ओलीले आफू निकट नेताहरूलाई ‘प्रचण्डसँग पनि मुख मिलाउँदै जाने र आफूहरूकहाँ पनि सहयोग माग्दै आउने बद्री केसीको चरित्र ठिक नभएको’ बताएका छन् ।

‘त्यसैले गैरआवासीय नेपाली संघको नेतृत्व गर्न सक्ने व्यक्तिलाई एमालेले सहयोग गर्ने तय भएको छ,’ एमालेका एक नेताले भने, ‘तर, निर्णय भइसकेको छैन, बद्री केसी र कांग्रेस पृष्ठभूमिका हेमराज शर्माको समूहलाई एमालेको समर्थन हुँदैन ।’

एमालेको साथ नपाउने भएपछि उपाध्यक्ष केसीले एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेसहितलाई अध्यक्ष ओलीसँग ‘कुरा गरेर मिलाइदिन’ आग्रह गरेका छन् ।

तर, एमाले अध्यक्ष ओली दृढ र आफ्नो अडानमा कायम रहने नेता हुन् । त्यसैले ओलीले एनआरएनएमा केसीलाई समर्थन नहुने जवाफ फर्काउने निश्चित रहेको एमाले श्रोतको भनाई छ ।

‘अध्यक्ष केपी कामरेडले केसी, शर्मालगायत एनआरएनएका गतिविधि नियालिरहनु भएको छ, काण्डमा मुछिएका छ, विवादले घेरिएका व्यक्तिलाई सहयोग गर्ने काम उहाँबाट हुँदैछ,’ ती नेताले भने ।

प्रचण्डको साथ कसलाई ?

माओवादी अध्यक्ष प्रचण्डलाई भेटे पनि केसीले आशातीत सहयोग नपाउने भएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ एनआरएनएको रुपान्तरणका लागि उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यलाई समर्थन गर्ने निर्णय गरेको छ ।

साथै राष्ट्रियसभाको निर्वाचन, नेपाल पत्रकार महासंघ लगायतका पछिल्ला निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत एकजुट भएका छन् । सोही आधारमा सत्तारुढ दल कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी लगायतले अध्यक्षका उम्मेदवार कुल आचार्यलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट