काठमाडौ – गैरआवासीय नेपाली संघ एनआरएनए महिला उपाध्यक्षकी उम्मेदवार प्रमिला खड्का बस्नेतले अध्यक्षका तीन दाबेदारलाई मिलेर जान सुझाव दिएकी छिन् ।
स्वदेश नेपालसँगको कुराकानीमा सामाजिक अभियन्ता बस्नेतले उम्मेदवारी दर्ता गर्नका लागि लाखौं रुपैयाँ खर्च गर्नुभन्दा पनि मिलेर नयाँ नेतृत्व चयन गर्नुमै सबैको भलो हुने बताएकी हुन् ।
‘पैसा खोलोझैं नबगाउनुस्, तीन जना एकैठाउँमा बस्नुस्, एजेण्डा लिनुस्, तीन जनाले तीन पद लिनुस्, झगडा नगर्नुस्, झगडा गर्दा करोडौँ नोक्सान भएको छ, जसले एउटा सिंगो गाउँ नै बन्छ,’ उनले भनिन् ।
गैरआवासीय नेपाली संघका अध्यक्षका उम्मेदवार कुल आचार्य, बद्री केसी र रविना थापालाई एजेण्डाका आधारमा मिलेर जान बस्नेतको सुझाव छ ।
‘तीन जना मिलेर एक जना आउनु भयो भने हामी पनि महिला उपाध्यक्षका तीन जना उम्मेदवार मिलेरै जान्छौं, एजेण्डा ल्याउनुस्, र हामी तीनै जनाको एजेण्डा एकमुष्ट राखेर एजेण्डाअनुसार को लड्न सक्छ छनोट गर्नुहोस्,’ बस्नेतले भनिन् ।
नेतृत्वले भनेको कुरा आफूहरूले नकाट्ने महिला उपाध्यक्षकी उम्मेदवार बस्नेतले बताइन् । ‘हामी नेतृत्वको काट्दैनौं, उहाँहरू मिल्नु हुन्छ भने हामी पनि अवश्य मिल्छौ,’ उनले भनिन् ।
क्यानडामा बसोबास गर्दै आएकी बस्नेतले आफ्नो एजेण्डा प्रष्ट रहेको बताएकी छिन् । ‘क्यानडामै पनि कति विद्यार्थीहरूलाई मर्का परिरहेको छ, कतिको इन्स्योरेन्स गरेको छैन, त्यसका लागि पनि पैसा संकलन गरेर काम गरिरहेकी छु,’ उनले भनिन् ।
गैरआवासीय नेपाली संघको अघिल्लो पुस्ता र वर्तमान नेतृत्वप्रति बस्नेतले असन्तुष्टि व्यक्त गरेकी छिन् । ‘म अग्रजहरूसँग खुशी छैन, म उहाँहरूलाई भन्छु– सुधारिनुहोस्, तपाईहरू सुध्रिए पो हामीले सिक्छौं, तपाइँहरू सुधारिनु भएको छैन, हामीले कसरी सिकौं ?,’ उनले भनिन् ।
गैरआवासीय नेपाली संघका अगुवाहरूले नै अहिलेको पुस्तालाई जुधाउने काम गरिरहेको बस्नेतको धारणा छ ।
‘हजुरबाबुले राम्रो गरे पो बाबुले राम्रो गर्छ, अनि नातिले पनि, पहिला तपाइहरू सुधारिनुस्, अनि अरुलाई सुधार्नुस्, नजुधाउनुस् कसैलाई पनि,’ उनले भनिन्, ‘उम्मेदवारी दर्ता गर्न लाग्ने शुल्क लिएर नजुधाउनुस्।’
अध्यक्षका तीनै प्रतिस्पर्धीलाई एकै ठाउँमा राखेर मिलाउन बस्नेतका सुझाव छ । ‘सर्वम्मत गर्नुस्, हामीहरूलाई एकै ठाउँमा राख्नुस्, मेरो एजेण्डा कसैले लिन्छ भने कसैले हिम्मत देखाउछ भने म सहयोग गर्छु,’ बस्नेतले भनिन् ।

