सोमवार, भदौ २८, २०७८
एनआरएनएमा बद्री केसी, हेमराज शर्माहरूको धाँधली र अराजकता रोक्न परराष्ट्रको एक्सन, अनियमितताको प्रयासमा धक्का (पत्रसहित)

एनआरएनएमा बद्री केसी, हेमराज शर्माहरूको धाँधली र अराजकता रोक्न परराष्ट्रको एक्सन, अनियमितताको प्रयासमा धक्का (पत्रसहित)


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २८, २०७८

काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनएको १०औं महाधिवेशनका प्रतिनिधिहरू चयनका क्रममा उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशीलगायतको समूहले व्यापक धाँधली गरेपछि परेको उजुरीका आधारमा परराष्ट्र मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानवीन गर्न नेपाल सरकारले सेप्टेम्बर १० तारिख शुक्रबारमा अनुगमन समिति गठन गरिएको उल्लेख छ।

गैरआवासीय नेपाली सम्बन्धी नियमवाली २०६६ को नियम १६ बमोजिम अनुगमन गर्न परराष्ट्र मन्त्रालयको नीति योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाका प्रमुखको संयोजकत्वमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय (कानून सम्बन्धी अधिकारी) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (प्रविधि विज्ञ) प्रतिनिधि रहेको एक अनुगमन समिति गठन गरिएको पत्रमा उल्लेख छ।

उक्त अनुगमन समितिले आफ्नो प्रतिवेदन पेस नगरेसम्म अन्तरराष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको हो।

‘एनआरएनए जापानको निर्वाचन प्रक्रियाका सम्बन्धमा सचिवालयबाट जवाफ प्राप्त भएको तर उक्त जवाफमा निर्वाचनका सम्बन्धमा उठेका विषयहरु बारेमा सम्बोधन गरिएको पाइएन,’ मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ।

एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले विश्वव्यापी रुपमा संस्थापन पक्षले प्रतिनिधिहरु व्यापक हेरफेर गरेको विषय प्रमाणसहित उठाउँदै आएको छ। एनआरएनए अभियन्ताहरूले धाँधलीलाई न्यायोचित रुपमा समाधान गरेर मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउन माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका हुन्।

विधान विपरीतका संघका गतिविधि अघि बढेको भन्दै महाधिवेशन सम्बन्धी कुनै पनि काम कारबाही तत्काल नबढाउनु भनि एनआरएन आइसीसी नाममा निर्देशन जारी गर्न माग गरिएको छ।

आइसिसी पूर्वसचिव जानकी गुरुङ, एनआरएनए अमेरीकाका सल्लाहकार वेदप्रसाद खरेल र आइसिसी मानार्थ सदस्य नवराज ओलीले परराष्ट्र मन्त्रालयमा निवेदन बुझाएका थिए।

परराष्ट्रको पछिल्लो निर्देशनसँगै संघको आगामी अक्टोबर २३, २४ र २५ मा हुने १० औं महाधिवेशन तय भएको थियो।

परराष्ट्रको पत्र आएपछि संघका अध्यक्ष कुमार पन्त काठमाडौं आउने तयारीमा जुटेको बुझिएको छ। संघको महासचिव एवं यो धाँधलीका एक सुत्राधार हेमराज शर्माले सरकारसँग संवाद गर्ने बताएका छन्।

उपाध्यक्ष बद्री केसीको समूहमा रहेका शर्माले पछिल्लो क्रममा संघभित्र राजनीतिक हस्तक्षेप बढिरहेको दावी गरेका छन्। तर, उनको समूहका केसी एमालेको केपी ओली समूहबाट अध्यक्षको उम्मेदवार बन्न लागेका छन्।

यद्यपि, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका केही नेतासँग उपाध्यक्ष केसीले भेटेपछि उनलाई एमालेले समर्थन गर्न नसक्ने संकेत गरेको छ। सत्तापक्षीय नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका प्रवासस्थित संगठनहरूले अध्यक्ष पदका उम्मेदवार कुल आचार्यलाई समर्थन गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट