काठमाडौं – नेकपा एमालेभित्र देखिएको आन्तरिक विवाद अन्त्य गर्नका लागि पहल भए पछि त्यसले सार्थकता पाएको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद हुन सकेको छैन।
वरिष्ठ नेता नेपाल एमाले पूनर्गठनको अन्तिम तयारीमा छन्। यसैबीच एमाले अध्यक्ष ओलीले आफूनिकट नेताहरूलाई बालकोट बोलाएका छन्। बालकोट स्रोतका अनुसार बुधबार बिहान पहिलो चरणको छलफलमा ओलीले महासचिव ईश्वर पोखरेल, नेताहरू सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, गोकुल बास्कोटा, भानुभक्त ढकाललगायतलाई बोलाएका छन्।
स्रोतका अनुसार आफू निकट युवा नेताहरूलाई पनि ओलीले छलफलका लागि बोलाएका छन्। साथै एमाले उपाध्यक्ष भीम रावललाई पनि ओलीले छलफलका लागि बोलाएका छन्। रावलले कार्यवाहक अध्यक्ष पाउने भएपछि नेपालको साथ छोडेको एक नेताले बताए।
यसअघि, सिंहदरबार र होटल अर्यालमा वरिष्ठ नेता नेपालले आफू पक्षीय नेता र सांसदहरुसँग छलफल गरिरहँदा पनि नेता भुसालले पार्टी एकता बचाउन अन्तिम प्रयास गर्नुपर्नेमा जोड दिए।
नेता नेपालले आफू पक्षीय नेताहरूसँग मंगलबार भएको छलफलमा अब नयाँ पार्टीका लागि तयार हुन निर्देशन दिइरहँदा भुसालले भने एमाले एकतामै जानुपर्ने मत राखे।
नयाँ पार्टी खोल्ने नेता नेपालको कुरामा हस्तक्षेप गर्ने उपमहासचिव घनश्याम भुसालले आफूले अझै पनि ओलीसँग संवाद गर्ने भन्दै रोकेका थिए। यो कुरा स्वयं नेता नेपालले मंगलबार आफू पक्षीय ६ वटा भातृ संगठनले गरेको भर्चुअल छलफलमा क्रममा बताएका हुन्।
‘मसँग एमाले एकताको कुरा गर्न गएका थिए कमरेड घनश्याम भुसाल। यसअघि पनि एकता प्रयास अघि बढाउँदा हामीले ओलीलाई शंकाको लाभ दिएको हो’, उनले भने, ‘अगाडि सारिएका कुरालाई व्यहारमा पुष्टि हुन्छ भने वार्ता टोली गठन भए। वार्ता नाटकका रुपमा परिणत भए। केपी ओली एकलौटी अघि बढे। जेठ २ मा फर्किने अवस्था भएन। आज त प्रकाश ज्वालालाई पार्टीबाटै निकाले छन्।’
यसअघि, मंगलबार नेकपा एमालेको ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको पदमुक्त गर्ने पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको छ।
पार्टी विभाजनमा लागेको दावी गर्दै उनीहरूमाथि कारबाहीको निर्णय गरी पत्र पठाइएको छ। कारबाहीमा परेकाहरू यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदमध्येका हुन्।
तर, अध्यक्ष केपी शर्मा ओलीको गुट छाडेर गएका प्रेम आलेसहितका सांसदहरू कारबाहीको सूचीमा परेका छैनन्।
वरिष्ठ नेता नेपालसहित सांसदहरू मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाही गर्ने ओलीको तयारी छ।
एमाले ओली पक्षका एक नेताका अनुसार पार्टी विभाजन गर्ने तयारीमा लागेका सांसद् र नेताहरूलाई कारबाही गर्ने तयारी भइरहेको छ। ‘बुधबारसम्ममा समानुपातिक सांसद्हरूलाई कारबाही गर्ने र अरु नेताहरूको कारबाही कसरी अघि बढाउने भन्ने विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं,’ ओली समूहका एक नेताले भने।

