काठमाडौं –
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शनिबार बिहानबाट शुरु भएको छ। शुक्रबारबाट शुरु भएको बैठकको दोस्रो दिन शनिबार बिहानैबाट शुरु भएको हो।
काठमाडौंको अनुपम पार्टी प्यालेसमा शनिबार मध्यान्हबाट शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल शुरु हुँदै छ। अध्यक्ष प्रचण्डले पेस गरेको संगठनात्मक, राजनीतिक र विधान सम्बन्धी प्रस्तावका विषयमा आइतवार ११ बजेबाट छलफल सुरु हुने कार्य तालिका छ।
प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा छलफल गरी टोली नेताले निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जानकारी दिए।
नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबारको बैठकमा आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा आगामी निर्वाचनसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम राख्ने लगायतका विषय छन्।
सदस्यहरुको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ।
प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ।
केन्द्रीय महाधिवेशन नहुँदासम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव प्रचण्डले गरेका छन् । पार्टीका सबै समितिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवालाई राख्ने तथा केन्द्रीय कमिटीमा १५ प्रतिशत सदस्य दलितलाई राख्ने प्रस्ताव प्रचण्डले गरेका छन्।
प्रचण्डको प्रतिवेदनमा समूहगत छलफल गरी सुझाव प्रस्तुत हुनेछ। केन्द्रीय समितिको बैठकका लागि अधिकांश केन्द्रीय सदस्य काठमाडौं आएको छन्।
यसअघि शनिबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना रहेको बताएका छन्।
शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा उनले पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको जानकारी दिए।
‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो। माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ। माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ। त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ,’ उनले भने।
उनी बैठकमा ओलीविरुद्ध पनि खनिएका छन्। नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै ओलीविरुद्ध वैचारिक संघर्ष गरेको प्रचण्डले बताए।
‘हामीले अलि ठूलो सपना देख्यौँ। वाम एकता गर्ने, देशको नेतृत्व कम्युनिस्ट पार्टीले लिने, समाजवादको आधार तयार पार्ने सपना हामीले देख्यौँ र पहल पनि गर्यौं,’ प्रचण्डले केन्द्रीय समितिको बैठकमा भने, ‘बहुमतको सरकार बनेपछि देशमा अब केही हुन्छ र हाम्रो दिन फिर्छ भनेर जनताले आशा पनि गरेका थिए। उत्साहको वातावरण बनेको थियो। तर, पार्टीभित्र प्रतिक्रियावादको प्रवेश भयो र त्यो केपी ओली प्रवृत्तिले परिचित भयो।’

