काठमाडौं –
नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरू मात्र निर्वाचनको प्रकृयाबाट छान्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेपछि आगामी योजनाको विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छलफलमा जुटेको छ।
नेपाल समूहका एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली समूहको तुलसीलाल प्रतिष्ठान च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने निर्णय गरेपछि नेपाल पक्ष आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको हो।
‘पार्टी एकताको पक्षमा हामी छौं, तर अध्यक्ष ओलीका निर्णयहरू एकता नचाहने उद्देश्यले आएका छन्, आज सामान्य छलफल भयो, फेरि छलफलमा जुट्छौं र निष्कर्षमा पुग्छौं,’ ती नेताले भने।
ओली पक्षका केन्द्रीय सदस्यहरू मात्रै सहभागी बैठकमा आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको एक नेताले बताएका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १३ पदाधिकारी रहने प्रस्ताव गरिएको जानकारी दिएका हुन्।
स्थायी कमिटी खारेज गर्ने निर्णय भएको ज्ञवालीले बताए। सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्रै रहने उनले बताएका छन्। प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने र अध्यक्षबाहेक सबैलाई मनोनित गर्ने निर्णय भएको छ।
‘अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन्, अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ,’ ज्ञवालीले भने। एमालेमा अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ। सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था अहिलेसम्म छ। यसैसँगै एमालेको विधानमा उल्लेखित निवर्तमान अध्यक्षलाई ‘वरिष्ठ नेता’को जिम्मेवारी दिने व्यवस्था पनि हटेको छ।
स्थायी कमिटी खारेजीसँगै पोलिटब्यूरो र २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ। प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहने ज्ञवालीले बताए। सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चयन गर्ने निर्णय भएको ज्ञवालीले बताएका छन्।
यसैबीच, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एक नेताले अध्यक्ष ओलीले पार्टी कब्जा गर्न र आफू खुशी पदाधिकारी नियुक्त गर्न यो प्रस्ताव ल्याएको बताएका छन्।
‘ओलीजीले पार्टी कब्जा गर्ने प्रयास स्वरुप यो प्रस्ताव ल्याउनु भएको हो, निर्वाचनबाटै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था ठिक छ, अरु कुनै प्रस्ताव मान्न सकिँदैन,’ ती नेताले भने।
यसैबीच, नेकपा एमालेले विधान महाधिवेशनका लागि विभिन्न चारवटा समिति गठनको प्रस्ताव गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा भदौ २७ र २८ गते हुने विधान अधिवेशनका लागि चारवटा समिति प्रस्ताव गरिएको हो।
राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली र सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे रहेका छन्।
संगठनात्मक प्रतिवेदन मस्यौदा समिति संयोजकमा महासचिव ईश्वर पोखरेल र सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहेका छन्।
विधान संशोधन मस्यौदा समिति संयोजकमा विष्णु पौडेल र सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह रहेका छन्।
व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापा र सदस्यहरूमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा रहेका छन्।

