लण्डन –
गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। यूकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत अगष्ट ३ मंगलबार दिउँसो १२ बजे सकिए पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको हो।
निर्वाचन कमिटिका अनुसार गाहा मगरले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका छन्। अध्यक्ष प्रत्यासी दीपक श्रेष्ठले २ हजार १ सय ९१ र अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले २ हजार १ सय ४८ मत मत प्राप्त गरेकी छन्।
त्यसैगरी, उपाध्यक्षमा सुनिलबाबु खड्का, नारायण कँडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएकी छिन्।
त्यस्तै महासचिवमा खुशी लिम्बु र सचिवमा ज्ञानेन्द्रबहादुर आले तथा विष्णु चालिसे निर्वाचित भएका छन्। यसैगरी, युवा संयोजकमा तीर्थबहादुर मल्ल (अनिल) तथा महिला संयोजकमा बिमल लिम्बु निर्वाचित भएका छन्।
यसैगरी, इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा लालबहादुर गुरुङ, उपाध्यक्षमा भक्त दर्जी, स्कट्ल्याण्ड राज्य परिषद्को अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्ज्वल कार्की निर्वाचित भएका छन्। नर्दर्न आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
प्रेम गाहा मगरको टिमले ‘क्लिन स्विप’ गरेको छ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले आफूले निर्वाचनमा सुधार गर्न खोजेको तर विश्वभरिबाट दबाब आएको बताएका छन्। मिडिया र सामाजिक सञ्जालमा निर्वाचन कमिटीको आलोचना गरिएको बताउँदै उनले आक्रोश पोखेका थिए।
किन चर्कियो विवाद ?
अध्यक्ष पदकी एक उम्मेदवार, रोजिना प्रधान राईले बुधबार राति एक पत्रकार सम्मेलन गरी झण्डै १ हजार मत फर्जी परेको दावी गरेपछि विवा’द चर्किएको थियो।
एनआरएन युकेका ११ हजारभन्दा बढी मतदातामध्ये कतिले मत खसाले भन्ने निर्वाचन समितिले खुलासा गरेन। तर, २ हजार १ सय मत रद्द गरी बाँकी मत मात्रै गणना गर्ने भनेपछि अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरको टिमले त्यसको कडा विरो’ध गरेको थियो।
शुक्रबार बिहान एक पत्रकार सम्मेलन गरी गाहा मगरले जस्ताको तस्तै निर्वाचन परिणाम घोषणा गर्न माग गरेका थिए। त्यस्तै साविक उपाध्यक्ष तथा दोस्रो कार्यकालका लागि समेत उपाध्यक्षका प्रत्यासी नारायण कँडेलले भेरिफिकेसनका चारवटा चरण पार गर्दै पञ्जीकृत सदस्यहरूको सूची ब्रिटिश कम्पनीलाई पठाइएको खुलासा गरे।
‘आइसीसीले उपलब्ध गराएको एमआइएस सिस्टमअनुसार नै एनआरएनको सदस्यता उपलब्ध गराइएको थियो। त्यसलाई कार्यसमितिले प्रमाणीकरण गरी केन्द्रमा पठायो।
‘केन्द्रले प्रमाणीकरण गरेको नामावली निर्वाचन समितिमा पठाइयो भने निर्वाचन समितिले फेरि छानवीन गरी भेण्डरलाई हस्तान्तरण गरेको हो। भेण्डरले पनि पुनः परीक्षण गरिसकेपछि मात्रै अनलाइन मतदाताको रुपमा निश्चित गरेको हो,’ कँडेलले भने।
एनसिसी यूकेले आइसिसीलाई बुझाएपछि ती नामावलीमा एनसिसीको पनि पहुँच नरहेको र आइसिसीको मात्रै पहुँचमा पुगेको कँडेलले स्पष्ट पारेका छन्।
हस्ताक्षर गर्न दबाब
निर्वाचन समितिले बिहीबार अध्यक्षका तीनै जना पदाधिकारीहरूमध्ये दुई जनाले हस्ताक्षर गरिसकेका र अध्यक्षका अर्का एक पदाधिकारी प्रेम गाहा मगरले हस्ताक्षर नगर्दा मतपरिणाम घोषणा गर्न नसकिएको दाबी गरेको थियो।
तर, बिहीबार दिनभर निर्वाचन समितिको कार्यालयमा रहेका अध्यक्षका उम्मेदवार गाहा मगरले भेण्डरले पठाएको पत्रमा हस्ताक्षर गरिसकेको तर, निर्वाचन समितिले अलग्गै तयार पारेको, उनकै शब्दमा, ‘सुसा’इड नोट’मा आफूले हस्ताक्षर नगरेको बताए।
निर्वाचन सम्पन्न भएको तीन दिन बितिसक्दा पनि मतपरिणाम सार्वजनिक नभएपछि नतिजा सार्वजनिक गर्न माग गर्दै कानुनी बाटो अपनाउने गाहा मगर टिमले घोषणा गरेपछि निर्वाचन कमिटी दबाबमा परेको थियो।
त्यसपछि शुक्रबार राति मतदानको नतिजा घोषणा गरिएको थियो। यसैबीच, नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले सबै मतदाता तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले संस्थाको शुद्धिकरण र समुदायको एकीकरण नै आफ्नो मूल एजेण्डा हुने बताएका छन्।

