काठमाडौं –
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीको एकता कायम गर्ने सन्दर्भमा गम्भीर छलफल शुरु भएको बताएका छन्।
ओली र नेपालको भेटवार्तापछि स्वदेश नेपालसँगको कुराकानीमा नेता रावलले भने, ‘कुराकानी भयो, समग्रतामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो, फेरि कुराकानी हुनेछ, छलफल जारी रहने छ।’
ृनेपाल तर्फबाट कार्यदलका संयोजक रहेका रावलले समस्या समाधानका लागि कुराकानी केन्द्रित भएको बताएका छन्। ‘अहिलेको छलफल सकारात्मक छ, अहिलेलाई यति नै,’ उनले भने।
त्यसैगरी कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले कार्यदलसँगको छलफलपछि ओली र नेपालबीच ‘वान टु वान’ कुराकानी भएको जानकारी दिएका छन्। ‘उहाँ (ओली र नेपाल) हरूबीच वान टु वान वार्ता भयो, अब भोलि थप छलफलका लागि कार्यदलको बैठक बस्नेछ,’ पाण्डेले भने।
नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार राति छलफल भएको हो। दुई नेताबीच काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता कुनै सहमति बिना सकिएको हो।
कार्यदल स्तरमा छलफल भएपछि ओली र नेपालको भेटवार्ता तय भएको हो। आन्तरिक झमेला उत्कर्षमा पुगेपछि ओली र नेपालबीच भेटको प्रयास भएको थियो। नेता नेपालले भेट गर्न अस्वीकार गरे पनि बुधबार कार्यदलमा सकारात्मक छलफलपछि ओलीसँग भेट भएको हो।
ओली र नेपालबीचको छलफलमा दुई जनाले एकअर्कोलाई आरोप–प्रत्याारोप गरेको एमालेका एक नेताले बताएका छन्। छलफलको शुरुमै ओलीले नेता नेपालसहितको पाँच दलीय गठबन्धनका पछिल्ला गतिविधिबारे असन्तुष्टि व्यक्त गरेका छन्।

‘पार्टीमा छलफल गर्नु पर्ने विषय बाटो–बाटो पोखेर हुँदैन’ भन्ने ओलीको भनाईपछि नेपालले ‘पार्टीमा छलफलको वातावरण कहाँ छ’ भनेर प्रश्न गरेको ती नेताले बताएका छन्।
ओली संसद् विघटन गरेपछि जेठ ६ गतेपछि पहिलो पटक सोमबार कार्यदलको बैठक बसेको थियो। बैठकमा एमालेभित्रको समस्याको विषयमा समीक्षा गरिएको थियो।
कार्यदलमा ओली तर्फबाट संयोजक सुवास नेम्वाङका साथै उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेपाल तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण बिष्ट र नेताद्धय सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
तर, मंगलबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा दुवै पक्षले औपचारिक रुपमा आ९आफ्नो अडान प्रस्तुत गरेका थिए। सांगठानिक विषय टुंग्याउने र सर्वोच्च अदालतको विचाराधीन मु’द्दामा गरिएको हस्ताक्षरबारे छलफल भएको थियो।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरूले एमालेको एकता जोगाउन एमाले पार्टी कमिटी सम्पूर्ण रुपमा २ जेठ अगाडिको अवस्थामा फर्काउनुपर्ने अडान लिएका थिए। विचाराधीन मु’द्दामा भएको हस्ताक्षरबारे मौन रहने उनीहरूले प्रष्ट पारेका थिए।
अध्यक्ष केपी शर्मा ओली पक्षले अदालतमा दायर रिटमा संलग्न हस्ताक्षरलाई विशेष जोड दिएपछि बुधबारलाई बैठक सारिएको थियो। असार १९ गतेको बालुवाटार बैठकबाट अदालतको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने नेता एमाले हुन नसक्ने चेतावनी दिएका थिए।
यही दुई विषयमा केन्द्रित रहेर ओली र नेपाल पक्षबीच छलफल भइरहेको छ। नेपालले २०७७ फागुन २३ गते एमाले र माओवादी ब्यूत्याउने सर्वोच्च अदालतको फैसलापछि ओलीले गरेका सबै निर्णय फिर्ता गर्नुपर्ने बताएका छन्। साथै एमाले २०७५ जेठ २ गतेभन्दा अगाडिकै अवस्थामा एमालेलाई फर्काउनुपर्ने उनको अडान छ।

