काठमाडौँ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीका ३ संस्थापक नेताका पुत्रहरुबीच निकटता बढ्दै गएको छ ।
महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीब्रता पाउँदै गएको छ ।
निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी पुत्र हुन् । सिंह गणेशमान सिंहका पुत्र हुन् ।
शुक्रवार महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा ३ नेताबीच छलफल भएको छ । महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचन लगायतका विषयमा नेता त्रयबीचमा छलफल भएको जानकारी दिएका छन् ।
तिवारीका अनुसार छलफलका क्रममा महाधिवेशनमा प्रतिस्पर्धा भएपनि आगामी महाधिवेशनबाट नेता कार्यकर्तामा कसरी एकताको सन्देश दिने र नेताहरुबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ ।
यसअघि उपसभापति निधिको घरमा गत सोमवार नेता त्रयबीच छलफल भएको थियो । छलफलमा आफ्ना अग्रजको पार्टीप्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको हो ।
बैठकमा जुटेको सहमतिअनुसार शुक्रवार पुनः नेता त्रयबीच महामन्त्री कोइरालाको निवासमा छलफल भएको छ । यसपछिको छलफल पूर्व महामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा हुने तिवारीले बताएका छन् ।
पार्टीका यी तीनै नेताले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । निधिले संस्थापन समूहलाई नै नेतृत्वमा आफ्नो दावी हुने भन्दै चुनौती दिँदै आइरहेका छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवाले समेत नेतृत्वमा दाबी गर्दै आएका छन् ।
यसअघि निधिले नेतृत्व परिवर्तनका पक्षमा रहेका कांग्रेसका ९ युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरुले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको एजेन्डामा साथ दिने भन्दै आकांक्षीबीच संवाद गर्न निधिलाई सुझव दिएका थिए ।
त्यसअघि निधिले नेता कृष्णप्रसाद सिटौला र बलबहादुर केसीसँग समेत निवासमा नै पुगेर पार्टी नेतृत्वका लागि आफू अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।
महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समेत छलफल अघि बढाएको छ । पौडेल पक्षले शुक्रवार राजधानीको बसुन्धारास्थित दियालो फूडल्यान्डमा आगामी महाधिवेशनबारे रणनीतिक छलफल गरेको छ । पौडेलले नेतृत्व गरेको समूहमा मात्रै आगामी नेतृत्वका लागि ८ जना आकांक्षी रहेका छन् ।
पौडेल पक्षबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, नेत्री सुजाता कोइराला र कल्याण गुरुङले पार्टीको नेतृत्वका लागि चाहना राख्दै आएका छन् ।
कांग्रेस नेत्री सुजाता कोइरालाले पार्टीको महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा शुक्रवारको बैठकमा छलफल भएको र आगामी दिनमा पुनः छलफलमा बसेर नेतृत्वबारे निर्णयमा पुग्ने जानकारी दिएकी छन् ।
‘छलफल सुरू भएको छ, क्रियाशील सदस्यता र महाधिवेशनबारे शुक्रवार छलफल भयो, पार्टी नेतृत्वबारे हामी फेरि छलफलमा बस्छौं,’ नेत्री कोइरालाले भनिन् ।
पौडेल पक्षमा आफ्नो समूहबाट नेतृत्वका लागि आकांक्षा देखाएकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै चुनौती देखिएको छ । तर हालको संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवासहित उपसभापति बिमलेन्द्र निधि पनि उम्मेदवार बन्ने भन्दै भेटघाट बढाएपछि यो समूह हौसिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

