मङ्लबार, असार ८, २०७८
आहा रानी ऐश्वर्य कति राम्री !

आहा रानी ऐश्वर्य कति राम्री !


  • स्वदेश नेपाल
  • मङ्लबार, असार ८, २०७८

काठमान्डौ ।

ह्यान्डसम राजा, सुन्दरी रानी ! दिवंगत राजा वीरेन्द्र र ऐश्वर्यका प्रसंगमा यस्ता अनेक किस्सा सुनिन्छन् । खासमा रानी ऐश्वर्य कति राम्री थिइन् त ?

३० वर्षसम्म नेपालकी रानी भएकी ऐश्वर्य बिछट्ट सुन्दरी थिइन् । नारीजन्य शास्त्रीय सुन्दरता विशेष थियो उनमा । उनको रुप, लावण्य मात्र नभएर हेयर स्टाइल, चस्मा र परिधानको निकै चर्चा परिचर्चा हुन्थ्यो । चित्रकारहरुले उनको स्केच बनाउँदा आँखा, ओठ र परेली विशेष रुचाउँथे ।

महर्षि वात्सायनले ‘कामसूत्र’ को यौनसंहितामा चर्चा गरेका नारीका गुण र बनोट अनुसार उनी पद्मिनीजस्तो लाग्थिन् । पद्मिनी शरीर न धेरै अग्लो न त धेरै होचो अर्थात् ठिक्कको हुन्छ । आँखा हरिणका जस्ता हुन्छन् । अनुहार पूर्णिमाको जस्तो चम्किलो हुन्छ । केशराशि कालो र चिल्लो हुन्छ ।

२०२२ सालमा वीरेन्द्र र ऐश्वर्यको मागी विवाह भएको थियो । रोचक त के भने ऐश्वर्यका दुई बहिनी कोमल र प्रेक्षाको विवाह पनि राजा वीरेन्द्रका दुई भाइ ज्ञानेन्द्र र धीरेन्द्रसँग भएको थियो । यस्तो संयोग इतिहासमा विरलै हुने गर्छ ।

जनरल केन्द्रशमशेर जबरा र राज्यलक्ष्मीदेवी राणाकी जेठी छोरी ऐश्वर्य सन् १९४९ नोभेम्बर ७ मा लाजिम्पाट दरबारमा जन्मेकी थिइन् । उनले स्कुले शिक्षा सेन्ट हेलेन कन्भेन्ट स्कुल खर्साङ र सेन्ट मेरिज स्कुल जावलाखेलमा लिएकी थिइन् भने पद्मकन्या कलेजबाट मानविकीतर्फ १९६७ मा स्नातकोपाधि लिएकी थिइन् ।

उनको सौन्दर्यबाट चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ पनि प्रभावित भएका रहेछन् । चिनियाँ प्रधानमन्त्री चाउ एन लाईको निम्तोमा २०३० मा चीन भ्रमणमा गएका बेला माओले राजा वीरेन्द्रसँग भेट्न खोजेछन् ।

माओले ‘जो कोहीलाई नभेट्ने, भेटे पनि छोटो मात्र भेट्ने अनि प्रायः महिलासँग नभेट्ने’ थाहा पाएकाले राजा वीरेन्द्र एक्लै गएछन् । माओले हँसिलो पारामा जिज्ञासा राखेछन्, ‘खोइ त बडामहारानी ? किन एक्लै ?’ राजा अक्क न बक्क परेछन् र तुरुन्त रानी ऐश्वर्यलाई बोलाउन पठाएछन् । रानीसँग भेटेपछि माओ सन्तुष्ट भएछन् ।

पूर्णचन्द्रजस्तै उज्याली ऐश्वर्यको साहित्यिक नाम थियो, चाँदनी शाह । त्यस नामका उनका अनेक गीत तथा कविता प्रकाशित छन् । उनका केही प्रेम प्रसंगका गीत गाएकाले गायक नारायण गोपालसँग उनको विशेष सम्बन्ध थियो भन्ने हल्ला पनि नचलेको होइन । तर नारायण गोपालका मित्र एवं गीतकार विश्वम्भर प्याकुरेलले त्यसलाई ठाडै नकारेका छन् ।

उनी समाजसेवामा पनि सहभागी थिइन् । पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष एवं सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष समेत थिइन् । बीबीसीडटकोडट युकेले सन् २००१ म उनको बारेमा समाचार दिएको थियो, ‘ऐश्वर्यः नेपाल्स फोर्सफुल क्विन’ । दरबार होस् कि सरकार, उनकै खटनपटन चल्थ्यो भन्नेहरु थुप्रै छन् ।

रानी ऐश्वर्य सुन्दरी मात्र थिइनन्, हठी पनि थिइनन् । उनका अगाडि कसैले मत बझाउन सक्दैनथ्यो । उनले बोलेपछि बोलिन्, बोलिन् । उनी आफूलाई ‘ए क्लास’को राणाकी छोरी ठान्थिन् । जुद्धशमशेरकी खलककी उनले चन्द्रशमशेर खलक (‘सी’ क्लास) की देवयानी राणालाई बुहारी स्वीकार्न नमान्दा २०५८ जेठ १९ गतेको नारायणहिटी घटना भएको भन्नेहरुको कमी छैन ।

सन् १९९५ मा पेप्सीकोला ब्रान्ड एम्बेसडर भई विश्व सुन्दरी ऐश्वर्य राय नेपाल आउँदा रानी ऐश्वर्यले पूर्वमिस नेपाल रुबी राणालाई दर्शन भेट कार्यक्रम बनेको रहेछ । तर अन्त्यमा ‘क्यान्सिल’ गरेकाले नदिएकाले रानीको साक्षात् दर्शन नपाएको तीतो पोखेकी थिइन्, रुबीले केही वर्ष पहिले सामाजिक सञ्जालमा । ‘के म वीरगन्ज छपकैया गाउँको क्याप्टेन जनकबहादुर राणाकी छोरी भएकाले रानी तर्सिएकी त होइनन् ?’

उनले विश्वसुन्दरीसँगै रानीको भुक्क फुलेको केशसज्जा हेर्न, काँधमा सिफनको साडीको सप्कोको बुट्टा नियाल्न अनि कोमल कोपिलाजस्तो हातमा काँचका चुरा खन्केको आवाज सुन्न नपाएको भन्दै पीडा पोखेकी थिइन् ।

विश्व सुन्दरी ऐश्वर्य रायले नारायणहिटी दरबारमा दर्शन भेट पाएपछि रुबीसँग रानी ऐश्वर्यको बारेमा खुब तारिफ गरेकी थिइन् । रुबीले एकोहोरो सुनिमात्र रहिन् । केही नबोलेपछि ऐश्वर्य रायले सोधिन्, ‘आर यु आके, रुबी ?’

-रिपोर्टर्स नेपालबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट