बुधबार, जेष्ठ २६, २०७८
अब फेसबुक र इन्स्टाग्राममा जति धेरै लाइभ स्ट्रिम उति धेरै पैसा

अब फेसबुक र इन्स्टाग्राममा जति धेरै लाइभ स्ट्रिम उति धेरै पैसा


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ २६, २०७८

फेसबुक र इन्स्टाग्रामले आफ्ना सिर्जनाकर्ताहरुलाई जति धेरै समय लाइभ स्ट्रिम गर्‍यो उति धेरै पैसा दिने भएको छ।

फेसबुक पछिल्लो समय आफ्नो मातहतमा रहेका एप्सहरुमा एकपछि अर्को नयाँ फिचर थप्ने प्रयासमा जुटिरहेको छ। यहीक्रममा लाइभ स्ट्रिममा लामो समय बस्ने सिर्जनाकर्तालाई धेरै पैसा दिने तयारी गरिएको हो।

फेसबुकका सिइओ मार्क जुकरबर्गले नयाँ फिचर सार्वजनिक गरेका थिए। क्रिएटर विक कार्यक्रममा सार्वजनिक गरिएको फिचरबाट यसका सिर्जनाकर्ताले केही काम गरेपछि थप नगद पैसा कमाउन सक्नेछन्।

यस नयाँ फिचरभित्र फेसबुकका सिर्जनाकर्ताहरुले ‘स्टार च्यालेन्ज’ मार्फत् प्लेटफर्ममा धेरै लाइभ स्ट्रिम गरेर बोनस कमाउन सक्छन्। यता इन्स्टाग्राममा भने सिर्जनाकर्ताले स्ट्रिमबाट ‘ब्याजेज’हरु बेचेर पैसा कमाउन सक्नेछन्।

‘ब्याजेज’ फिचर गत मे महिनामा सार्वजनिक भएको थियो। ‘ब्याजेज’ सिर्जनाकर्ताहरुले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट लाइभ स्ट्रिम गर्दा फ्यानहरुले किन्न सक्ने एउटा आइकन हो। जति धेरै ‘ब्याजेज’ किनिन्छ त्यति नै धेरै पैसा सिर्जनाकर्ताले पाउनेछन्।

इन्ग्याजेटका अनुसार नयाँ फिचरबाट सिर्जनाकर्ताहरु आफ्ना फ्यानहरुका लागि थुप्रै कन्टेन्ट बनाउन प्रोत्साहित हुने र धेरै समय यी प्लेटफर्ममा बिताउनेछन्। फेसबुकका सिइओ मार्क जुकरबर्गले सिर्जनाकर्ताहरुले आफ्ना फ्यान र समग्र समुदायमा ल्याएको मूल्यका लागि पुरस्कृत हुनेपर्ने बताएका छन्। उनीहरुले एपमा रहेको सपिङ पोस्टबाट पनि थप कमिसन कमाउन सक्ने जानकारी उनले दिएका छन्।

सपिङ पोस्ट अन्तर्गत सिर्जनाकर्ताहरुले कुनैपनि ब्रान्डको उत्पादनलाई आफ्नो पोस्टमा ट्याग गरेर त्यसबाट हुने बिक्रीका आधारमा कमिसन पाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार