शनिबार, जेष्ठ २२, २०७८
परराष्ट्रमन्त्री हुँदा ऋणमा, बिदा हुँदा पनि ऋणमै: सवा तीन वर्ष सिंहदरबारमा प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री हुँदा ऋणमा, बिदा हुँदा पनि ऋणमै: सवा तीन वर्ष सिंहदरबारमा प्रदीप ज्ञवाली


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ २२, २०७८

काठमाडौं –

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबारदेखि जिम्मेवारीबाट बिदा लिए। ज्ञवाली निवर्तमान परराष्ट्रमन्त्री हुँदै गर्दा उनका ‘उत्तराधिकारी’को रुपमा आए रघुवीर महासेठ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठको स्वागत र ज्ञवालीको बिदाई हुँदै गर्दा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

२०७४ सालमा मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणअनुसार ज्ञवाली ऋणमा थिए। मन्त्री ज्ञवालीको सम्पत्ति वितरणअनुसार उनी श्रीमती सरस्वती ज्ञवालीको नाममा काठमाडौं–३१, शंखमुलमा ४ आना २ पैसा ३ दाममा २ तले घर छ।

‘२०६४ सालमा बुटवलको घरजग्गा बेचेर २१ लाख घर किनेको हो,’ सम्पत्ति विवरणमा भनिएको छ, ‘बैंकमा १४ लाख ८३ हजार रुपैयाँ व्यक्तिगत ऋण रहेको छ।’

एभरेष्ट बैंकमा २ लाख ५७ हजार २ सय ८३ रुपैयाँ २२ पैसा र कृषि विकास बैंकमा २ हजार बचत रहेको ज्ञवालीले उल्लेख गरेका छन्।

तर, मन्त्री हुँदा पनि ज्ञवालीले ऋण तिर्न सकेनन्। ‘बैंकमा रहेको १४ लाख ८३ हजार ऋण यथावत नै छ, मैले सम्पत्ति विवरणमा सबै उल्लेख गरेको छ,’ ज्ञवालीले स्वदेश नेपालसँग भने।

पार्टीलाई कति बुझाए ज्ञवालीले?

निवर्तमान परराष्ट्रमन्त्री एवं नेकपा एमालेका सचिव ज्ञवालीले मन्त्रीको जिम्मेवारीमा रहँदा विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९ सय ३० रुपैयाँ र पारिश्रमिक वापतको लेभी ६ लाख २० हजार रुपैयाँ गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको जानकारी गराएका छन्।

‘पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ लाख ४ सय ९१ रुपैयाँ १३ रुपैयाँ सरकारी कोषमा दाखिला भएको छ, हाल मेरो खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ ६० पैसा बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु,’ ज्ञवालीले भनेका छन्।

निवर्तमान परराष्ट्रमन्त्री ज्ञवालीले लेखेका छन्ः

धन्यवाद तथा आभार

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर बिदा भएको छु। यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु। दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरू शंकरदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु। समकक्षी विदेशमन्त्रीहरू, संयुक्त राष्ट्र संघ लगायत बहुपक्षीय र क्षेत्रीय संगठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु।

यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ। मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु। नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद। भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु।

प्रदीप ज्ञवाली
२१ जेठ २०७८

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट