बुधबार, जेष्ठ १२, २०७८
काँक्रो खेतीबाट मनग्गे आम्दानी

काँक्रो खेतीबाट मनग्गे आम्दानी


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ १२, २०७८

-राम ढुंगाना

देशको राजधानी काठमाडौं सँगै जोडिएको तथा देशकै सबैभन्दा सानो तर ऐतिहासिक शहर भक्तपुरको थुप्रै बिशेषता छन्।ती मध्ये तरकारी खेतीको लागी पनि भक्तपुर प्रख्यात छ।

मलिलो माटो र भक्तपुरका खास गरेर मिहिनेती नेवारी समुदायका किसानका कारण भक्तपुरमा उत्पादन हुने तरकारीले काठमाडौं उपत्यकाको ठूलो जनसंख्यालाई तरकारी धानेको थियो।

बिषादी नमिसाईएको प्राङ्गारिक,जैवीक मल प्रयोग गरेर उत्पादन गरिने तरकारीको स्वाद पनि मिठो र स्वास्थ्यको पनि राम्रो हुने हुँदा भारतबाट आउँने तरकारी भन्दा भक्तपुरका किसानले आफ्नो खेतबारीमा उत्पादन गरेका तरकारीको माग पनि धेरै थियो।

समय उस्तै रहेन।भक्तपुरमा धेरै तरकारी उत्पादन हुने ठिमी,बोडे,ब्यासी र अरनिको राजमार्ग छेउछाउका जग्गाहरु यतिबेला खासै खाली छैनन्। जमिनको खण्डीकरण बढेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ । जग्गा प्लटिङ गरी खरिद बिक्री र आवास निर्माण गर्ने क्रमले खेतीयोग्य जमिन मासिएको हो ।

केही दशक अघिसम्म धान,गहुँ लगायतका अन्नबाली धेरै मात्रामा लगाईने भक्तपुरकै चाँगुनारायण नगरपालिकामा पर्ने उत्तरपूर्वी भेगका किसानहरु तरकारी खेतीमा आकर्षित भईरहेका छन्।शहरोन्मुख भएपनी अझैं थुप्रै खेतीयोग्य जमीन देख्न सकिने यस क्षेत्रका बासिन्दाहरु बिशेष गरेर काँक्रो,गोलभेंडा खेतीमा राम्रो गरिरहेका छन्।

यतिबेला चाँगुनारायण नगरपालिकाको ५ र ७ नम्बर वडामा काँक्रो खेतीको हरियाली देख्न सकिन्छ।कसैको खेतमा फलिरहेका हरिया काँक्रा झुण्डिरहेका छन् भने फूल फुल्दै गरेका काँक्रो खेतीमा किसानहरु खटिइरहेका छन्।

छैन बजारको चिन्ता

देशको विभिन्न भागका किसानहरुले उत्पादन गरेका तरकारीहरुले उचित मूल्य र बजार नपाएका कारण तरकारीहरु खेतमै कुहिएका,बिक्री नभएर मिल्काउँन र तरकारीको बोटै काट्न परेको अवस्था आउँने गरेकामा यहाँका किसानले उत्पादन गरेका तरकारीहरुलाई भने खासै बजारको समस्या परेको सुनिदैन।नजिकै रहेको काठमाडौंमा तरकारीको ठूलो माग रहेको र भक्तपुरकै अन्य ठाउँहरुमा तरकारी खेती हराउँदै गईरहेको अवस्थामा भक्तपुरमा नै किसानले उत्पादन गरेको काँक्रो खपत हुने अवस्था छ।अझ किसान आफैले पनि तरकारीहरु सिधैं बजारसम्म पुर्याउँने र कालिमाटी लगायत अन्य ठूला तरकारी बजारका व्यापारीहरु घर खेतमै आएर काँक्रो उठाउँने गरेका छन्।

राम्रो आम्दानीको स्रोत

गहुँ काटिसकेपछि या आलु खेतीको बीचमै काँक्रो विरुवा रोप्ने गरेका छन्।गहुँ काटिसकेपछि असारमा धान रोप्नु अघि नै काँक्रो टिपिसकिने हुनाले किसानको खेत बाँझो नरहने र काँक्रो फल्न छोडेपछि बोट काटेर धाँन रोप्न सकिने हुँदा किसानलाई दोहरो फाईदा हुने गरेको छ।अझ बैशाखको अन्तिमतिर र जेठको पहिलो-दोस्रो हप्तासम्म काँक्रो फलाउँने किसानले निकै राम्रो मूल्य पाउँने गरेका छन्।

दुई-चारसय देखी हजार-पाँच हजार बोट सम्म कांक्रो खेती गर्ने गरेका छन्।यसरी सामान्य तरिकाले नै काँक्रो खेती गर्दा केही महिनाकै बीचमा पचाँस साठी हजारदेखी चार-पाँच लाख सम्म कमाउँने किसान पनि छन्।यसरी काँक्रो खेतीबाट घर-खर्च चलाउँन सहज हुने र केही पैसा बचत पनि गर्न सकिने किसानहरु बताउँछन्।

समस्या

काँक्रो खेती अरु खेती जस्तो सजिलो खेती भने होइन।एकदमै राम्रो हेरबिचार भएन भने विभिन्न प्रकारका रोग लाग्ने समस्या हुन्छ।बिषादीको प्रयोगले स्वास्थ्यलाई समेत असर पार्छ भने बेलैमा उपचार नभए सारा खेती नै रोगले सखाप पार्छ।पर्याप्त सिंचाई नहुनु,असिना,पानीले काँक्रो बाली नस्ट गर्ने र खेतीमा प्रयोग हुने रासायनिक मल र बिषादीहरु महंगो हुनाले किसानहरुले काँक्रो खेतीबाट अझ धेरै आम्दानी लिनबाट बन्चित भएका छन्।

राम्रो सिंचाई,हेरविचार र व्यवसायिक रुपमै काँक्रो खेती गर्ने हो भने यो खेतीबाट निराशा नभईने र राम्रो आम्दानी समेत गर्न सकिने स्थानीय किसानहरु बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट