प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।
बालुवाटारमा आईतवार आफूनिकट पत्रकारसँग ओलीले संविधानबमोजिम आफ्नो नेतृत्वमा सरकार बनाएर चुनावमा जान तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री भइसकेका ४ जनाको अतृप्त चाहना र अगश्त्य महत्वाकांक्षाले मुलुक बिग्रिँदै टिप्पणी गरेका छन् ।
‘आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो लाग्छ । कब्जाको बाटोमा । सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधैं बितण्डा खडा गर्ने, कुप्रचार, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिँजाउन खोज्ने प्रयास हुँदै आए र गत वर्षदेखि यो अत्यन्तै तीब्र भयो । मलाई ताज्जुब लाग्छ,’ उनले भने ।
नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले ओलीको नेतृत्वमा हुने चुनावमा भाग नलिने बताएको प्रसङ्ग जोड्दै ओलीले कांग्रेसको बोली सुनेर आफूलाई आश्चर्य लागेको बताए । ‘उहाँले केपी ओलीले गराएको चुनावमा भाग लिँदैनौं भन्नुभयो । केपी ओलीले गरेको चुनावमा भाग नलिने हो भने कसले गरेको चुनावमा भाग लिने हो ? भाग लिन नेपाली कांग्रेसले प्रधानमन्त्री टीको लगाइदिने कि ?’ उनले भने, ‘अहिलेको प्रधानमन्त्री देशमा धेरै पपुलर भोट भएको, २ पार्टी मिल्दा पनि प्रतिनिधि सभामा एक्लो ठूलो पार्टीको नेतृत्वको चुनावमा नजाने । कुन डेमोक्रेसीको परिभाषाभित्र पर्छ यो ? नेपाली कांग्रेसको बोली सुनेर मलाई आश्चर्य लागेको छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुरु थापेर प्रचण्डपथमा कांग्रेस हिँडेको आरोप उनको थियो । ‘कांग्रेस अहिले उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा छ,’ ओलीले भने, ‘आफूले चुनाव गराउनुपर्ने ? आफैंले गरेको चुनावमा उहाँहरु २३ सिटमा झरेको हैन ? म सबैलाई आग्रह गर्छु, आवेश उत्तेजनाको राजनीति नगरौं ।’
संसदीय व्यवस्थामा संसदीय दल नै ठूलो हुने भएकाले नेताहरुले प्रधानमन्त्री बनाउन एक्लाएक्लै गरेको हस्ताक्षरको अर्थ नहुने उनले दाबी गरेका छन् ।
‘यो दलीय अनुशासन छाडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन,’ ओलीले भने, ‘पर्सनल डान्सको कुनै अर्थ छैन । अनुशासित र मर्यादित लोकतान्त्रिक व्यवस्था हो ।’
ओलीले प्रतिनिधिसभा जोगाउन सकियोस् भनेरै जसपाको समर्थनमा आफू प्रधानमन्त्रीको दाबी गर्न गएको भए पनि विपक्षी गठबन्धनले ‘कन्फ्युजन’ पैदा गराएकाले राष्ट्रपतिले सरकार बन्न नसक्ने निर्णय गरेको बताएका छन् ।
‘संसद्को मौजुदा गणित फोहोरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसद्को मौजुदा गणित भिन्न भयो । दलीय अनुशासनको कुनै अर्थ छैन । बिकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेका छन् । उनीहरु पवित्र गौदान गर्न कुदेका होलान् र ?’ उनले भने, ‘संसद्को गणित भद्रगोल भइसकेको हालैका स्थितिले देखाएको छ । आफ्नो, महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षर सहितको समर्थनमा १५३ सिटको दाबी लिएर म राष्ट्रपतिज्यूकोमा गएँ, संसद विघटन नहोस् वैकल्पिक सरकार दिन सकियोस् भनेर । तर उहाँहरुले कीर्ते हस्ताक्षर लगेर कन्फ्युजन खडा गरेपछि मेरो दाबी पनि राष्ट्रपतिले भरपर्दो ठान्न सक्नुभएन ।’
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(५) को अधिकार मात्रै राष्ट्रपतिले प्रयोग गर्न सक्ने र राष्ट्रपतिलाई कुनै किसिमको मुद्दा नलाग्ने बताएका छन् ।
ओलीले नेता माधवकुमार नेपालसँगको आफ्नो सम्बन्ध विगत मात्रै भएको बताए । ‘माधव नेपालसँगको सम्बन्ध पास्ट टेन्स भयो,’ ओलीले भने, ‘अति भयो, पार्टीलाई गुटहरुको मोर्चा बनाउने काम भयो । हामीले स्पष्टीकरण सोधेका छौं, हेर्छौं र त्यसअनुसारको कारबाही अविलम्ब जे गर्नुपर्ने हो गर्र्छाैं ।’
गल्ती महसूस गरेर आउनेलाई फेरि सँगै लिएर जान आफूहरु तयार रहेको समेत ओलीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

